काठमाडौं । काठमाडौंको नयाँ सडक (न्युरोड) क्षेत्रको फुटपाथ विस्तार योजनालाई लिएर काठमाडौं महानगरपालिका र संघीय सरकार फेरि एकपटक आमने-सामने भएका छन् । फुटपाथ विस्तार गर्न महानगरले भत्काएको सडक संघीय सरकार अन्तर्गतको सडक विभागले कालोपत्रे गरेपछि दुई सरकार आमने-सामने भएका हुन् । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि काटेको सडक डिभिजन कार्यालयले कालोपत्र गरेको हो । सडक विभागबाट अनुमति नै नलिई न्यूरोडका सडक काटिएको भन्दै सडक विभाग र महानगरबीच केही समयदेखि टसल देखिएको थियो । महानगरले भत्काएको सडक विभागले कालोपत्रे गर्न थालेपछि सोमबार नगर प्रहरीको टोली नै न्युरोड क्षेत्रमा पुगेको थियो । तर, विभागले गरेको पिच रोक्ने महानगर प्रहरीको प्रयास भने असफल भएको छ । प्रहरीसमेत उपस्थित भएपछि नगर प्रहरी फर्किएका हुन् ।
गत शनिबार महानगरले फुटपाथ फराकिलो बनाउने भन्दै सडकका किनारा भत्काएको थियो । भत्काएको सडक सोमबार सडक विभागले पुर्न थालेको हो । सडक विभागले काम थालेको थाहा पाएपछि प्रमुख बालेन्द्र साह (बालेन) ले नगर प्रहरी पठाउनुभएको थियो । न्युरोडमा केहीबेर विभाग र नगर प्रहरीबीच भनाभनसमेत भएको थियो । नगर प्रहरी र सडक विभागका कर्मचारीबीच केहीबेर विवादसमेत भएको थियो । केही स्थानीयले नगर प्रहरीविरुद्ध नाराबाजी पनि गरेका थिए । त्यसपछि घटनास्थलमा नेपाल प्रहरी पुगेको थियोे । प्रहरीको प्रवेशपछि नगर प्रहरी ब्याक भएका थिए ।
यसअघि काठमाडौं महानगरले क्षेत्राधिकारभन्दा बाहिर गएर सडक साँघुर्याउन थालेको भन्दै सडक डिभिजन काठमाडौंले दुई दिनभित्र पूर्वअवस्थामा फर्काउन भनेको थियो । महानगरले सडक नटालेपछि सडक डिभिजन काठमाडौंले सोमबार बिहानबाट सडक टाल्न थालेको हो ।
न्युरोडमा फुटपाथ विस्तार गर्ने महानगरको योजना थियो । यसका लागि महानगरले ठेक्का लगाएर कामसमेत सुरु गरेको थियो । तर, स्थानीय बासिन्दासमेत पर्याप्त छलफलबिनै महानगरले योजनाका काम अघि बढाएको भन्दै असन्तुष्टि देखिएका छन् । विभागले फुटपाथ विस्तारको काम राकेपछि महानगर प्रमुख साह आक्रोशित हुनुभएको थियो । सडकका विषयमा मतभेद भएपछि दबाब दिन काठमाडौं महानगरपालिकाले गतसाता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग सुपरीवेक्षण तथा अनुगमन कार्यालय अगाडि मेयर साहको निर्देशनमा एक ट्रक धुलो लगेर खन्याएको थियो । बालेनले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगञ्ज सम्मको रिङरोड विस्तारका नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको र त्यसको दोष महानगरले पाएको भन्दै विभागको गेटमा एक ट्रक धुलो र फोहोर फालेको थियो ।
बालेनको आक्रोश : आफ्ना कर्तुत लुकाउन विषयान्तर गरियो
काठमाडौं महानगरका प्रमुख बालेनले फुटपाथ विस्तार गर्न भत्काएको न्युरोड सडक विभागले टाल्न थालेपछि आक्रोश पोख्नुभएको छ । गिरीबन्धु टी-स्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको उहाँले आरोप लगाउनुभएको छ । उहाँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नामै तोकेर आक्रोश पोख्नुभएको हो । ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू ! झापा गिरीबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । मेयर साहले ‘यही १० हजार करोडको काण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाडौं महानगरपालिकाले बनाउन लागेको फुटपाथ फेरि सडकमा परिणत गर्न थालेको आरोपसमेत लगाउनुभएको छ । ‘अब बल्ल देश बन्ने भएछ ! आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नुभएको हो,’ उहाँले लेख्नुभएको छ । उसो ओलीले बालेनलाई कुनै सभ्यता नै नभएको भनेर टिप्पणीसमेत गर्नुभएको थियो । बालेनले सडक विभागमा धुलो खन्याएपछि एमाले पार्टी कार्यालयमा भएको एक बैठकमा ओलीले भन्नुभएको थियो, ‘असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने ? यो कुनै सभ्यता हो ? अनि आज योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन ? यो त सभ्य तरिका भएन ।’
ओलीको जवाफ : गिरीबन्धु टी-स्टेटबारे बालेनलाई सोध्नुस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग सोध्न आग्रह गर्नुभएको छ । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सञ्चारकर्मीको गिरीबन्धु टी-स्टेटबारे प्रश्न उठिरहेको छ नि ? भन्ने प्रश्नको जवाफ दिँदै उहाँले मेयर बालेनलाई सोध्न आग्रह गर्नुभएको हो ।
यस्तो थियो महानगरको योजना
सर्वसाधारणका लागि आवतजावतमा सहज होस् भनेर महानगरले न्युरोड क्षेत्रको फुटपाथ विस्तार र स्तरोन्नतिको कार्यक्रम अगाडि बढाएको थियो । न्युरोड क्षेत्रमा अहिले ११ मिटर लम्बाइ कालोपत्रे सडक छ । त्यसैगरी, दायाँबायाँ २.४ र २.६ मिटरको फुटपाथ छ । सो फुटपाथ साढे एक मिटर बढाएर स्तरोन्नतिको काम गर्ने महानगरको योजना थियो । महानगरले तयार पारेको डिपिआरअनुसार ११ मिटर लम्बाइ रहेको कालोपत्रे सडक सात मिटरको बनाउने योजना थियो । दुवैतिर डेढ मिटर थप गरी झण्डै चार मिटरको अर्थात् ३.९ मिटरको फुटपाथ बनाउने महानगरको योजना थियो । फुटपाथ बनेसँगै उक्त क्षेत्रमा पिक-एण्ड-ड्रप (यात्रु चढाउने र ओराल्ने) सिष्टम लागू गर्ने महानगरको योजना थियो ।
पटक-पटक विवाद हुनु लज्जास्पद : गौतम
नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सडक विभाग र काठमाडौं महानगर बीचको विवाद लज्जास्पद भएको टिप्पणी गर्नुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सडक र फुटपाथ निर्माणको विषयमा विवाद हुनु लज्जास्पद भएको टिप्प्णी गर्नुभयो । राज्यका दुई अंगबीच सिर्जना भएका यस्ता विवादले संघीयतामाथि नै प्रश्न उठ्ने भन्दै गौतमले गम्भीर बन्न आग्रह गर्नुभयो । ‘अहिले काठमाडौं महानगरपालिका र सडक विभागबीच आरोप-प्रत्यारोप चलिरहेको छ । फोहोर व्यवस्थापनको विषय, सडक र फुटपाथ निर्माणको विषयमा कसको क्षेत्राधिकार के ? पटक-पटक विवाद हुनु लज्जास्पद विषय हो । राज्यका दुई अंगबीचको विवाद सतहमा सामान्य लागे पनि यसले दिने सन्देश सामान्य छैन,’ उहाँले भन्नुभयो ।
बालेनलाई काम गर्न दिनुपर्छ : भण्डारी
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको काममा अवरोध गर्न नहुने बताउनुभएको छ । सोमबार संघीय संसद् भवनमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले मेयर साहमा केही गरौँ भन्ने हुटहुटी रहेकाले निरुत्साहित गर्न नहुने टिप्पणी गर्नुभएको हो । सांसद भण्डारीले गिरीबन्धु टी-स्टेट प्रकरण छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच