सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका-१, रतनपुरस्थित आफ्नै निवासमा आइतबार राति ८० वर्षीय रायको हत्या भएको हो । रगतले लतपतिएको अवस्थामा रायको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । धारिलो हतियार प्रहार गरी उहाँको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीनजना व्यक्ति रायलाई भेट्न राति आएकोमा उहाँसँगै सुतेका थिए । घरकै छेउको बाँसघारीबाट पूर्वमन्त्री रायमाथि प्रहार भएको उखु काट्ने घरेलु हतियार बरामद भएको छ । मन्त्री रायकै घरमा रहेको हतियारबाट उहाँको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले सोधपुछका लागि उहाँकै घरमा काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । रायको घरमा काम गर्ने कबिलासी नगरपालिका-३ का २१ वर्षीय युवकलाई प्रहरीले पक्राउ गेको हो । उनको बयानअनुसार घरमा आएका तीन जनाले जग्गासम्बन्धी विवादको कुरा गरेका थिए । तर, उनीहरूबीच कुरा भइरहँदा आफू सुत्न गएको र पछि शौचालय जाँदा रायको शव फेला पारेको प्रहरीलाई बयान दिएका छन् । सोधपुछका लागि मात्रै उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्री कालमा भूमिसुधार राज्यमन्त्री बन्नुभएको थियो । उहाँ राप्रपाको गत महाधिवेशनमा उपाध्यक्ष उम्मेदवारसमेत हुनुहुन्थ्यो । राय २०५६ सालमा भएको आम निर्वाचनमा सर्लाही-३ बाट निर्वाचित हुनुभएको थियो । उहाँ नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई हराउँदै राप्रपाबाट निर्वाचित हुनुभएको थियो ।
मृतक राय तीन दाजुमध्ये माहिलो हुनुहुन्थ्यो । उहाँको एक श्रीमती, दुई छोरा तथा पाँच छोरी छन् । उहाँका भाइ नागेन्द्रप्रसाद राय सिरहाकै मलंगवा नगरपालिकाको प्रमुख हुनुहुन्छ ।
मधेशमा प्रतिष्ठित व्यक्तिको हत्या भएको यो पहिलो घटना होइन । गत असारमा मात्रै कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको थियो । आदर्श कोतवाल गाउँपालिका-२ खजुरियागाउँ घर भएर सदरमुकाम कलैयामा डेरामा बस्दै आउनुभएका ४८ वर्षीय कुशवाहको असार १ गते गोली हानी हत्या गरिएको थियो । मोटरसाइकलमा फर्किरहेका उहाँमाथि बतरा र भटिनिया गाउँबीचको सडकमा अज्ञात समूहले गोली प्रहार गरेको थियो । घटनास्थल कलैयाबाट २० किमी पूर्वमा पर्छ । प्रहरीका अनुसार बाइकमा आएको अज्ञात समूहले हानेको गोली उहाँको पिठ्युँमा लागेको थियो । आठ वर्षदेखि क्याम्पस प्रमुखको जिम्मेवारीमा रहनुभएका कुशवाह जग्गा विवादको कारणले कुशवाहाको हत्या भएको प्रहरीको निष्कर्ष छ । उहाँको हत्यामा संलग्न रहेको अभियोगमा केहीलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको छ । तर, मुख्य अभियुक्त भने फरार रहेको स्थानीयको भनाइ छ ।
१७ वैशाखको बिहान सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड पर्शुराम फुँयालको हत्या भएको थियो । बैंक लुट्ने लुटेराको समूहले बिहानै उहाँको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको थियो । लुटेराले बैंक लुट्ने उद्देश्यले नै सुरक्षागार्ड फुँयालको हत्या भएको प्रहरीको निष्कर्ष छ । त्यसअघि २६ चैत मध्याहृन १२ बजेतिर जनकपुरधामको विश्वकर्मा चोकस्थित व्यस्त सडकमा छुरा प्रहार गरी २० वर्षीय प्रिन्स महासेठको हत्या भएको थियो ।
यसअघि गत कात्तिक १३ मा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश सर्राफको पनि गोली प्रहार गरी हत्या गरिएको थियो । त्यतिबेला मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्ति तीन राउण्ड गोली हानेर फरार भएका थिए । माथिका यी तीन घटना केही उदाहरण मात्र हुन् । पछिल्लो समय मधेश प्रदेशमा हत्या घटनाको ग्राफ उकालो लाग्दो छ । समान्य विवाददेखि योजनाबद्ध रूपमा समेत हत्या घटना भइरहेको छ ।
मधेशमा शृंखलाबद्ध जघन्य अपराधका घटना हुने क्रम बढेको छ । बढ्दो अपराधको कारण मान्छे असुरक्षित महसुस गर्न थालेका छन् । चोरी लुटपाटका घटनाहरू रोकिएका छैनन् । तराई-मधेशमा हत्या, हिंसा र अपहरणका घटना दिनदिनै बढिरहेको जनमत पार्टीका सांसद अब्दुल खान बताउनुहुन्छ । हत्या, आतंक र लुटपाटका घटनाको त्रासमा रहेका जनतालाई शान्ति सुरक्षाको वातावरण बनाउन उहाँले माग गर्नुभयो । ‘तराई–मधेशका जनता डर र त्रासको वातावरणमा छन् । शान्ति सुरक्षाको वातावरण खस्किएको छ,’ उहाँले प्रतिनिधिसभा बैठकमै भन्नुभएको थियो, ‘लुटपाटका घटना बढिरहेको र पीडित पक्षले जाहेरी बुझाउन जाँदा प्रहरी प्रशासनले जाहेरी नलिएको गुनासो आइरहेको छ ।’
बर्सेनि बढ्दै जघन्य अपराधको ग्राफ
मधेश प्रदेशमा बर्सेनि हत्याजस्तो जघन्य अपराध तथा लुटपाटको ग्राफ बढ्दो छ । मधेशमा गत आर्थिक आर्थिक वर्षको जेठ मसान्तसम्म मात्रै १०२ जनाको हत्या भएको नेपाल प्रहरीकै तथ्यांक छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हत्या गरिएकामा ५१ जना पुरुष, ३९ जना महिला, सातजना बालिका र पाँचजना बालक छन् । गत वर्ष सबैभन्दा बढी सिरहा र सप्तरीमा १६-१६ जनाको हत्या भएको छ । सबैभन्दा कम महोत्तरी र सर्लाहीमा आठ/आठ जनाको हत्या भएको हो । सिरहामा त वैशाख महिनामा मात्रै पाँच जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । यस्तै, धनुषामा १५ जना, रौतहटमा १४ जना, बारामा १३ जना, पर्सामा १२ जनाको हत्या भएको छ । हत्याका प्रायः घटना जग्गाजमिन र आर्थिक लेनदेनको विवादले आवेशमा आएर बढी प्रहरीको भनाइ छ । मधेशमा अपराध बढ्नुमा अर्को कारण भारतसँगको खुल्ला सीमा पनि हो । मधेशमा जनचेतना अभावले हत्या घटना बढ्ने गरेको प्रहरीको बुझाइ छ ।
देशभर अपराधका घटना वृद्धि
उसो त मधेशमा मात्रै होइन देशभर अपराधका घटनामा वृद्धि हुँदै गइरहेको प्रहरीकै तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो चार आर्थिक वर्षको तथ्यांकले अपराधको संख्या बर्सेनि बढ्दै गएको पुष्टि गर्छ । आर्थिक वर्ष २०७७/७८ मा देशभर विभिन्न प्रकृतिका ४० हजार १२० आपराधिक घटनाको मुद्दा दर्ता भएकामा गत आव २०८०/८१ सम्म आइपुग्दा त्यो संख्या बढेर ५९ हजार २०३ पुगेको छ । आव २०७८/७९ मा ४६ हजार ९०२ र आव २०७९/८० मा ५६ हजार ३२३ मुद्दा प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आवको तुलनामा गत आवमा पाँच दशमलव ११ प्रतिशतले मुद्दा दर्ता वृद्धि भएको प्रहरीको तथ्यांक छ । गत वर्ष सबैभन्दा बढी काठमाडौं उपत्यकामा १७ हजार ४५ मद्दा दर्ता भएको प्रहरीले जनाएको छ । पछिल्लो समय सबैभन्दा धेरै आर्थिक अपराध देखिएको छ । चेक अनादरको मुद्दा बढी मात्रामा दर्ता भएका छन् ।
यसमा पनि मधेशमा नौ हजार ६२०, कोशीमा नौ हजार ३७८, लुम्बिनीमा सात हजार ६४४, बागमतीमा पाँच हजार १९७, गण्डकीमा चार हजार ६९८, सुदूरपश्चिममा तीन हजार ६०१ र कर्णालीमा दुई हजार २० वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन् ।
अपराधको स्वरूप बदलिएको छ : डिआइजी कार्की
भूमण्डलीकरणले ल्याएको परिवर्तन, प्रविधि विकास तथा आर्थिक गतिविधि अत्यन्त चलायमान भएका कारण परम्परागत प्रकृतिका अपराधका तुलनामा आर्थिक र साइबर अपराधका घटना बढेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीले बताउनुभयो । गाउँभन्दा शहरमा आर्थिक अपराध बढरिहेको उहाँले बताउनुभयो । ‘परम्परागत प्रकृतिका अपराध खासै बढेका छैनन्, विगतमा आर्थिक कारणले अन्य अपराध हुन्थे, अहिले त्यसको स्वरूप बदलिएको छ, आर्थिक नै अपराधका रूपमा वृद्धि भएका छन्,’ प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘आर्थिक अपराध गाउँमा छैनन्, जहाँ आर्थिक गतिविधि बढी हुन्छन्, त्यहाँ आर्थिक अपराधका मुद्दा बढी दर्ता भएका छन् ।’
हत्यामा संलग्नलाई कडा कारबाही गर्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सोमबार विज्ञप्ति निकालेर घटनाको सत्यतथ्य जाँचबुझ गर्न र घटनामा संलग्नको खोजी गर्दै कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो । रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य, तराई-मधेश क्षेत्रको लोकप्रिय नेता गुमाएको पनि विज्ञप्तिमा उल्लेख छ । राप्रपाले घटना निन्दनीय रहेको जनाउँदै भत्र्सना पनि गरेको छ । राय हत्या प्रकरणको विषय प्रतिनिधि सभामा समेत उठेको छ । राप्रपाकी सांसद रोशन कार्कीले पूर्वराज्यमन्त्री रायको हत्याको विषयमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउनुभयो । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले तराईका जिल्लाहरूमा आपराधिक घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘रामचन्द्र रायको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । हाम्रो पार्टीको केन्द्रीय सदस्य पनि हुुनुहुन्छ । मधेशमा आपराधिक घटना बढ्दै गएका छन् । यसमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच