काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र सहितको सत्ता गठबन्धन भित्रको मतभेद बढ्दै गएको छ । सत्ता गठबन्धनमा अहिले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सहभागी छन् । गठबन्धनको घटक नेकपा एस गठबन्धन बनेदेखि नै सरकारप्रति असन्तुष्ट रहँदै आएको छ । सरकारमा सहभागी भएको एक सय दिनमै सत्ता गठबन्धनका मुख्य दलहरू एमाले र रास्वपाले समेत पछिल्ला दिनहरूमा सरकारप्रति असन्तुष्टि पोख्न थालेका छन् । सत्तारूढ दलको सबैभन्दा ठूलो घटक नेकपा एमालेका अध्यक्ष केपी ओलीले आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई लिएर एकपछि अर्को असन्तुष्टि पोख्दै आउनुभएको छ ।
शनिबार संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा त अध्यक्ष ओलीले बजेटको खुलेर विरोध गर्न पार्टीका सांसदहरूलाई निर्देशन नै दिनुभयो । यसअघि अध्यक्ष ओलीले सत्ता सहयात्री दलहरूसँग छलफल नहुँदा बजेट अर्थमन्त्रीको हो कि उनको पार्टी माओवादी केन्द्रको हो भन्ने टिप्पणी गर्नुभएको थियो । बजेटअघि आफू सहभागी सरकारको बचाउ गर्दै आएको रास्वपा र रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरूले नै सरकारको काम कारबाही परम्परागत भएको भन्दै सरकारको कामप्रति तीव्र असन्तुष्टि पोखेका छन् ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त सरकार पुरानै कर्मकाण्डी ढंगले अगाडि बढिरहेकाले सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्नुपर्ने बेला आएको अभिव्यक्ति नै दिनुभएको छ । रास्वपाका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि आशा र अपेक्षाअनुसार गर्नुपर्ने धेरै काम हुन नसकेको स्वीकार गर्नुभएको छ । आफैँले रोजेको मन्त्रालय लिएर सरकारमा गएको रास्वपाका मन्त्रीहरूको आक्रोशपूर्ण अभिव्यक्तिले विभिन्न संशय पैदा भएको छ ।
पार्टीभित्र र बाहिर आलोचनाको स्वर बढ्दै जाँदा नैतिक दबाबमा रहेका रास्वपाका मन्त्रीहरूको आक्रोश घुर्की हो कि सरकार छाड्ने तयारीकै रूपमा आएको हो वा अपजसको भारी सहयात्री दलतिर पन्छाएर पानी माथिको ओभानो बन्न खोजेको हो भन्नेमा विश्लेषण हुन थालेको छ । सत्ता सञ्चालनमा गठबन्धन दलहरूबीच खटपटको चर्चा चलिरहेको बेला मुख्य घटकका जिम्मेवार नेताहरूबाट आएको असन्तुष्टिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय सत्ता सहकार्यमा प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीले असहयोग गर्दै आएको र साना–साना काममा पनि हस्तक्षेप गर्न थाल्नुभएको माओवादी केन्द्रकै नेताहरूको भनाइ छ । प्रधानमन्त्री प्रचण्डलाई भेटेर बजेटबारे असन्तुष्टि व्यक्त गर्दै ओलीले आफूसँग सल्लाह नगरी आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउन चेतावनी नै दिनुभएको बताइएको छ । बजेट, सरकार पुनर्गठन, राजदूत फिर्ता, संवैधानिक निकायमा नियुक्तिलगायत विषयमा ओलीले चासो राख्दै आउनुभएको छ । बजेटपछि मात्रै पनि प्रधानमन्त्री प्रचण्डलाई ओलीले चारपटक भेटिसक्नु भएको छ ।
एमाले-रास्वपाले सरकार सञ्चालनमा असन्तुष्टि व्यक्त गरिरहँदा अर्कोतिर समीकरण फेरिएको दिनदेखि नै एकीकृत समाजवादीले सरकार छाड्ने धम्की दिइरहेको छ । अर्को घटक जसपा नेपाल यस बीचमा विभाजन भएको छ । सरकारलाई समर्थन गरेका दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जपा) लाई सरकारमा ल्याउने प्रधानमन्त्री प्रचण्डको प्रयास अझै सफल भएको छैन । सरकारको सहजताका लागि प्रचण्डले ओलीसँग एमाले र माओवादीका एक-एक मन्त्री फिर्ता बोलाएर जनमत र नागरिक उन्मुक्तिलाई दिनुपर्ने बताइरहनु भएको छ । सरकारले मन्त्रिपरिषद् हेरफेर गर्न लागेको समाचार सार्वजनिक भएको एक साता बितिसक्दा पनि ओलीले ‘ग्रिन सिग्नल’ नदिँदा मूर्तता पाउन सकेको छैन । ओलीले एमालेका मन्त्री फिर्ता नबोलाउने अडान लिएपछि प्रधानमन्त्रीले माओवादी तर्फका एक मन्त्रीलाई फिर्ता बोलाएर नागरिक उन्मुक्तिलाई सरकारमा सहभागी गराउने तयारी गरिरहनु भएको छ । यी सबै परिस्थितिले प्रधानमन्त्री यतिबेला अप्ठ्यारोमा रहेको प्रचण्डनिकट नेताहरूकै भनाइ छ । खासमा सरकारको पछिल्लो सय दिन कामभन्दा पनि सत्ता र रविको बचाउमा सकिएको चौतर्फी आरोप छ । ओलीले बजेटलाई देखाउँदै सन्तोष मान्न नसकिने बताइरहँदा प्रधानमन्त्री प्रचण्ड पनि ओलीका कदमप्रति असन्तुष्ट रहेको बताइएको छ । बजेटमा अनावश्यक बखेडा झिकेको, समय सकिन लागेका राजदूतलाई फिर्ता बोलाउन दबाब दिएको र मन्त्री फेरबदलमा पनि सहयोग नगरेकोमा प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेको नेताहरूको भनाइ छ । सत्ता गठबन्धनका नेताहरूले एमाले र रास्वपाका नेताहरूको असन्तुष्टि सरकारलाई अप्ठ्यारो पार्ने हिसाबले नआएको जिकिर गरिरहँदा राजनीतिक वृत्तमा भने सरकारको असफलताको अपजसबाट जोगिन एमाले र रास्वपाले जनताको आँखामा छारो हाल्ने काम गरिरहेको टिप्पणी हुन थालेको छ ।
ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गर्नुभएको हो : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको साँच्चै विरोध नगरेको जिकिर गर्नुभएको छ । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘विरोध जस्तो मात्रै गर्नुभएको छ । साँच्चै गर्नुभएको छैन । उथलपुथल गर्ने बेला भएको छैन । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा आउने ¥युमर (अफवाह) हरूमा सत्यता छैन । हालको सत्ता समीकरण लामो समयसम्म जाने भएकाले कुनै समस्या आएको छैन ।’
‘पहिचानका लागि राजीनामा दिने रास्वपाको धम्की’
प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्री दल रास्वपा सरकारबाट नबाहिरिने दाबी गर्नुभएको छ । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा पत्र बोकेर हिँड्नु रास्वपाको पहिचान भएको उल्लेख गर्दै भन्नुभयो, ‘रवि लामिछानेजीले सुरुमै हामी त्यस्तै हौँ भनेर भन्नुहुन्थ्यो । आफ्नो पहिचानको लागि पनि राजीनामा पत्र गोजीमा राखेर हिँडेका छौँ भन्नुपर्ने उहाँहरूलाई आवश्यकता होला, बाध्यता होला । तर, मैले बुझेको त्यस्तो केही पनि छैन ।’
प्रचण्डलाई पाँच वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्छ : विप्लव
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्डलाई पाँच वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्ने बताउनुभएको छ । बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधनको क्रममा महासचिव विप्लवले प्रचण्डलाई सरकार आजै जान्छ भोलि जान्छ भन्ने चिन्ताले काम गर्न नसकेको टिप्पणी गर्दै भन्नुभयो, ‘मैले प्रचण्ड कमरेडलाई सुझाव दिएको थिएँ कि पाँच वर्ष कांग्रेसले चलाओस् । कि त हामीलाई देओस् । अहिले पनि प्रचण्डजीलाई पाँच वर्ष स्टेटेजी बनाएर चलाउनुस् भनेर दियो भने सायद राम्रो चल्छ । उहाँलाई त अहिले कुर्सी बचाउनमै ठिक्क छ । आजै जान्छ भोलि जान्छ भन्न थालिसके । बजेट अनन्तजीले ल्याउनुभयो सबै कुरा पर्याप्त हुँदैन तर आफ्नै पार्टीले पनि ठीक छैन भनेको छ अर्कोले पनि त्यही भनेको छ । मन्त्रीले पनि होइन भनेको छ यो बजेट कसको त त्यसो भए ?’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच