सुर्खेत । ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजनामा पहिलो राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिपको फाइनल राउण्ड शुक्रबारदेखि सुर्खेतमा सुरु भएको छ । इशानको गठन भएपछि संघको पहिलो कार्यक्रमका रूपमा राष्ट्रिय ई-स्पोर्ट्सको सुरुवात कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरबाट गरिएको छ ।
जसमा पब्जी मोबाइल, ई-फुटबल र मोबाइल लेजेन्ड गरी तीन इभेन्ट समावेश गरिएको छ । मुख्य इभेन्टका रूपमा रहेको पब्जी मोबाइलमा छनोट चरण पार गरेर आएका १५ टोली र कर्णाली प्रदेशको टोलीसमेत गरी १६ टोली प्रतिस्पर्धामा छन् ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार ई-स्पोर्ट्सको उद्घाटन गर्दै नौलो खेलको सुरुवात कर्णाली प्रदेशबाटै गरेकोमा संघलाई धन्यवाद दिँदै सफलताको शुभकामना दिनुभएको थियो ।
पछिल्लो समय विश्वमै ई-स्पोर्ट्स चर्चामा छ र नेपालमा पनि यस खेलमा लाग्ने खेलाडीहरूको संख्या बढ्दो छ । गत वर्ष चीनको हानझाउमा भएको १९औँ एसियाडमा पनि नेपालले ई-स्पोर्ट्समा डेब्यु गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो ।
आगामी मंसिरमा कर्णाली प्रदेशमा १०औँ बृहत् राष्ट्रिय खेलकुद आयोजना हुँदैछ र त्यसैलाई ध्यान दिँदै ई-स्पोर्ट्स संघले पनि आफ्नो पहिलो कार्यक्रम कर्णालीबाटै सुरुवात गरेको छ ।
राष्ट्रिय खेलकुदमा पनि ई-स्पोर्ट्सलाई समावेश गर्ने तयारी संघको छ । संघका अध्यक्ष अञ्जन धमलाले संघ आधिकारिक रूपमा दर्ता भएपछि देशभरका प्रतिभावान खेलाडीलाई बाहिर ल्याउन यो च्याम्पियनसिप आयोजना गरिएको बताउनुभयो ।
‘दशौँ राष्ट्रिय खेलकुद पनि कर्णाली प्रदेशमै हुँदैछ । यसमा नयाँ खेल पनि थपिनेछ । त्यसमा ई स्पोर्ट्स पनि छनोट गर्नुभयो भने अझ राम्रो हुन्छ । हामी कर्णालीबाटै ई-स्पोर्ट्सको आधार तयार गर्दैछौँ,’ उहाँले भन्नुभयो । संघले पहिलो कार्यक्रमका रूपमा ई-स्पोर्ट्स च्याम्पियनसिप आयोजना गर्दा तीन इभेन्टमात्र समावेश गरेको छ । आगामी दिनमा इभेन्टको संख्यासमेत बढाउँदै जाने संघको योजना छ ।
धमलाले ई-स्पोर्ट्स खेलमात्र नभएर एउटा उद्योगकै रूपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ई-स्पोर्ट्सलाई खेलमात्र नभएर एउटा इन्डस्ट्रीकै रूपमा किन परिणत नगर्ने ? हामीले पनि खेलाडीका लागि राम्रो अवसर सिर्जना गर्नुपर्छ । जसले गर्दा राम्रो प्रदर्शन गर्न पनि सहयोग पुग्छ ।’
पहिलोपटक आयोजना भइरहेको राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिपको छनोटमा पब्जीमा १३६ टिम, मोबाइल लेजेण्ड्समा ४० टिम र ई-फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका संघले जनाएको छ ।
कुल पुरस्कार राशि १२ लाख रहेको प्रतियोगितामा पब्जी मोबाइलमा नौ लाख, मोबाइल लेजेण्ड्समा दुई लाख र ई- फुटबलमा एक लाख रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश ई-स्पोर्ट्स संघले सहयोग गरेका छन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव विश्वामित्र सन्ज्यालले आधुनिक प्रविधिको खेल प्रतियोगिता कर्णालीमा हुनु सिंगो प्रदेशका लागि खुसीको विषय भएको र कर्णाली प्रदेशमा रहेका ई-स्पोर्ट्सका खेलाडीको आकर्षणलाई हेरेर प्रदेशले आयोजनामा सहयोग गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच