पुतलीबजारले शिक्षक, विद्यार्थी र अध्यक्षलाई गर्‍यो सम्मान

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले शिक्षक विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा सम्मान गरेको छ । एसइइ र कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरेको हो ।

पालिकाले कक्षा ८ को आधारभूततर्फ नगरपालिका स्तरीय परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल संस्थागततर्फबाट ध्रुबोदय आधारभूत विद्यालयकी सौरभी लम्साल र सामुदायिकतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने सरस्वती मावि गैरीखेतकी अदिती गोदारलाई सम्मान गरेको छ । कक्षा ८ को परीक्षामा छात्रहरुमध्येबाट उत्कृष्ट नतिजा ल्याउने छात्रतर्फ संस्थागतका हिमालय माविका सफल कुँवर र सामुदायिकतर्फ चक्रकमला आविका प्रसनमान श्रेष्ठ सम्मानित हुनुभएको छ ।

पालिकाले २०८० को एसइइमा ३.६१ भन्दा बढी जिपिए ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ४६ जना विद्यार्थीलाई सम्मान गरेको छ भने उक्त परीक्षामा सबैभन्दा बढी प्रतिशत उत्तीर्ण गराउने विद्यालयहरु संस्थागततर्फ हिमालयन मावि र ज्ञानोदय मावि तथा सामुदायिकतर्फ रामकोष फुलबारी मावि र त्रिभुवन आदर्श माविलाई सम्मान गरेको छ ।

उक्त अवसरमा २०८० सालको एसईई परीक्षामा कम्तीमा २५ जना विद्यार्थी सहभागी भई सबैभन्दा बढी जिपिए उत्तीर्ण गराउने अनिवार्य विषयका शिक्षकहरु सामुदायिकतर्फ त्रिभुवन आदर्श माध्यमिक विद्यालयबाट गणित विषयका शिक्षक शिव ढकाल, सामाजिक विषयमा जीवन अधिकारी र अङ्ग्रेजीमा विष्णुप्रसाद पोख्रेल सम्मानित हनुभएको छ । त्यस्तै नेपाली विषयमा कालिका माध्यमिक विद्यालयका लक्ष्मण न्यौपाने र विज्ञान विषयमा उक्त विद्यालयकै विजय श्रेष्ठ सम्मानित हुनुभएको छ ।

संस्थागततर्फ अङ्ग्रेजीमा शिशु निकेतन माविका मनोज मल्ल, सामाजिक विषयका राजेन्द्र गोदार र विज्ञानतर्फ ज्योति माविका सन्तोष तिमिल्सिना, नेपालीमा स्याङ्जा माविका खगेन्द्र सुबेदी र गणितमा स्याङ्जा माविकै कृष्ण बस्याल सम्मानित हुनुभएको छ ।

पालिकाले व्यवस्थापन समितिका अध्यक्षहरुलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेमा सामुदायिकतर्फ त्रिभुवन आदर्श माविका देव गुरुङ, चक्रकमला आविका मनोजमान श्रेष्ठ र महेन्द्र आविका वेदबहादुर रोका छन् भने निजी विद्यालयबाट ज्योति आमाविका महेशकुमार श्रेष्ठ हुनुहुन्छ ।

नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम बरालले स्वागत गरेको उक्त कार्यक्रमको सभापतित्व नगर प्रमुख तुलसीराम रेग्मीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्राविधिक सहायक शोभा बस्यालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?