काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना सम्बन्धनमा छानविन गर्न गठित संसदीय समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजातहरू माग्ने निर्णय गरेको छ । आइतबार बसेको समितिको सातौँ बैठकले समस्याग्रस्त २० वटा सहकारीका आवश्यक कागजातहरू माग्न पत्राचार गर्ने निर्णय गरेको सभापति सूर्य थापाले जानकारी दिनुभयो । सहकारी व्यवस्थापन समितिका तर्फबाट समस्याग्रस्त सहकारीका कागजात प्राप्त भए पनि अन्य धेरै विवरण, जानकारी र तथ्यहरू आवश्यक पर्ने भएकाले माग गर्ने निर्णय गरिएको सभापति थापाले बताउनुभयो । बैठकमा २०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, २०६१/०६२ मा सहकारी अध्ययनका लागि गठित कार्यदलका संयोजक डा. युवराज खतिवडा र २०७० सालमा समस्याग्रस्त सहकारीको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीसँग सल्लाह सुझाव मागिएको उहाँको भनाइ थियो ।
‘बैठकले समस्याग्रस्त व्यवस्थापन समितिअन्तर्गत रहेका २० वटा सहकारीका कागजात, तिनका आवश्यक सबै कागजात माग्नका लागि पत्राचार गर्ने निर्णय भएको छ । नौवटा विवादित रहेको भनिएका सहकारीहरूको कागजात माग्ने निर्णय योभन्दा अगाडिको छैठौँ बैठकबाट गरेका छौँ,’ सभापति थापाले भन्नुभयो, ‘समस्याग्रस्त सहकारीका सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भएको छ । तर, अरू धेरै विवरण, जानकारी, तथ्यहरू आवश्यक पर्ने देखिएपछि हामीले बैठकबाट यो निर्णय गरेका हौँ ।’
संसदीय समितिले कागजात माग गरेका सहकारी संस्थाले बचतकर्ताको साढे ४० अर्ब रुपैयाँ बढी अपचलन गरेका छन् । समितिले तयार गरेको कार्यविधिको अनुसूची १ मा रहेका २० र थप एकसहित २१ संस्थाले बचतकर्ताले ४० अर्ब ५१ करोड ४२ लाख १८ हजार रुपैयाँ अपचलन भएको पाइएको हो । ती सहकारीलाई बचत परिचालन, लेखा परीक्षण प्रतिवेदनलगायत विवरण पठाउन पत्रचार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
सहकारी विभागको सिफारिशमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीमध्ये असार पहिलो साता कुवेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पत्ति व्यस्थापन तथा दायित्व भुक्तानी भएको मन्त्रालयले जनाएको छ ।
कुवेर बचत तथा ऋण सहकारी संस्थाले ५७ लाख ६३ हजार ४६७ रुपैयाँ अपचलन गरेको छ । चार्टर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभले ८४ लाख ११ हजार ४९४ रुपैयाँ र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाले बचतकर्ताको ७५ लाख २८ हजार ८२४ रुपैयाँ अपचलन गरेका छन् । समस्याग्रस्त घोषणा भएर हिसाब मिलान भएका तीनवटा सहकारीको पनि अनुसन्धान गरिने समितिका सभापति थापाले बताउनुभयो ।
सरकारले समस्याग्रस्त घोषणा गरेको मध्ये कान्तिपुर सहकारीको १७ वटा शाखामध्ये नौवटा शाखा, लालिगुराँस सहकारीको आठवटा शाखामध्ये सात वटाको, शिवशिखरको चितवन, गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका शाखाको विवरण आउने क्रममा रहेको बताइएको छ । हाल देशभर ३१ हजार ३७३ वटा सहकारी संस्था रहेका छन् । यी संस्थाले चार खर्ब २६ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन गरेका छन् । त्यसमा आधाभन्दा बढी सञ्चालकले नै अपचलन गरेका छन् । सहकारीमा ७३ लाख ८१ हजार २१८ जना सदस्य रहेका छन् ।
गोर्खा मिडिया गु्रपका अध्यक्ष गितेन्द्र बाबु (जिबी) राई समूहले अर्बौं रुपैयाँ रकम अपचलन गरेको छ । गत बुधबार बसेको सहकारी छानविन समितिको बैठकले विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको थियो । ती सहकारीका वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र विभिन्न सहकारीमार्फत गोरखा मिडियामा प्रवाह भएको रकमसमेत माग गरेको समितिका सभापति थापाले जानकारी दिनुभयो ।
सरकारले गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानविन गर्न संसदीय छानविन समिति गठन गरेको थियो । एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिमा सात सदस्य छन् । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुबहादुर प्रधान सदस्य रहनुभएको छ । समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलले चार बुँदे कार्यादेश तय गरेको छ । समितिको कार्यावधि पनि तीन महिना तोकिएको छ ।
लालीगुराँस सहकारीका अध्यक्षसहित चारजना पक्राउ
लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पत्रकार सम्मेलन गर्दै बचतकर्ताको बचत ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । लालीगुराँस सहकारीले सर्वसाधारणलाई आकर्षक ब्याज दिने आशा देखाई बचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा संस्थाका अध्यक्षसहित अन्य चार जनालाई काठमाडौंबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिनुभयो । पक्राउ पर्नेमा लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सहकारीका सञ्चालक सदस्य कदमबाबा जोशी प्रधान छन् । लालीगुराँस सहकारी संस्थाका सञ्चालक र लेखासमितिविरुद्ध ती करोड रकम ठगी गरेको जाहेरी परेको प्रमुख भट्टराईले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच