निजी क्षेत्रतर्फको कर्जा प्रवाह १३.४ प्रतिशतले बढ्यो

Read Time = 5 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को १० महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २३.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ वैशाखमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १६.६ प्रतिशतले बढेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह १३.० प्रतिशत, विकास बैंकको कर्जा प्रवाह १४.७ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह २८.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

२०७९ वैशाखमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति अर्थात् कृषि तथा गैर-कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७८ वैशाखमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.९ प्रतिशत र १२.४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १८.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.१ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १५.६ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.५ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १८.५ प्रतिशत, ओभरड्राफ्ट कर्जा १७.७ प्रतिशत, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १८ प्रतिशत, रियलस्टेट कर्जा १५.८ प्रतिशत र हायर पर्चेज कर्जा ३.३ प्रतिशतले बढेको छ भने ट्रस्ट रिसिट आयात कर्जा ५२.५ प्रतिशत र मार्जिन प्रकृति कर्जा १४ प्रतिशतले घटेको छ ।

त्यस्तै तरलता व्यवस्थापनतर्फ चालु आवको १० महिनामा रिभर्स रिपोमार्फत् २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रसोचन गरिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् एक खर्ब नौ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत् एक खर्ब ९३ अर्ब ७५ करोड गरी कुल तीन खर्ब तीन अर्ब २९ करोड तरलता प्रसोचन भएको थियो । समीक्षा अवधिमा रिपोमार्फत् चार खर्ब ३० अर्ब ७७ करोड, सोझै खरिद उपकरणमार्फत् ५५ अर्ब ९२ करोड र स्थायी तरलता सुविधामार्फत् ६९ खर्ब १५ अर्ब ९६ करोड गरी कारोबारका आधारमा कुल ७४ खर्ब दुई अर्ब ६५ करोड तरलता प्रवाह गरिएको छ ।

सो अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजारमा अमेरिकी डलर दुई अर्ब १२ करोड खुद खरिद गरी दुई खर्ब ५६ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर तीन अर्ब एक करोड खुद खरिद गरी तीन खर्ब ५५ अर्ब ९७ करोड तरलता प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब ९६ करोड बिक्री गरी चार खर्ब ७५ अर्ब ६८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ९४ करोड बिक्री गरी चार खर्ब ६४ अर्र्ब ३४ करोड भारतीय रुपैयाँ खरिद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?