काठमाडौं । तत्कालीन नेकपा एमाले भित्रको अन्तरसंघर्ष उत्कर्षमा पुग्दासम्म साथै रहनुभएका घनश्याम भुसाल एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी गठन हुँदा माधवकुमार नेपालको साथमा हुनुहुन्थेन । २०७८ भदौ २ गते नेपालको नेतृत्वमा एमाले विभाजन हुँदा साथ दिन इन्कार गर्नुभएका भुसाल यतिबेला एकीकृत समाजवादीकै नेतृत्व लिन नेपालसँग प्रतिस्पर्धाको तयारी गरिरहनु भएको छ ।
नेकपा एकीकृत समाजवादीको महाधिवेशन असार १६ गतेदेखि काठमाडौंमा हुँदै छ । महाधिवेशनबाट नेतृत्वमा पुनः दोहोरिन चाहनुभएका अध्यक्ष नेपाललाई महासचिव भुसालले दह्रो चुनौती दिनुहुने आँकलन गरिएको छ । सो पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत अध्यक्षमा भुसाललाई समर्थन दिनुभएको छ । अध्यक्षकै दाबेदारका रूपमा रहनुभएका नेता खनालको समर्थनपछि नेतृत्व चयन निर्वाचनबाटै हुने सम्भावना बढेको छ । यद्यपि, नेकपा एसका नेताहरू सहमतिको प्रयास जारी रहेको बताउँछन् । ‘अहिले दुवै जनाले उम्मेदवार बन्छु भन्नुभएको छ । पार्टीका अन्य नेताहरूले समन्वय गरिरहनु भएको छ । अहिलेको अवस्थामा सहमतिमै नेतृत्व चयन गरेर जान उपयुक्त हुन्छ भन्ने लागेर प्रयास जारी राखेका छौँ’, सो पार्टीका एक पदाधिकारीले हिमालय टाइम्ससँग भन्नुभयो । नेकपा एसको महाधिवेशनमा एक हजार ८७० जना महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् ।
खनालको खेल
नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेको समेत पूर्वअध्यक्ष हुनुहुन्छ । तत्कालीन एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग अन्तरविरोध हुँदा खनाल र नेपाल एकै कित्तामा हुनुहुन्थ्यो । दुवै नेताको सल्लाह र निर्णयका आधारमा एमाले विभाजित भई नेकपा एकीकृत समाजवादी बनेको थियो । पछिल्लो समय भने दुवै नेताबीच अविश्वास बढ्दो छ । यस्तो अविश्वास गत प्रतिनिधिसभा निर्वाचनमा खनाल सांसद्मा पराजित भएपछि सतहमा प्रकट भएको हो । पार्टी गठनको तीन वर्ष नपुग्दै शीर्ष दुई नेताबीच असमझदारी देखिनु स्वाभाविक छैन । पछिल्लो समय एमालेविरुद्ध कठोर रणनीति लिने र नरम नीति लिने नेताको रूपमा क्रमशः नेपाल र खनाल स्थापित हुनुहुन्छ । दुवै नेताबीच केही दिनअघि सहमतिको सम्भावनाबारे छलफल पनि भएको थियो । सो क्रममा अध्यक्ष नेपालले पार्टी स्थापनाको लामो समय नभएकाले नेतृत्व परिवर्तन नगरी अगाडि बढ्न सहयोग माग गर्नुभएको थियो । अध्यक्ष नेपालले सहयोग मागे पनि नेता खनालले महासचिव घनश्याम भुसाललाई वचन दिनुभएको बताइन्छ । ‘बुधबार झलनाथजी सँगको भेट सकारात्मक भएको छ । उहाँको समर्थन घनश्याम भुसाललाई हुने निश्चित भयो’ भुसालनिकट एक नेताको भनाइ छ । पार्टी वृत्तमा भने यो प्रकरणलाई खनालको खेलका रूपमा हेरिएको छ । नेतृत्वमा सहमति हुने अवस्था नबनेमा दुवै पक्षको साझा उम्मेदवारका रूपमा आफैँ अध्यक्ष हुने प्रयत्न खनालले गरेको हुनसक्ने चर्चा सोही पार्टी वृत्तमा चलिरहेको छ ।
घनश्यामको हतारो
एमालेमा रहँदा नेतृत्वको कटु आलोचक भए पनि नेकपा एसको स्थापनामा महासचिव घनश्याम भुसालले कुनै योगदान गर्नुभएन । अन्तरसंघर्षमा सँगै रहेका धेरै नेताहरूले एमाले विभाजनमा नेपाललाई साथ दिँदा भुसाल सहितका नेताहरूले भने एमालेमै रहने निर्णय लिनुभएको थियो । एमाले अध्यक्ष केपी ओलीसँग एमालेमै रहेर अन्तरसंघर्ष गर्ने भुसालको उद्घोष लामो समय टिक्न सकेन । एमालेको दशौँ महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित हुने एक्लो उम्मेदवार भुसाल हुनुहुन्थ्यो । हारका वावजुद एमालेकै सक्रिय रहन खोजे पनि गत संसदीय निर्वाचनमा उहाँले एमालेबाट टिकट हासिल गर्नुभएन । त्यसपश्चात् रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरी उहाँले एमाले परित्याग गर्नुभयो । कांग्रेस, माओवादी, नेकपा एस र लोसपा समेतको समर्थन पाए पनि उहाँ संसदीय निर्वाचनमा पराजित रहनुभयो । २०७९ पुसमा नेकपा एसमा प्रवेश गर्नुभएका उहाँ सोही वर्ष चैतमा महासचिव पदमा मनोनीत हुनुभएको थियो । यतिबेला अध्यक्षको प्रत्यासीमा रहनुभएका भुसालले पार्टीभित्र रूपान्तरणको विषयलाई एजेण्डा बनाउनुभएको छ । पार्टीकै केही नेताहरू भने अध्यक्षको उम्मेदवार भने भुसालको निर्णय हतारो मात्रै भएको बताउँछन् । ‘उहाँलाई एमालेले कुन हालतमा पु¥याएको थियो ? माधव नेपालले नै ल्याएर महासचिव बनाएर उहाँको राजनीति जोगाइदिनुभयो । अहिले नै माधव नेपालसँग अध्यक्ष लड्छु भन्नु अलि हतारो भयो कि ?’, नेपालनिकट एक नेताले भन्नुभयो ।
ढुक्क माधव
नेतृत्वमा दोहोरिने चाहनालाई सम्मानित नेता खनालले साथ नदिए पनि अध्यक्ष माधवकुमार नेपाल ढुक्क देखिनुहुन्छ । पार्टी स्थापनादेखि जोडिएका नेता कार्यकर्ताहरूको ठूलो पंक्ति साथमै रहेकाले नेपाल ढुक्क देखिनुभएको हो । यद्यपि, सहमतिमै नेतृत्व लिने प्रयास भने उहाँले गरिरहनु भएको छैन । भुसालको पक्षमा हालसम्म सम्मानित नेता खनाल, उपमहासचिव प्रकाश ज्वालालगायत खुलेका छन् । त्यसबाहेक अधिकांश नेताहरू नेपालकै पक्षमा देखिन्छन् । ‘महाधिवेशनको बेलामा प्रतिस्पर्धा देखिनु स्वाभाविक हो तर अधिकांश सिनियर नेताको साथ भएका अध्यक्ष दोहोरिनेमा माधव नेपाल ढुक्क हुनुहुन्छ’, एक नेताको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच