काठमाडौं । चौतर्फी आलोचनापछि एयरलाइन्स कम्पनीहरू तत्काल हवाई भाडा बढाउने निर्णयबाट पछि हटेका छन् । वायुसेवा सञ्चालक संघले आगामी तीन दिनसम्म पुरानै भाडादरलाई निरन्तरता दिने भएको हो । देश बाढी, पहिरोको चपेटामा रहेका बेलामा नागरिकलाई राहत प्रदान गर्न तत्कालका लागि पुरानै भाडादरलाई निरन्तरता दिने निर्णय गरिएको संघले जनाएको छ । तथापि आगामी दिनमा पनि हवाई भाडा नबढाउने हो भने सरकारले सहुलियत दिनुपर्ने उसकोे माग रहेको छ ।
संघको आइतबारको बैठकले सोमबारदेखि बुधबारसम्म अर्थात् तीन दिन सस्तो दरको टिकटबाटै यात्रुलाई सेवा प्रदान गर्ने निर्णय गरेको संघका अध्यक्ष मनोज कार्कीले जानकारी गराउनुभएको छ । साथै उहाँले हवाई इन्धन परल मूल्यमै उपलब्ध गराएको अवस्थामा हवाई टिकट अझै सस्तो हुने पनि दाबी गर्नुभएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा अधिक नाफा नलिने र परल मूल्यमा नै उपलब्ध गराएको अवस्थामा फ्युल चार्ज घट्ने र हवाई यात्रुलाई टिकटको मूल्य सस्तो पर्ने भन्दै इन्धन मूल्य घटाइदिन पनि संघले सरकारसँग आग्रह गरेको छ । त्यसैगरी ल्याण्डिङ, पार्किङ, नेभिगेसन, यात्रुसेवा शुल्कलगायतका अन्य शुल्कमा छुट दिएमा हवाई यात्रुलाई थप राहत हुने बताइएको छ ।
संघले सोमबारदेखि बुधबारसम्म अर्थात् तीन दिन सस्तो दरको टिकटबाटै यात्रुलाई सेवा प्रदान गर्ने निर्णय गरेको संघका कार्कीले जानकारी गराउनुभएको छ ।
संघले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष एरोनटिकल र नन एरोनटिकल चार्ज छुट गरेर बाढीपीडितलाई राहत दिन पनि आग्रह गरेको छ । बाढी पहिरोपछि सडक सञ्जाल क्षतविक्षत भएपछि हवाई मार्गमा यात्रुको अत्यधिक चाप बढेको छ । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न आग्रह गर्नुभएको थियो । हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीले पहिलेको तुलनामा महँगो शुल्क लिएपछि जनस्तरबाट चर्को आलोचनासँगै प्रधानमन्त्री ओलीले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत् यस्तो आग्रह गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ । हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रु र उद्धार उडानका लागि विशेष निर्णय गरेको समेत जानकारी गराउनुभएको छ ।
त्यसैगरी राज्यव्यवस्था तथा सुशासन समितिले पनि अस्वाभाविकरूपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति रामहरि खतिवडाले देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडादरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाई आइतबार निर्देशन दिनुभएको हो । देशका विभिन्न स्थानमा अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा सरकार र सरोकारवाला पक्षले आ-आफ्नो स्थानबाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नुपर्ने समेत निर्देशनमा उल्लेख छ ।
हवाई सञ्चालकहरूले विपद्लाई अवसर ठान्दै हवाई टिकट मूल्य बढाउने निर्णय गरेका थिए । काठमाडौंदेखि धनगढीको हवाई भाडा सात हजार नौ सय रुपैयाँ पर्नेमा १३ हजार तीन सय रुपैयाँ कायम गरी ६८ प्रतिशतले टिकटको मूल्य बढाएका हुन् । काठमाडौंबाट विभिन्न ठाउँमा जाने हवाई टिकट ७० प्रतिशतले बढाइएको छ । हवाई सञ्चालकले एकतर्फीरूपमा भाडा बढाएपछि अहिले चौतर्फीरूपमा आलोचना भइरहेको थियो । वायुसेवा सञ्चालक संघले भने यात्रुको चाप बढ्दा मूल्य बढ्ने र चाप घट्दा घट्ने प्रावधानअनुसार नै टिकटको मूल्य निर्धारण गरिएको दाबी गरेको छ । हवाई सेवा सञ्चालकहरूले दशैँमा पनि टिकटको मूल्य बढाउने गरेका छन् । विगतमा पनि दशैँको समयमा काठमाडौंदेखि धनगढीसम्मको टिकट मूल्य १७ हजार पुर्याउने गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच