भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउनुहुने भएको छ । दुईदिने नेपाल भ्रमणको क्रममा उहाँ सोमबार काठमाडौं आउन लाग्नुभएको हो । क्वात्रा नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा फागुन १ देखि ३ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ भ्रमण मिति घोषणा गरेका हुन् ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको क्वात्राको यो पहिलो नेपाल भ्रमण हो । ‘दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप यो भ्रमण हुन लागेको बताइएको छ । भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्नुहुनेछ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

प्रचण्ड नेतृत्वको सरकार गठन भएसँगै अमेरिका, भारत लगायतका देशको उच्च अधिकारीको नेपाल भ्रमण बाक्लिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सचिव पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने उल्लेख छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायत राजनीति दलका नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ । विदेश सचिव हुनुअघि उहाँ नेपालमै राजदूत हुनुहुन्थ्यो ।

प्रचण्ड प्रधानमन्त्री भएपछि भारतबाट भएको यो औपचारिक उच्चस्तरीय भ्रमण हो । यो भ्रमणका बेला क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निम्तोसमेत दिने बताइएको छ । विदेश मन्त्रालयले भारत र नेपालबीच सभ्यतागत एवम् ऐतिहासिक सम्बन्ध रहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?