काठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा पनि टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । हुम्लाको नाम्खा गाउँपालिका ३ स्थित रानीसैनमा कम्पनीले भिस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको हो । बाजुरा सदरमुकाम मार्तडीदेखि गाडीमा एक दिन र त्यसपछि करिब चार दिन हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोटदेखि गाडीमा तीन, चार घण्टा र एक दिन पैदल हिँडेर मात्र उक्त स्थानमा पुग्न सकिने स्थानीय बासिन्दा सोनाम लामाले बताउनुभयो । त्यसअघि करिब २० किलोमिटर तल लाम्पाटा र माथि पाँच हजार पाँच सय मिटर उचाइको साके पुगेरमात्र मोबाइल सेवामार्फत् सम्पर्क गर्न सकिने अवस्था थियो । अब भने स्थानीय करिब छ सय बासिन्दाले सहज रूपमा टेलिफोन सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
रानीसैन खासगरी चरिचरण क्षेत्र हो । जहाँ छ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिब तीन हजार छ सय मिटर उचाइमा रहेको सो क्षेत्रमा सेवा सञ्चालनसँगै हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुने कम्पनीका प्रवक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार भिस्याटका आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमानादेखि करिब चार दिनसम्म मानिसले बोकेर रानीसैन पुर्याएका थिए ।
प्रतिफल कम आउने र तुलनात्मक रूपमा लगानी बढी हुने स्थानमा समेत समान रूपमा दूरसञ्चार सेवा विस्तारलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाइँकुण्ड, संखुवासभाको किमाथांकालगायतका स्थानमा भिस्याटमार्फत् सेवा सञ्चालन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच