चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं १५ ले सुत्केरी र गर्भवतीलाई कुखुराको भाले सहित पौष्टिक आहार वितरण गरेको छ ।
सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत सो वडा कार्यालयले सुत्केरी र गर्भवती गरी १५ जनालाई कुखुराको भाले, घ्यू, अण्डा, दाल, भटमास, र व्यक्तिगत सरसफाईको लागि मन्जन र ब्रस प्रदान गरिएको हो ।
सुत्केरीलाई कुखुराको भाले र गर्भवतीलाई घ्यू प्राथमिकतामा राखेर सबैलाई पौष्टिक आहार प्रदान गरिएको हो । विपन्न समुदायका सुत्केरी र गर्भवती महिलाहरुको पहिचान गरी वडा भित्रका १५ जनालाई कुखुराको भाले, घ्यू, अण्डा सहित पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिनुभयो । स्थानीय सरकारले दिएको पौष्टिक आहार लिन सुत्केरी महिलाहरु काखमा शिशु च्यापेर वडा कार्यालय पुगेका थिए ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाअध्यक्ष सहित अन्य जनप्रतिनिधिहरुले सात जना सुत्केरी र आठ जना गर्भवती महिलालाई पौष्टिक आहार हस्तान्तरण गरेका थिए । सुत्केरी अबस्थामा पौष्टिक आधार नपुगे आमा र बच्चा दुईको अबस्था कमजोर हुने अबस्थालाई मध्येनजगर गरी कुखुराको भाले, घ्यू, अण्डा सहित पौष्टिक प्रदान गरिएको उहाँले बताउनुभयो । पेटमा बच्चा रहेको बेला आमालाई प्रयाप्त पौष्टिक आहारको आवश्यकता पर्छ उहाँले भन्नुभयो आर्थिक अभावका कारण पौष्टिक आहार किन्न नसक्ने अबस्थाका गर्भवतीलाई पनि पौष्टिक आहार प्रदान गरेका हौं ।
वडाध्यक्ष तामाङले सुत्केरी, गर्भवती र नवजात शिशुको जीवन रक्षाको दायित्व स्थानीय सरकारको काँधमा रहेको भन्दै सरकारी तबरबाट उपलब्ध हुने सेवाको अतिरिक्त वडा कार्यालयले जीवन रक्षाकै लागि पौष्टिक आहार वितरण गरेको बताउनुभयो । तीन बर्ष अघिदेखि सुत्केरी र गर्भवतीलाई पौष्टिक आहार वितरण गर्दै आएको वडा कार्यालयले गत बर्ष देखि जिउसो कुखुराको भाले दिन थालेको हो । आर्थिक बर्ष २०७९÷८० मा सुत्केरी र गर्भवती गरी ७३ जना, आर्थिक बर्ष २०८०/८१ मा ३० जनालाई कुखुराको भाले सहित पौष्टिक आधार प्रदान गरेको सो वडाले चालु आर्थिक बर्षमा १५ जनालाई सो सामग्री प्रदान गरेको हो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रसंगको सहकार्यम आयोजित कार्यक्रममा वडा सदस्यहरु इमप्रसाद पन्त, शिवप्रसाद तिवारी, लीलादेवी पोखरेल, रुकमाया परियार,पञ्चायन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष संजिव रेग्मी लगायतको उपस्थिति रहेको थियो । आधारभूत स्वास्थ्य सेवा केन्द्रकी प्रमुख रोजिना गिरीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पार्नुभएको थियो । यता रत्ननगर नगरपालिकाले पनि नगरबासीको स्वास्थ्य सुरक्षाको लागि अतिरिक्त क्रियाकलापलाई अगाडि बढाएको छ । गरिव तथा विपन्न समुदायका विरामीको उपचारको लागि स्वास्थ्य विमामा ५० प्रतिशत अनुदान, रत्ननगर अस्पतालका स्वास्थ्य उपचार कोष र ज्येष्ठ नागरिकलाई घरघरमै उपचारको कामलाई निरन्तरता दिइएको मेयर प्रलाद सापकोटाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच