संस्कृति : जगेर्नाको कसीमा ‘मत्स्यनारायण’

Read Time = 13 mins

✍️ निर्मलकुमार आचार्य

मत्स्यनारायण मेला भर्न पुग्नेको रौनक बेग्लै छ । हरेक पुरुषोत्तम मास वा मलमासमा महिनाभरि मच्छेगाउँमा मेला लाग्ने गर्छ । यसपालि २०८० साउन २ गते प्रारम्भ भई महिनाभरि चल्ने मत्स्यनारायण मेला (पुरुषोत्तममास मेला) मा सहभागी हुन काठमाडौंभित्र तथा बाहिरबाट भक्तजन ओइरिरहेका छन् । चन्द्रागिरि नगरपालिकाको नौ नम्बर वडामा पर्ने मच्छेगाउँस्थित मच्छेनारायण मन्दिर कीर्तिपुर नजिकै छ । कतिपय भक्तजन कलंकी–सतुंगल हुँदै पनि त्यहाँ पुग्ने गर्छन् । निकै अघिदेखि लाग्दै आएको मच्छेनारायण–मेलाको इतिहास पत्तो पाउन नसकिए पनि यसको सम्बन्ध पौराणिक कालसँग रहेको सहजै आकलन गर्नसकिन्छ ।

मत्स्यनारायण
मत्स्यनारायण तथा मत्स्यग्राम शब्द अपभ्रंश भई मच्छेनारायण तथा मच्छेगाउँ हुनपुगेको हो । मत्स्यनारायण (मच्छेनारायण) को मन्दिर भएको ठाउँ हुनाले मत्स्यग्राम (मच्छेगाउँ) नाम पर्नु अस्वाभाविक होइन ।

यही थलोमा भगवान् विष्णुले मत्स्यनारायणको अवतार लिएको जनकथन छ । पुराण अनुसार भगवान् विष्णुका दश अवतारमध्ये मत्स्य अवतार एक हो । मत्स्य अवतार लिएर भगवान् विष्णुले दुई प्रमुख उद्देश्य पूरा गरे । ब्रहृमाजीसँग रहेको वेद चोरी समुद्रमा लुकाएको हयग्रीव दानवलाई बध गरी वेदको उद्धार भएको एक कथा रहेको छ भने अर्को जलप्रलयसित सम्बद्ध छ । यससम्बन्धी छोटो कथा यसप्रकार छ : सत्ययुगको कुरो हो । सत्यव्रत (वैवस्वत मनु) नामका एक राजर्षि थिए ।

एक दिन नदीमा स्नानादि गर्दा उनको हातमा सुनौलो माछा आउँछ । ‘यहाँ ठूला माछाले मलाई छाड्ने छैनन्, रक्षा गर्नू !’ भनिएपछि राजर्षि कमण्डलुमा राखी दरबार लान्छन्, बाटैमा ठूलो हुँदै गएको माछालाई एउटा भाँडोमा राख्छन्, त्यहाँ पनि ठूलो हुँदै गएपछि कुण्ड बनाई राख्छन् । अनि उनलाई यो सामान्य माछा नभएको ज्ञान हुन्छ । अनि, भगवान् विष्णु उनलाई आफ्नो परिचय दिई वेद चोर्ने हयग्रीव दानवको बधको कुरो बताई सात दिनपछि जलप्रलय हुने र त्यसबखत सारा सृष्टिक्रम जोगाउन एउटा डुंगा तयार पार्न अह्राउँछन् । अनि, मत्स्यावतारले भने झैं सबैतिर पानी नै पानी भएपछि जडिबुटी, बिउविजन, सप्तर्षि, प्राणीको सूक्ष्म देह आदि राखी सत्यव्रतले डोरीरूपी सर्पद्वारा डुंगालाई मत्स्यनारायणको सिंगमा बाँधिदिन्छन् र अन्ततोगत्वा सबैको सुरक्षा हुनपुग्छ ।

वेदको रक्षा र सृष्टिबीजको संरक्षणका लागि भगवान् विष्णुको मत्स्य अवतार यही थलोमा भएको जनविश्वास छ । ऐतिहासिक कालदेखि यस क्षेत्रको महिमा रहनुले पनि जनाधार निराधार नरहेको पुष्टि हुन्छ । गोपालवंशको राज्यकालमा यहाँ कुवाको अस्तित्व देखिएको र मन्दिरको निर्माण कार्य चाहिँ लिच्छविकालमा भएको ऐतिहासिक तथ्यले देखाएको छ ।

वेदको रक्षा र सृष्टिबीजको संरक्षणका लागि भगवान् विष्णुको मत्स्य अवतार यही थलोमा भएको जनविश्वास छ । ऐतिहासिक कालदेखि यस क्षेत्रको महिमा रहनुले पनि जनाधार निराधार नरहेको पुष्टि हुन्छ । गोपालवंशको राज्यकालमा यहाँ कुवाको अस्तित्व देखिएको र मन्दिरको निर्माण कार्य चाहिं लिच्छविकालमा भएको ऐतिहासिक तथ्यले पनि परापूर्वकालदेखि यो थलो पुण्यस्थल रहेको प्रमाणित हुन्छ । यहाँ सुवर्णकुण्ड (जहाँ मन्दिर छ), मच्छेकुण्ड (मन्दिरसामु) र नागकुण्ड (मन्दिरपछाडि) रहेका छन् । कुण्डमा माछा तैरिरहेका दृश्यले जोकोहीको मन आकर्षित गर्दछन् ।

लोककथामा मच्छेकुण्ड
मच्छेकुण्डसँग सम्बन्धित एउटा छोटो लोककथा पनि रहेको छ । उतिबेला मत्स्यग्रामका मच्छेनारायण र फर्पिङका शेषनारायणलाई पानीको अभाव भएपछि चन्द्रागिरि गई चम्पादेवी गुहारेछन् । यसका निम्ति सर्त राख्दै चम्पादेवीले पहेंलो फूल ल्याउनेलाई पानी दिने वचन दिन्छिन् । भोलिपल्ट सबेरै फूल लिई शेषनारायण पुगेर पानी पाउने हकदार हुन्छन्, मच्छेनारायण फूल लिएर पुग्दा ढिलो भइसकेकाले दुःखी हुनपुग्छन् । देवीको मनमा दया जाग्छ र दुवैलाई ६/६ महिना पानीको व्यवस्था मिलाइदिन्छिन् ।

शिलालेखको दुर्गति
मत्स्यावतारको विग्रह (मूर्ति) आफैमा अद्वितीय रहेको छ भने मनोरम स्थलमा कुण्डसहित मन्दिरको शोभा विलक्षण रहेको छ । ऐतिहासिक कामकुरोको जगेर्नातर्फ भने यहाँ उदासीन अवस्था देखिन्छ । नत्र लिच्छविकालीन शिलालेखले यहाँ घोर उपेक्षापूर्ण ढंगबाट अलपत्रिनुपर्ने थिएन । यस्ता विषयमा पुरातात्विक निकायको ध्यान नपर्नु पनि आफैमा दुःखद् विषय बनेको छ । ऐतिहासिक सामग्री लोप हुँदै गए भने केका आधारमा इतिहास कोट्याउने ? कतिपय शिलालेख कुण्डतटमा नरहेका होइनन् तर एउटा ठूलो महत्वपूर्ण शिलालेख झारपातमुन्तिर माटो खान विवश रहनुलाई के सम्झनु ! ‘माल भएरमात्रै हुँदैन, चाल पनि हुनुपर्दछ’ भन्ने हेक्का हामीलाई कहिले हुने हो ? सरोकारी सबैका घैंटामा अविलम्ब घाम लाग्नैपर्छ ।

कुरो शिलालेखको मात्र होइन, हामी अन्य मुलुकका मठ, मन्दिर, गुम्बा आदिका उदाहरण दिएर त्यहाँका आयस्ता र दानदातव्यबाटै विद्यालय, चिकित्सालय आदि सञ्चालनमा रहेको बखान्छौं तर हामी आफैकहाँ भएका मठ, मन्दिर आदिको बेहालतप्रति चाहिँ चासोसमेत लिँदैनौं । चासो नलिएपछि ‘टन्टै खलाँस्’ सम्झने प्रवृत्ति रहेको छ, यस्तो दुरवस्थामा कहाँबाट चिन्तन हुनु र अपेक्षित दिशातर्फ कसरी सक्रियता बढ्नु !

कहाँ हराए गुठीका जग्गा ?
मन्दिरका नाममा भएका चल, अचल सम्पत्ति खोज्ने काममा समेत हाम्रो बुद्धिको बिर्को खुलेको छैन । मच्छेनारायण मन्दिरकै कुरो गरौं ! एक सय सोह्र रोपनीभन्दा बढ्ता जग्गा थियो रे मन्दिरका नाममा । ती जग्गा कहाँ गए, उठ्तीपुठ्ती के छ ? प्रश्न अनुत्तरित रहिरहनु किमार्थ उचित होइन । मच्छेनारायणको जग्गा मच्छेनारायणकै नाममा ल्याई त्यसको आयस्ताबाट के कस्ता जनकल्याणका काम गर्नसकिन्छ ? यतातिर स्थानीय तहको समन्वयमा सम्बद्ध निकाय जुर्मुराउन ढिलाइ गर्नै नहुने देखिएको छ ।

महत्वपूर्ण अवतार नेपालको भूमिमा हुनुको गौरवानुभूति आफ्नो ठाउँमा छ, तर गौरवको संरक्षण, सम्बद्र्धन भनेरमात्र हुँदैन, काम पनि हुनुपर्छ । यहाँका महत्वपूर्ण अवतार-स्थललाई दुनियाभरि परिचय गराउने काममा हाम्रो चाहिँदो पाइला सरिरहेको छ कि छैन ?

नेपालमै अनेक अवतार
हिन्दु ग्रन्थ, दर्शनमा अवतारको विशेष महत्व रहेको छ । तिनमा भगवान् विष्णुका २४ अवतारमध्ये दश अवतार प्रमुख मानिएका छन् । पुराण अनुसार ती दश अवतार हुन् :
मत्स्यकूर्मो वराहश्च नारसिंहश्च वामनः ।
रामो रामश्च कृष्णश्च बुद्धः कल्कि तथैव च ।।
अर्थात्, मत्स्य (माछा), कूर्म (कछुवा), वराह (बँदेल), नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि यी दश अवतार हुन् । दश अवतारमध्ये मत्स्य अवतार, वराह अवतार र बुद्ध अवतार गरी भगवान् विष्णुका तीन अवतार त नेपाली भूमिमै भएको पाइन्छ । काठमाडौंमा मत्स्य अवतार, सुनसरीमा वराह अवतार र रुपन्देही (लुम्बिनी) मा बुद्ध अवतार । भगवान् विष्णुका २४ अवतारकै सन्दर्भ समेट्ने हो भने त यो संख्या थपिई पाँच हुनपुग्छ । व्यास (कृष्णद्वैपायन) को जन्म तनहुँको दमौलीमा भएको थियो भने सांख्यदर्शनका प्रणेता कपिल मुनिको जन्म कपिलवस्तुमा भएको विभिन्न प्रमाण फेला परेका छन्, जसमध्ये उहिलेदेखि जिल्लाको नाम नै कपिलवस्तु रहनुले पनि दर्शाएको छ ।

गम्भीर प्रश्न
महत्वपूर्ण अवतार नेपालको भूमिमा हुनुको गौरवानुभूति आफ्नो ठाउँमा छ, तर गौरवको संरक्षण, सम्बद्र्धन भनेरमात्र हुँदैन, काम पनि हुनुपर्छ । यहाँका महत्वपूर्ण अवतार-स्थललाई दुनियाभरि परिचय गराउने काममा हाम्रो चाहिँदो पाइला सरिरहेको छ कि छैन ? यतिखेर गम्भीर प्रश्न हामीमाझ तेर्सिएको छ । यहाँका महत्वपूर्ण पौराणिक स्थलको जगेर्ना तथा प्रचार-प्रसारका काममा सम्बद्ध निकाय त जुर्मुराउनुपर्छ नै साथै देश-विदेश गइरहने धर्माधिकारीलाई पनि यस दिशामा उत्प्रेरित गर्नसके अथवा विदेशबाट आउने मठाधीश अथवा प्रवाचकलाई यहाँका उल्लेख्य स्थलमा पुर्‍याई तिनका बारेमा विशद जानकारी उपलब्ध गराउनसके सुनमा सुगन्ध हुने निश्चित छ ।

प्रथम अवतार मानिने मत्स्यावतार नेपालको धर्तीमा हुनुको अर्थगाम्भीर्यलाई हरेक पुरुषोत्तममास वा मलमासमा मेला आयोजना गरेरमात्र साँघुर्‍याउनु उचित हुँदैन । यस्ता मेला नियमित कार्य हुन्, भइरहनै पर्छ तर अन्य क्षेत्रतिर पनि प्रयास बढाउनुपर्छ । तत्काल अर्थोक केही गर्न नसके पनि पशुपतिनाथ दर्शन गर्न आउने स्वदेशी, विदेशी भक्तजनलाई मच्छेनारायण मन्दिरलगायत विभिन्न स्थलमा पुग्ने, पुर्‍याउने व्यवस्था गर्नसकिन्छ । साथै, तिनलाई नेपालभरिकै धार्मिक स्थलको चिनारी दिई सरल, सुपथ भ्रमण कार्यक्रमप्रति आकृष्ट तुल्याउन इमानदार प्रयास जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?