चितवन । चितवनको राप्ती नगरपालिकामा रहेको जनआर्दश बहुमुखी क्याम्पसको स्वामित्व स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । आर्थिक संकटका कारण सञ्चालक मितिले चलाउन नसकेपछि स्थानीय सरकारलाई हस्तान्तरण गरिएको हो ।
विहीबार नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रमका बीच क्याम्पस सञ्चालन समितिका अध्यक्ष गोविन्दप्रसाद कँडेलले मेयर शमशेर लामालाई सञ्चालन स्वामित्व हस्तान्तरण गर्नुभएको छ ।
नगरस्तरीय राजनीतिक दल र जनप्रतिनिधिहरुको रोहबरमा अब स्थानीय सरकारले क्याम्पस सञ्चालन गर्ने गरी सम्पूर्ण स्वामित्व नगरपालिकालाई हस्तान्तरण गरिएको क्याम्पस प्रमुख खिमानन्द अर्यालले बताउनुभयो । जनस्तरबाट सञ्चालित क्याम्पसले बार्षिक रुपमा सञ्चालन घाटा बेहोर्न बाध्य भएपछि क्याम्पसको अस्थित्व जोगाउन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको हो ।
५५० जना विद्यार्थी रहेको सो क्याम्पसमा कक्षा ११ र १२ सहित स्नातक तहमा वीवीएस र विएड तथा स्नाकोत्तर तहमा एमवीएस सम्म पढाई हुने गरेको छ । आम्दानी भन्दा खर्च बढी हुँदा सो क्याम्पस सञ्चालन गर्दा बार्षिक करिब ६० लाख घाटा हुँदै आएको छ । कोरोनाकालपछि क्याम्पसको अबस्था खस्किदै गएको भन्दै क्याम्पस प्रमुख अर्यालले कक्षा ११ र १२ पास भएपछि उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीहरु विदेश जाने प्रचलनले विद्यार्थीको संख्या घट्दै गएको बताउनुभयो ।
कक्षा ११ र १२ पास भएर विदेश गएका विद्यार्थीहरुले क्याम्पसलाई बुझाउनु पर्ने पैसा नतिरेका कारण पनि क्याम्पस घाटामा गएको हो ।
दुई करोड भन्दा बढी रकम विद्यार्थीबाट उठाउन बाँकी रहेको जानकारी दिँदै प्रमुख अर्यालले आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरु पढ्ने क्याम्पस भएका कारण पैसा उठाउन समस्या भएको बताउनुभयो ।
क्याम्पसमा २४ जना प्रध्यापक र ५ जना कर्मचारी कार्यरत छन् । क्याम्पस सञ्चालनको लागि बार्षिक दुई करोड ६० लाख खर्च हुँदा आम्दानी भने दुई करोडको हाराहारीमा रहेको छ । २०५० सालमा स्थापना भएको सो क्याम्पस चितवनको पुरानो सामुदायिक क्याम्पस मध्येको शैक्षिक संस्था हो । राप्तीको बुद्धशान्ति बहुमुखी क्याम्पस बन्द भएको लामो समय भइसक्यो । नगरपालिकामा एउटा सामुदायिक क्याम्पस हुनु अनिवार्य सर्त हो ।
बुद्धशान्ति बन्द हुनु र नगरभित्र रहेको अर्को सामुदायिक क्याम्पस आर्थिक संकटमा पर्नुले चिन्ता थपिएको भन्दै स्वामित्व ग्रहण गरेर सञ्चालन गर्न राजनीतिक दलहरुले स्थानीय सरकारलाई आग्रह गरेका छन् । क्याम्पस सञ्चालन समितिका अध्यक्ष कँडेलले क्याम्पस विगारेर स्थानीय सरकारलाई हस्तान्तरण गरेको नभइ अस्तित्व जोगाउने प्रयास गरिएको बताउनुभयो । क्याम्पस चलाउन नसकेर हस्तान्तरण गरेका होइनौं उहाँले भन्नुभयो आर्थिक संकट पैदा भयो, स्थानीय सरकारले सञ्चालन गर्दा दीर्घकालिन हुने भएकाले हस्तान्तरण गरेका हौं । क्याम्पस आर्थिक संकटमा परेपछि निकास निकाल्न क्याम्पस स्तरबाट सञ्चालक समितिका उपाध्यक्ष राजेन्द्र प्रसाद बुर्लाकोटी संयोजक रहेको कार्यदल र नगरपालिकाले नगर शिक्षा अधिकारी नविना देउजा संयोजक रहेको कार्यदल बनाएको थियो ।
दुई वटै कार्यदलको बैठक बसेर क्याम्पस सञ्चालनबारे निर्णय लिने भनिएको भएपछि लामो समय सम्म दुई वटा कार्यदल एकठाउँमा उभिन सकेनन् । क्याम्पसलाई आर्थिक रुपले थप धरासायी हुनबाट जोगाउन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको सञ्चालक समितिका अध्यक्ष कँडेलले बताउनुभयो । स्वामित्व हस्तान्तरण कार्यक्रममा मेयर लामाले क्याम्पस सञ्चालन गर्ने जिम्मेवारी पाउनु अबसरको विषय भएको भन्दै कार्यविधि बनाएर नगरसभाले पास गरेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा उपमेयर देबेन्द्र लामाले नगरपालिकाले क्याम्पसको स्वामित्व ग्रहण गर्ने र व्यवस्थित रुपमा सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष पूर्णबहादुर थापा, नेपाली काँग्रेसका नेता राजेन्द्र बुर्लाकोटी, माओवादी केन्द्रका नगर अध्यक्ष रामचन्द्र पाठक, नेकपा एसका नगर अध्यक्ष आरके पण्डितले क्याम्पसको स्वामित्व ग्रहण गरी सञ्चालन गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच