काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत् भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५.७८ प्रतिशत भइरहेको विद्युत् चुहावट सो अवधिमा आधा घटाएर गत आर्थिक वर्ष २०८०/८१ मा १२.७३ प्रतिशतमा सीमित गरेको हो । प्राधिकरणका अनुसार विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ ३.३३ प्रतिशत र वितरणतर्फ ९.४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५.७८ प्रतिशत चुहावटमध्ये १९.८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो ।
आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५.७८ प्रतिशत भइरहेको विद्युत् चुहावट पछिल्ला वर्षहरूमा आधा घटेर गत आर्थिक वर्ष २०८०/८१ सम्ममा १२.७३ प्रतिशतमा झरेको हो ।
विद्युत् चुहावटलाई आर्थिक वर्ष २०७३/७४ मा २२.९० प्रतिशत, २०७४÷७५ मा २०.४५ प्रतिशत, २०७५/७६ मा १५.३२ प्रतिशत, २०७६/७७ मा १५.२७ प्रतिशतमा झरेको थियो । । आर्थिक वर्ष २०७७/७८ मा भने चुहावट बढेर १७.१८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावट आर्थिक वर्ष २०७८/७९ मा १५.३८ र आर्थिक वर्ष २०७९/८० मा १३.४६ प्रतिशतमा झरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदम थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा ठूलो सफलता हासिल भएको बताउनुभयो । उहाँले लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रणालीमा विद्युत् चुहावट हुँदा प्रत्यक्ष रूपमा अर्बौंको आम्दानी गुमिरहेको थियो, प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रूपमा घटी यो अनुपात छिमेकी देशहरूभन्दा कम भएको छ । चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, गुमिरहेको रकम उठाउन सफलता मिल्दा यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको नाफामा देखिएको छ, नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेका छौँ, अब चुहावट एकल अंकमा झार्ने लक्ष्य राखी काम अघि बढाइरहेका छौँ ।’
प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसपछि निरन्तर नाफामा रहेको प्राधिकरणको नाफा गत आर्थिक वर्ष १३ अर्ब ३१ करोड रुपैयाँ (अन्तिम लेखापरीक्षण हुन बाँकी) पुगेको छ । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आर्थिक वर्ष ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।
ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन सञ्चालन, सबस्टेसन क्षमता वृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रिफेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमले चुहावट नियन्त्रण भएको प्राधिकरणले जनाएको छ । घिसिङले वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको बताउनुभयो । प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहक पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा सञ्चालन गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच