काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को बैठक असार ४ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । बैठकबारे जानकारी दिन शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थसचिव मधुकुमार मरासिनीले आइडा-२१ को बैठकले स्रोत परिचालनका लागि कस्तो नीति अवलम्बन गर्ने भन्ने मार्गदिशा तय गर्ने र नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने बताउनुभयो । बैठकले विश्वव्यापीरूपमा आइडाको स्रोत परिचालनका लागि महत्वपूर्ण निर्णय गर्ने उहाँको भनाइ छ ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फारिस हदाद जेर्बोसले नेपालको दिगो र समावेशी विकासका लागि आइडाले वित्तीय स्रोत उपलब्ध गराउँदै आएको उल्लेख गर्दै आइडा परिणाम हासिल गर्न सक्षम, पारदर्शी र जवाफदेही मञ्च रहेको बताउनुभयो ।
उहाँँले भन्नुभयो, ‘आइडा-२१ बैठकका क्रममा विश्वव्यापी विकास लक्ष्य पूरा गर्न प्रयोग गरिने स्रोत संकलन र नवीकरण गर्न दाताहरू तथा ऋण लिने राष्ट्र एकै ठाउँमा बसेर छलफल गरी आगामी रणनीति तयार गर्नेछन् । आइडा सहुलियतपूर्ण वित्तीय सहायताका लागि विश्वको सबैभन्दा ठूलो स्रोतका रूपमा रहेको छ ।’ आइडाले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, कृषि, पूर्वाधारलगायत क्षेत्रमा वित्तीय सहायता र विभिन्न संस्थागत सुधारका लागि काम गर्दै आएको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले आइडा नेपालको सबैभन्दा ठूलोमध्येको एक विकास साझेदार संस्था रहेकाले जलवायु वित्तलगायत नेपालको चासो र हितका विषयमा मार्गदिशा तय गर्न बैठक महत्वपूर्ण हुने बताउनुभयो । बैठकले आइडाको स्रोत परिचालनसँग सम्बन्धित समग्र नीति तय गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने बैठकमा ७० देशका दुर्ई सयभन्दा बढी व्यक्ति सहभागी हुँदैछन् । बैठक व्यवस्थापनका लागि अर्थसचिव मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ । विकास साझेदारको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडा बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगालगायत उच्चपदस्थ अधिकारी सहभागी हुँदैछन् ।
विश्व बैंकका अनुसार आइडाले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ । आइडाको बैठक हरेक तीन वर्षमा हुँदै आएको छ । यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच