काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्डसँग खेल्दै प्रतियोगताको उद्घाटन गर्दैछ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो ।
काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई)लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।
नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्याण्डले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो ।
विश्वकपअन्तर्गत अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आज राति हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ । त्यसो त नेदरल्यान्ड पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्याण्डविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो असवर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताउनुभयो । नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो ।
विश्वकप कसरी लाइभ हेर्ने ?
आइसिसी टी–२० विश्वकप क्रिकेट नेपालीले भारतीय च्यानलबाट हेर्नुपर्ने भएको छ । विश्वकपको नवौँ संस्करणको प्रत्यक्ष प्रसारण नेपाली च्यानलबाट नहुने भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको प्रत्यक्ष प्रसारणको अनुमति पाउने देशहरूको सूचीमा नेपालको नाम छैन । आइसिसीले पहिलो नम्बरमा भारतलाई प्राथमिकतामा राखेको छ ।
नेपालीले भारतको स्टार स्पोर्टस् नेटवर्क र डिज्नी प्लस हट स्टारमार्फत् विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । यस्तै आइसिसीको मोबाइल एप्लीकेशनबाट पनि निशुल्क हेर्न पाइने छ । त्यसका लागि प्लेस्टोरमा गएर आइसिसी टि२० वल्ड कप नामक मोबाइल एप्लीकेशन डाउनलोड गरि आफ्नो जिमेल एकाउण्ट लग इन गर्नुपर्ने छ । साथै गुगल क्रोममा आईसीसी टिभी लगइन गरि विश्वकपका खेलहरुका प्रत्यक्ष हेर्न पाइने छ ।
यसका साथै काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ । महानगरले नेपालका खेल तीन ठाउँमा लाइभ देखाउन लागेको हो । नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् ।
महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच