झापामा चट्याङ लागेर एकजनाको मृत्यु

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 2 mins

झापा । चर्को घाम र अत्यधिक गर्मीपछि हिजो साँझदेखि निरन्तर परिरहेको पानी तथा हावाहुरीले झापामा क्षति सुरु गरेको छ ।

पानीसँगै परेको चट्याङले एकजनाको मृत्यु भएको छ । चट्याङबाट दमक नगरपालिका-४ का ३६ वर्षीय कुमार मोतेको मृत्यु भएको हो ।

स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने क्रममा उनलाई गएराति चट्याङ लागेको थियो । उपचारका क्रममा दमक अस्पतालमा उनको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालयले जनाएको छ ।

पानीसँगै आएको हावाहुरीले किसानले लगाएको पाक्न लागेको र पसाउन थालेको ५० औँ विघाको धान लडाएको छ । ठाउँठाउँमा रुख ढलेका छन् । तरकारी र अन्य बालीमा पनि क्षति पुगेको किसानले दुखेसो गरेका छन् ।

पानीले राम्रो र हानी दुबै गरेको  ग्रामीण क्षेत्रका किसानको भनाइ छ।  पानीसँगै हावाहुरीले क्षति सुरु गरेको भएपनि त्यसको प्रभाव सामान्य नै रहेको झापा प्रहरीले जनाएको छ । यद्यपि, क्षतिको विवरण बुझ्न मातहतको निकायलाई निर्देशन दिएको सुरक्षा निकायले जनाएको छ ।

यसैबीच झापा बाह्रदशीको घोडामारा भन्ने स्थानमा विजुलीको पोल ढलेर आवागमन बन्द भएको छ । चारपाने - राजगढ सडकमा यातायात अबरुद्ध भएको जनाइएको छ । पानी परिरहेकोले अवरोध हटाउन सकिएको छैन ।  सो सडक बाह्रदशी, हल्दिबारीलाई राजमार्गसँग जोड्ने मुख्य सडक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?