काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । राष्ट्रपति पौडेल मंगलबार साँझ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन जम्बो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री रघुवीर महासेठ, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेपाल सरकार र संवैधानिक अंगका प्रमुखले बिदाइ गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले बिहीबार उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले आज (बुधबार) स्विस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । नेपालका राष्ट्र प्रमुख र स्विस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले आइएलओको सम्मेलनमा मुख्य वक्ताका रूपमा राष्ट्रपतिलाई आमन्त्रण गरिनुले संयुक्त राष्ट्रसंघले सामाजिक न्यायको कार्यसूचीलाई संविधान र संघीय लोकतन्त्रान्त्रिक गणतन्त्रले पूर्ण रूपले आत्मसात गरेको विषयलाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गरेको रूपमा बुझ्नुपर्ने बताउनुभयो ।
भ्रमणकै क्रममा राष्ट्रपति पौडेल शनिबार जेनेभाबाट संघीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी गराउनभयो । राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपति फ्रैंक-वाल्टर स्टिन मेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँले सोमबार जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नुहुने छ ।
राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल रहनुहुने छ । प्रतिनिधिमण्डलका अन्य सदस्यमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्विट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूसहित १८ जना रहने जनाइएको छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते (बुधबार) स्वदेश फर्किनु हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच