काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को विवाद उत्कर्षमा पुगेको छ । पहिलो महाधिवेशनपछि एकताबद्ध हुनुपर्नेमा एकीकृत समाजवादी भित्रको विवाद झन् बल्झिँदै गएको हो । मनोनीत केन्द्रीय सदस्यले निर्वाचनमार्फत पदाधिकारी र पोलिट्ब्युरो सदस्य चुनेपछि पार्टीको एउटा समूह निकै असन्तुष्ट बनेको छ । पदाधिकारीमा रामकुमारी झाँक्रीसहितका नेतालाई नियोजित रूपमा हराएपछि उनीहरू नयाँ विकल्पको खोजीमा लागेका हुन् । उपाध्यक्षमा चुनाव लड्नुभएकी झाँक्री जयन्ती राईसँग पराजित हुनुभएको थियो ।
दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल निर्विरोध चयन भए पनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि निर्वाचन गरिएको थियो । सुरुमा अध्यक्षको तजबिजमा आफूअनुकूल केन्द्रीय सदस्य मनोनयन गरेर उनीहरूमार्फत् आफूअनुकूल पदाधिकारी निर्वाचित गरेपछि पार्टीभित्र असन्तुष्टि चर्केको हो । पदाधिकारी चयनका लागि भएको चुनावमा पनि अध्यक्षले नै आफू निकटलाई मात्रै भोट हाल्न केन्द्रीय सदस्यहरूलाई निर्देशनात्मक चिट बाँडिएको थियो ।
निर्वाचनमा झाँक्रीलाई मतदान नगर्न भन्दै अध्यक्ष माधव नेपालकै टिमले पर्चा बाँडेको थियो । झाँक्री सहितका पराजित नेताहरूले अध्यक्ष नेपालकै योजनामा आफूहरूलाई पाखा लगाइएको आरोप लगाउँदै आएका छन् । मनोनीत केन्द्रीय सदस्यले गरेको निर्वाचन खारेज गर्नुपर्ने उनीहरूको माग छ । झाँक्रीले केही सञ्चार माध्यममा दिनुभएको अन्तर्वार्तामै अब आफूहरूले बाटो बदल्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।
स्रोतका अनुसार उनीहरू माउ पार्टी नेकपा (एमाले)मै फर्किने तयारीमा छन् । तर, यसबारे कुनै ठोस निर्णय भने भइनसकेको नेताहरू बताउँछन् । महाधिवेशनअघि पनि नेकपा (माओवादी केन्द्र)सँग मिल्नुभन्दा एमालेमै फर्किनुपर्ने आवाज उठाएकै कारण छानीछानी नेताहरूलाई हराएको उनीहरूको बुझाइ छ । झाँक्रीसहित पुनः एमालेसँग एकता गर्नुपर्ने मत राख्ने नेताहरू निर्वाचनमा पराजित भएका थिए ।
अब के गर्ने ? भन्ने विषयमा उनीहरूले आन्तरिक छलफल गरिरहेका छन् । झाँक्रीसहित एकीकृत समाजवादीमा नेता किसान श्रेष्ठ, प्रेम आलेलगायत नेताहरू असन्तुष्ट छन् ।
उनीहरू सबै तत्कालीन एमाले विभाजन हुँदा अग्र मोर्चामा रहेर अध्यक्ष नेपाललाई साथ दिएका नेताहरू हुन् । अहिले उनीहरू नै नयाँ बाटो खोजिरहेका छन् । एमाले विभाजन हुँदा झाँक्रीले नै नेपालको हात समातेर निर्वाचन आयोग पुग्नुभएको थियो । एमाले विभाजन गर्न अध्यक्ष नेपालको हात समातेकाहरू नै अन्ततः उहाँको साथ छाड्ने अवस्थामा पुगेका हुन् ।
विभाजनको संघारमा एकीकृत समाजवादी
चर्को असन्तुष्टि सम्बोधन हुने छाटकाँट नदेखिएपछि एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको छ । पार्टीका बहुसंख्यक सांसद र केन्द्रीय सदस्य पार्टीबाट विद्रोह गर्ने तयारीमा छन् । पार्टीको अभिभावक बन्नुपर्ने अध्यक्ष नेपालले नै साथ छाडेको भन्दै असन्तुष्ट नेताहरू एमालेमै फर्किने तयारीमा लागेका हुन् । अध्यक्ष नेपालले पदाधिकारीमा पराजित गराइएका नेताहरू एमालेमा फर्कन प्रयासरत रहेको आरोप लगाउने गरेका छन् ।
विभिन्न परिस्थितिमा एमाले छाडेकाहरूमध्ये केही पहिल्यै एमालेमा फर्किसकेका छन् भने अरू केही नेता त्यही पुरानो घर फर्कन चाहिरहेका छन् । निर्वाचनमा पराजित केही चर्चित अनुहारहरू एमालेसँग नजिकिएका छन् । महिला उपाध्यक्षमा पराजित झाँक्री विगतदेखि एमालेसँग निकै नरम देखिँदै आउनुभएको थियो । केही दिनअघि मात्रै पनि सामाजिक सञ्जालमा झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा स्टाटस लेख्नुभएको थियो । सांसदसमेत रहनुभएका एकीकृत समाजवादीका नेता प्रेम आले अहिले पार्टीको केन्द्रीय कमिटीमा समेत हुनुहुन्न । उहाँ पनि एमालेमै फर्किने तयारीमा रहनुभएको नेताहरूको बुझाइ छ । विगतमा पार्टी छाडेर अहिले फर्कन चाहनेहरूलाई एमालेले भने खासै भाउ दिएको छैन । आफैँ आएको खण्डमा स्वागत गर्न तयार रहे पनि पार्टीमा भित्र्याउन धेरै पहल नगर्ने एमालेको रणनीति छ । एकीकृत समाजवादीका नेताहरू एमालेमै फर्किन खोज्नु भने सकारात्मक रहेको एमाले नेताहरू बताउँछन् ।
असन्तुष्टि सम्बोधन नभए जे पनि हुनसक्छ : किसान श्रेष्ठ
एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले यो मतदान प्रक्रियाबाट भएको पदाधिकारीको निर्वाचन खारेज गरेर सबैलाई चित्तबुझ्दो मापदण्डबाट पुनः पदाधिकारी चयन गर्नुपर्ने बताउनुभयो । नयाँ मापदण्डअनुसार फेरि पदाधिकारीको चयन भयो भने मात्रै पार्टीमा सक्रिय रहने भन्दै अन्यथा पार्टीमा सक्रिय रहन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । ‘नयाँ मापदण्डअनुसार फेरि पदाधिकारीको चयन भयो भने म पार्टीमा सक्रिय रहन्छु अन्यथा पार्टीमा सक्रिय रहन सक्दिनँ,’ उहाँले भन्नुभयो ।
आफूहरूको असन्तुष्टि सम्बोधन नभए जे पनि हुनसक्ने उहाँले बताउनुभयो । ‘अहिलेसम्म इमानदार भएर काम गरेको छु । पार्टीको हृवीप र निर्देशन मानिरहेको छु,’ उहाँले भन्नुभयो, ‘तर मुख्य कुरा असन्तुष्टिलाई कसरी सम्बोधन गर्छ त्यसमा भर पर्छ । नभए जे पनि हुनसक्छ ।’
रावल र गौतमलाई भित्र्याउने प्रयासमा नेपाल
एकीकृत समाजवादीले नेकपा एमालेका नेता भीम रावल र नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमलाई पार्टीमा भित्र्याउन छलफल थालेको छ । आफ्नै नेता–कार्यकर्ता एमालेमा जाने चर्चाबीच एकीकृत समाजवादीले रावल र गौतमलाई पार्टीमा भित्र्याउन पहल थालेको हो । दुवै नेतासँग अध्यक्ष नेपालसहित शीर्ष नेताहरूले पटक-पटक भेटेर वार्ता गरिसकेका छन् । अध्यक्ष नेपालसँगको भेटमा वामदेवले आफूलाई वरिष्ठ उपाध्यक्ष दिए प्रवेश गर्न तयार रहेको बताउनुभएको थियो । तर, अहिले पार्टीको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भइसक्नु भएको छ ।
गौतम एमालेमा फर्किन पनि तयार हुनुहुन्छ । तर, एमालेले भाउ नदिएपछि उहाँ दोधारमै हुनुहुन्छ । तत्कालीन नेकपा भित्रको विवादपछि गौतमले उपाध्यक्ष पदबाट राजीनामा दिएर एकता अभियान चलाउनुभएको थियो । तर, उहाँको अभियान भने सफल हुन सकेन । आफैँसँग भएका नेता–कार्यकर्तासमेत जोगाउन नसकेपछि उहाँ आफैँ सहाराको खोजीमा हुनुहुन्छ । एमालेको दशौँ महाधिवेशनमा ओलीसँग भिड्नुभएका रावल एमालेमा भूमिकाविहीन हुनुहुन्छ । उहाँ एमालेमै रहे पनि पार्टीले कुनै जिम्मेवारी दिएको छैन । एकता अभियानको नाममा गौतमले खडा गरेको संगठन र नेता रावलको सुदूरपश्चिममा बलियो पकड रहेकाले अध्यक्ष नेपालले पनि प्रयास जारी राख्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच