स्याङ्जाका लोकप्रिय नेता शिव गिरीको अन्तेष्टि : शोकमा कांग्रेस

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । सवारी दुर्घटनामा परी शुक्रबार निधन हुनुभएका चापाकोट नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेपाली कांग्रेस स्याङ्जाका नेता शिबकुमार गिरीको अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाई गर्नु भएको हो ।

असार १ गते शुक्रबार राति ११ बजे पुतलीबजार नगरपालिका १० बरजास्थित सिद्धार्थ राजमार्गमा राङखोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका गिरीलाई तुरुन्तै जिल्ला अस्पताल स्याङ्जामा उपचारका लागि पठाइएकोमा उपचारकै क्रममा राति ११ः३० मा उहाँको निधन भएको अस्पताल श्रोतले जनाएको थियो । उक्त जिपमा गिरी र चालक मात्र रहेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी चालक पुतलीबजार नगरपालिका ९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

छोरा विदेशबाट आउन ढिलो भएको कारण गिरीको शव जिल्ला अस्पतालमा राखिएको थियो । असार ४ गते अष्ट्रेलियाबाट छोरा शव राखिएको जिल्ला अस्पतालमा उपस्थित हुनुभएको थियो । अस्पतालमा कांग्रेस नेता कार्यकर्ताहरुको बिहानैदेखि ठुलो भीड लागेको थियो । उहाँको पार्थीव शरीरलाई अस्पतालबाट नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुर्याइएको थियो । पार्टी कार्यालयमा गिरीको पार्थीव शरीरमा श्रदाञ्जली दिने नेता कार्यकर्ताहरु तथा आम सर्वसाधारण नागरिकको भीड थामिनसक्नु थियो ।
पार्टी कार्यालयमा श्रद्धाञ्जलिपछि उहाँको शव वालिङको रामबाच्छा हुँदै दामाचौरस्थित ज्याग्दीघाटमा पुर्याइएको थियो । गिरीको पार्थिव शरीरलाई ज्याग्दीघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो । एक लोकप्रिय तथा विकासप्रेमी नेताको यसप्रकारको अकल्पनीय मृत्युबाट स्याङ्जा कांग्रेस यतिबेला शोकमा डुबेको छ ।

गिरी नेबिसंघका पूर्व जिल्ला सभापति, तरुण दलका पूर्व जिल्ला सभापति तथा कांग्र्रेसका पूर्व जिल्ला सचिवसमेत हुनुहुन्थ्यो । कांग्रेस वृत्तमा उहाँलाई सिद्धान्तनिष्ठ, क्रान्तिकारी तथा निडर नेताका रुपमा चिनिन्थ्यो ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका गिरी पूर्व महासमिति सदस्य पनि हुनुहुन्थ्यो । यसका साथै उहाँले तत्कालीन मल्याङकोट गाविसका अध्यक्ष, शान्ति समिति स्याङ्जाका पूर्व अध्यक्ष, तत्कालीन जिविस सदस्य, मल्याङकोट चिन्नेबास शेखाम सामुदायिक विद्युतका अध्यक्ष, राम मावि मल्यङकोटका पूर्व अध्यक्षलगायत थुप्रै सामाजिक र राजनैतिक संस्थाका विभिन्न ओहोदामा बसेर योगदान पुर्याउनु भएको थियो । ज्याग्दीखोला क्षेत्रको विकासमा गिरीको योगदान विर्सन नसकिने रहेको श्रद्धाञ्जली सभामा पुगेका स्थानीयहरूले बताएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?