पहिलो सिकार याममा : ढोरपाटनमा आठ नाउर र पाँच झारलको सिकार अनुमति

हिमालय टाइम्स
Read Time = 5 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकार असोज-कात्तिकको लागि आठ नाउर र पाँच झारलको सिकार अनुमति दिएको छ ।

ढोरपाटन सिकार आरक्ष केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार सिकारको लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारीहरू ढोरपाटन सिकार आरक्षको सिकार ब्लकमा पुग्न थालेका हुन् । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइसकेको छ ।

विभागले हरेक वर्ष दुई याममा गरी वार्षिक २० नाउर र ११ झारलको सिकार अनुमति प्रदान गर्छ । पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज नेपाल, हिमालयन सफारिज र टपाक्स एण्ड टे«ल्स कम्पनीमार्फत अमेरिकन, मेक्सिकन र क्यानेडियन नागरिकले सिकारका लागि अनुमति पाएको प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ ।

सिकारको लागि आरक्षको क्षेत्रलाई सात ब्लकमा विभाजन गरिएको छ । पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार हुनेछ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज-मङ्सिर) पहिलो याम र (फागुन-वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ ।

पहिलो यामका लागि सुर्तिबाङ ब्लकमा कुनै पनि सिकारीले सिकार गर्ने छैनन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयको अनुभव छ । सिकारीसहितको टोलीले १५ दिन जंगलमै समय बिताउँछन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आ≈वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब २० देखि २२ लाख रुपैयाँ खर्च गर्ने गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।

यो वर्ष नाउरको न्यूनतम १५ लाखदेखि अधिकतम २१ लाख ४० हजार प्रतिगोटा र झारलको न्यूनतम एक लाख १० हजारदेखि अधिकतम ६ लाखसम्म राजस्व तिरेर सिकारीहरू सिकारका लागि तयार भएको कँडेलको भनाई छ । नेपाल ट्राभल एक्पिडिसन प्रा.लि काठमाडौंमार्फत पहिलो याममा अमेरिकन नागरिकले एउटा नाउरको सिकार गर्नेछन् । सिकार आरक्ष कार्यालयकाअनुसार उहाँलाई सिकारका लागि गुस्तुङ ब्लक तोकिएको छ ।

ग्लोबल सफारिज नेपालमार्फत तीन जना सिकारीले दुई नाउर र एक झारलको सिकार अनुमति पाएका छन् । क्यानेडियन नागरिकले नाउर र अर्का दुई जना अमेरिकी नागरिकले एक नाउर र एक झारलको सिकार अनुमति पाएका हुन् ।

सिकारीहरूले हिमालयन सफारिजमार्फत तीन नाउर र दुई झारलको सिकार अनुमति पाएका छन् । उनीहरू मेक्सिकन र अमेरिकन नागरिक हुन् । दोगाडी, सुनदह र सेङ ब्लकमा अनुमति दिइएको छ । टपाक्स एण्ड टे«ल्स कम्पनीमार्फत दुई जना अमेरिकन नागरिकले दुई नाउर र दुई झारलको सिकार अनुमति पाएको सिकार आरक्ष कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?