कैलाली । कैलालीमा बुधबार देखिको लगातार वर्षाका कारण आएको बाढीले जनजीवन कष्टकर हुँदै गएको छ । जिल्लाका नदीहरूमा पानीको बहाव लगातार बढ्दै गएपछि डुबान प्रभावित क्षेत्रको जनजीवन झन् कष्टकर बन्दै गएको हो । कैलालीमा बाढी डुबानका कारण एक हजार बढी परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । कैलालीको कैलारी गाउँपालिकाका ७०, भजनी नगरपालिकाका ९५०, गौरीगंगा नगरपालिका १० र घोडाघोडी नगरपालिका २० गरी एक हजार ५० भन्दा बढी घरहरूको डुबान भएको प्रशासनले जनाएको छ ।
कैलालीका विभिन्न स्थान भएर बग्ने मोहना, कटैनी, पथरैया, कान्द्रा, घुरहा लगायतका नदीमा आएको बाढीले घरहरू डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । डुबानको जोखिम अझै रहेकाले सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कायालयले सूचना जारी गरेको र नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको जोशीको भनाइ छ ।
जिल्लाको भजनी नगरपालिकाका डुबान प्रभावित स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ । बुधबारबाट हुलाकी सडकमा बस्दै आएका उनीहरूले सरकारले पीडितलाई फर्केर पनि नहेरेको गुनासो गरेका छन् । उनीहरूले चिउरा चामल राहत भन्दा पनि बर्सेनी हुने बाढीको डुवान रोकथाम गरिदिन आग्रह गरेका छन् ।
पूर्वपश्चिम हुलाकी राजमार्गको कैलारी सडक खण्ड बस्तीको भू-भागभन्दा अग्लो निर्माण गरिएको कारण पानी थुनिएर आसपासको बस्ती डुबानमा परेको स्थानीयवासीले बताएका छन् । ‘पानीको निकास हुन पाउने गरी हुलाकी सडक निर्माण गर्नुपर्नेमा त्यसो नगरिएकाले आफूहरूले बर्सेनि डुबानको समस्या झेल्नु परेको छ’, स्थानीय अविनाश चौधरीले भन्नुभयो, ‘पानीको निकास गरेर मात्र विकास गर्नुप¥यो ।’
कैलारी गाउँपालिकाकै कुलराज चौधरीले हुलाकी सडक निर्माण गर्दा पानी निकासको उचित व्यवस्था नगरी निर्माण गरिएकाले समस्या भएको बताउनुभयो । उहाँले सरकारले ठाउँठाउँमा कल्भर्टको व्यवस्था गरेर पानीको निकास गर्नुपर्ने बताउनुभयो ।
कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले डुबानबाट प्रभावित हुनेहरूको वडाका जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, प्रहरी लगायतको टोली उद्धार राहतमा जुटिरहेको बताउनुभयो । उहाँले गाउँपालिकामा उपलब्ध साधन स्रोतका आधारमा डुबान, कटानको समस्या समाधान गर्न नसकिने भएकाले संघ र प्रदेश सरकारले नदी तटबन्धजस्ता ठूला योजना ल्याउन जरुरी भइसकेको बताउनुभयो ।
मोहनाका सहायक नदीसहित कुलरिया, कान्द्रा, घुरहा नदीमा आकस्मिक बाढी र होचो भू-भागमा थप डुबानको जोखिम रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग कार्यालयले उच्च सतर्कता अपनाउन सचेत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच