काठमाडौं । ‘म प्रधानमन्त्री भएकै दिनदेखि भन्न थालेका थिए, सरकार कति दिन टिक्ला ? मैले नै भन्थेँ- शायद मलाई सबै मिलेर धेरै दिन बस्न दिन्नन् होला । अहिले डेढ वर्ष भयो, म बसेकै छु । मैले जे देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । हामीलाई हटाउन सजिलो छैन,’ असार ८ गते काठमाडौंमा तामाङ मुक्ति मोर्चाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभएको थियो । उहाँको आशय थियो, ‘सरकार पूरै कार्यकाल चल्छ ।’
उहाँको आत्मविश्वास कतिसम्म थियो भने, ‘हामीलाई सरकारबाट हटाउन सजिलो छैन, इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ । थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । जादुले अनेक गरेर मिलाइहाल्छ ।’ १८ महिनामा तेस्रोपटक काँध फेरेर सत्ता टिकाउन सफल प्रचण्ड यसैगरी अरू ४२ महिना प्रधानमन्त्रीमै दोहोरिनेमा ढुक्क हुनुहुन्थ्यो । तर, प्रचण्डको महत्वाकांक्षामा ठेस लागेको छ । प्रचण्डको जादुवाला नम्बर (३२ सिट) ले त्यसको १० दिनमै काम गर्न छोडेको छ । दायाँबायाँ गरेर पाँच वर्ष नै प्रधानमन्त्री पड्काइदिने दाउमा रहनुभएका उहाँ अकस्मात सत्ताबाट सत्ताच्युत हुने अवस्थामा पुग्नुभएको छ ।
एमाले र कांग्रेसबीच सरकार गठनदेखि संविधान संशोधन सम्मका विषयमा सहमति भएको छ । साना दलले च्याँखे थाप्ने र सधैँभरि सरकार अस्थिर भइरहने प्रवृत्ति हटाउन उनीहरू सहमत भएका हुन् । उसो त उहाँको सत्तामा इन्ट्री नै अकस्मात भएको थियो । कांग्रेससँग मिलेर चुनाव लडे पनि १० पुस २०७९ मा एमालेसँग मिलेर उहाँ सत्ताको नेतृत्वमा पुग्नुभएको थियो । शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन तोडेर ‘प्रचण्ड’ तेस्रोपटक नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बन्नुभएका प्रचण्डले तेस्रोपटक सरकारको नेतृत्व सम्हाल्नुभएको थियो । त्यसको तीन महिना नबित्दै उहाँले एमालेसँग सहकार्य तोड्नुभयो । कांग्रेसलाई साथ लिएर करिब १४ महिना सत्ता चलाउनुभएका प्रचण्डले गत २१ फागुनमा पुनः एमालेसँग काँध मिलाउनुभएको थियो । सत्ता जोगाउन काँध फेरिरहने प्रचण्डलाई अहिले भने नराम्रो झट्का लागेको छ । जसको काँध चढेर प्रचण्डले सत्ता जोगाउनुभएको थियो उहाँहरूले नै काँध जोड्नुभयो । ‘उथलपुथल’का सौखिन प्रचण्डलाई कांग्रेस-एमालेले जिल्लाइदिएका छन् । प्रचण्ड एक सातामै ‘जादुमयी नम्बर’का बाबजुद निरीह देखिनुभएको छ । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डसँग राजीनामा वा विश्वासको मत सामना गर्ने भन्ने दुईमात्र विकल्प बाँकी रहन्छ । यी दुवै विकल्पले सत्ता बहिर्गमनको समय ढिलोचाँडो मात्र हुने हो, सत्ता जोगिनेवाला छैन ।
न कार्यशैली बदलियो, न त जनतामा आशा जाग्यो
तेस्रोपटक प्रधानमन्त्री हुँदा उहाँले देखावटी नै सही काम गर्ने हुटहुटी देखाउनुभएको थियो । पुस ११, २०७९ मा तेस्रोपटक सिंहदरबारमा कार्यभार सम्हाल्ने बेला यसपटक आफूमा केही गर्ने हुटहुटी रहेको उहाँले दाबी गर्नुभएको थियो । प्रधानमन्त्री बनेलगत्तै नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिँदै सेवा प्रवाहमा बहानाबाजी नचल्ने बताउनुभएको थियो । उहाँको ३० बुँदे निर्देशन कर्मचारीले ‘हस् हजुर’ भन्दै हाई काडेर उडाइदिए । सेवा प्रवाहको अवस्था पूर्ववर्ती सरकारभन्दा खासै फरक देखिएन । त्यसपछि फेरि सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले घोषणा गर्नुभएको थियो, ‘अब सरकारको कार्यशैली बदलिनेछ ।’ बितेको एक वर्षमा काम गर्न नसकेको स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले ‘कामलाई गति दिने’ बाचा गर्नुभएको थियो । अपरिहार्यबाहेक बाहिरका कार्यक्रममा नजाने र सिंहदरबारमै बसेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । काम गर्न नसके आफूले पनि पद छोड्ने र मन्त्रीलाई पनि बाटो खोल्न निर्देशन दिनुभएको थियो । तर, त्यसयता न प्रधानमन्त्रीले भनेजस्तो सरकारको कार्यशैली बदलियो, न त जनतामा आशा जगाउने कुनै काम नै भए ।
छोटोछोटो कार्यकाल प्रधानमन्त्री बन्नुभएका बीपी, मनमोहन नेपाली जनताका आदर्श प्रधानमन्त्रीमा गनिनुहुन्छ । तीन-तीनपटक सरकारको नेतृत्व गर्ने अवसर पाउनुभएका प्रचण्डले चिरकालसम्म सम्झने के काम गर्नुभयो ? भावी पुस्ताले उहाँलाई कसरी स्मरण गर्ने ?
‘धोकाधडीको’ राजनीति आफैँमाथि भारी
कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग समीकरण बनाएपछि फागुन २४ गते प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भन्नुभएको थियो- ‘कहिले कांग्रेस, कहिले एमालेलाई धोका दिनुभयो, तपाईंबाट धोका पाएकाहरू एकठाउँमा उभिए भने तपाईंको के हाल होला ? नभन्दै त्यसै भएको छ । हुन पनि प्रचण्डले संसद्को यही कार्यकालको छोटो समयमा कांग्रेस-एमालेलाई पटक-पटक धोका दिनुभयो । कांग्रेससँग चुनावी गठबन्धन गरेर कांग्रेसको समेत भोटका आधारमा चुनाव जित्नुभएका प्रचण्डले पुस १० गते कांग्रेसलाई धोका दिएर एमालेसँग सत्ता गठबन्धन बनाउनुभएको थियो । एमालेको समर्थनमा प्रधानमन्त्री बनेको दुई महिनामै एमालेलाई धोका दिएर फेरि कांग्रेससँग सत्ता सहयात्रा गर्नुभएको थियो । धोकाधडीको शृंखला रोकिएन, २०८० फागुन २० गते कांग्रेसलाई बीच बाटोमै लात हानेर एमालेसँग लगनगाँठो कस्नुभयो । यसरी प्रचण्डले आफ्नो विनाशको बाटो आफैँले खोज्नुभयो । यसपटक कांग्रेस-एमालेले प्रचण्डको धोकाधडीलाई स्थायी विराम लगाउने अस्थायी संकल्प गरेका छन् । प्रचण्डबाट पटक-पटक धोका पाउनुभएका डा. बाबुराम भट्टराईले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा एउटा सन्देश लेख्नुभयो, चर्चित भनाइ छ- ‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँभरी ठग्न सकिन्न, सन्दर्भ बुझौँ ।’
सत्ता लम्ब्याउन फेरि अर्को अड्को
तेस्रोपटक हालसम्म डेढ वर्ष सरकारको नेतृत्व गर्नुभएका प्रचण्डले चारपटक त विश्वासको मत लिनुभयो । एउटै प्रधानमन्त्रीले एउटै कार्यकालमा यति धेरैपटक विश्वासको मत लिएको सायद यो नै पहिलोपटक होला । आफू अप्ठ्यारोमा पर्ने अवस्था आउनेबित्तिकै समीकरण फेर्ने प्रधानमन्त्री प्रचण्डको शैलीले छोटो अवधिमै पटक-पटक विश्वासको मत लिनुपरेको थियो । उहाँले चौथोपटक १५७ सांसदको विश्वासको मत पाउनुभएको थियो । त्यो पनि एकदमै असहज वातावरणमा उहाँले विश्वासको मत लिनुभएको थियो । अस्थिर स्वभावका प्रचण्डले पहिलोपटक एमालेसहितको गठबन्धनबाट २०७९ पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डले पुस २६ गते विश्वासको मत लिनुभएको थियो । त्यतिबेला उहाँले विपक्षी कांग्रेसको समेत विश्वासको मत पाउनुभएको थियो । प्रतिनिधिसभा बैठकमा उपस्थित २७० मध्ये २६८ सांसद् अर्थात् ९९ प्रतिशत मत दिएका थिए ।
राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका दुई सांसदले मात्र विपक्षमा मतदान गरेका थिए । त्यसको दुई महिना नबित्दै प्रचण्ड एमालेसँगको समीकरण छोडेर कांग्रेससँग मिल्नुभयो । उहाँले चैत ६ गते दोस्रोपटक विश्वासको मत लिँदा १७२ सांसदको मात्र मत पाउनुभएको थियो । अर्थात् एमाले र राप्रपाका सांसदले विपक्षमा मत दिएका थिए । एक वर्ष नबित्दै नेपाली कांग्रेसले सहयोग नगरेको भन्दै प्रधानमन्त्रीले फेरि सत्ता समीकरण फेर्नुभयो । कांग्रेसलाई बाहिर राखेर एमालेसँग सहकार्य गर्न पुग्नुभएका उहाँले गत फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला पनि बैठकमा उपस्थित २६८ मध्ये १५७ सांसदको मात्र विश्वास प्राप्त गर्नुभएको थियो । चौथोपटक विश्वासको मत लिँदा त्यति नै समर्थन पाएको देखिए पनि संसद्मा देखिएको दृश्यले उहाँले राजनीतिक विश्वास भने गुमाउँदै गएको देखिएको थियो ।
अहिले फेरि केही दिन भए पनि सत्ता लम्ब्याउन फेरि विश्वासको मत लिने अडान लिनुभएको छ । संसद्का सबैभन्दा दुई ठूला दल मिलिसकेको अवस्थामा पनि उहाँलाई संसद् फेस गर्ने आहट चलेको छ । तर, साँच्चिकै अन्तिमसम्म आफ्नो अडानमा टिक्नुभयो भने उहाँले कति मत पाउनुहोला ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच