काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरण (क्यान)को केन्द्रीय कार्यालय सिनामंगलमा छापा मारेको छ । अख्तियारले बुधबार छापा मारेर विमानस्थल निर्माण र भवन निर्माणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो । अख्तियारको टोली बिहान १० बजे नै क्यानको कार्यालय पुगेको थियो । प्राधिकरणले पोखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितता गरेको, केन्द्रीय कार्यालय निर्माणमा समेत उजुरी परेपछि अख्तियारले छापा मारेर आवश्यक कागजात लिएको बताइएको छ ।
प्राधिकरणको नयाँ भवन सिनामंगलमा बनेको छ । नयाँ भवन निर्माणका क्रममा एक अर्बभन्दा बढीको भ्रष्टाचार भएको आरोप छ । भवन भासिएको प्राधिकरणभित्र चर्चा छ । अनियमिततामा संलग्न भएको आशंकामा अख्तियारले यसअघिबाटै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अनुसन्धान गरिरहेको छ ।
विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमितताबारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएको र सो कागजात उपलब्ध नगराएपछि छापा मारेको अख्तियार स्रोतले जानकारी दिएको छ । ‘विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमितताबारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएको थियो’ अख्तियार स्रोतले भन्यो, ‘तर कतिपय महत्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमा पुगेर छापा मारेर कागजात लिनुपरेको हो ।’
संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको दुई उपसमितिले पनि पोखरा र भैरहवा विमानस्थल निर्माणको विषयमा छानविन गरिरहेको छ । उक्त छानविनले पनि विमानस्थल निर्माणमा अनियमितता भएको निष्कर्ष सहितको प्रतिवेदन बनाइरहेको छ । प्राधिकरणका महानिर्देशक अधिकारीले पोखरा विमानस्थल निर्माण गर्दा अनियमितता गरेको गुनासोको आधारमा अख्तियारले अगाडिबाटै अनुसन्धान गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा अख्तियारले यसअघि नै छापा मारेर महानिर्देशक अधिकारीसँग बयानसमेत लिएको थियो । प्रदीप अधिकारी प्राधिकरणको महानिर्देशक बनेर आएपछि विभिन्न घटना र लफडाहरू बाहिर आइरहेका छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अधिकारीलाई प्राधिकरणको महानिर्देशक बनाउनुभएको थियो ।
यता, नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने विभिन्न निकायबाट उजुरी परेको जानकारी अनौपचारिक रूपमा आइरहेको र सोही विषयमा जानकारी लिन अख्तियार आएको हुनसक्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच