काठमाडौं । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले महान् चाड दशैँ, तिहार र छठ पर्व लक्षित काठमाडौं उपत्यकाका झण्डै एक दर्जन बिक्री केन्द्रबाट सहुलियतमा खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु बिक्री गर्दै आएको छ ।
सरकारले प्रदान गरेको सहुलियतका साथै कम्पनीले पनि थप छुटका साथ नुन, चिनी, चामल, पिठो, दाल, गेडागुडीका साथै इण्डक्सन चुल्होसमेत उपलबध गराउँदै आएको छ । कम्पनीका विभागीय प्रबन्धक ब्रजेशकुमार झाका अनुसार कम्पनीले चिनी, नुन, चामल, पिठो, तेल, गेडागुडी, दाल, च्युरालगायतका खाद्यवस्तुमा दुई रुपैयाँदेखि ३५ रुपैयाँसम्म छुट प्रदान गरेको छ । नुनमा प्रतिकेजी दुई रुपैयाँ, तेलमा सात रुपैयाँ, चामलमा २५ रुपैयाँ र पिठोमा ३५ रुपैयाँसम्म छुट प्रदान गरेको छ । उहाँले हिमालय टाइम्सलाई भन्नुभयो, ‘हामीले सरकारले दिएको छुट सहुलियत त दिएकै छौँ, हाम्रा आफ्ना उत्पादनमा पनि थप छुट दिएका छौँ । हाम्रा सबै बिक्री केन्द्रहरूबाट उपभोक्ताले यस्तो छुट पाउन सक्नेछन् ।’ कम्पनीले प्रति दुई केजी चिनी दुई सय पाँच रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । तर, प्रतिउपभोक्ता दुई केजीभन्दा बढी चिनी भने पाइने छैन ।
कम्पनीले चिनी, नुन, चामल, पिठो, तेल, गेडागुडी, दाल, च्युरालगायतमा दुर्ईदेखि ३५ रुपैयाँसम्म छुट प्रदान गरेको छ । नुनमा प्रतिकेजी दुई, तेलमा सात, चामलमा २५ र पिठोमा ३५ रुपैयाँसम्म छुट प्रदान गरेको छ ।
झाका अनुसार कम्पनीले हाल काठमाडौं उपत्यकाका विभिन्न १० बिक्री केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएकोमा थप दुई स्थान ललितपुरको ग्वार्खु र काठमाडौंको काँडाघारीमा बिक्री केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ भने होम डेलिभरीको समेत व्यवस्था गरेको छ ।
इण्डक्सन चुल्होको सेटअन्तर्गत चुल्होका साथै प्रेसर कुकर, कराइ, ताप्केलगायतको सेट नौ हजार पाँच सय रुपैयाँमा बिक्री गर्दै आएको छ । कम्पनीले एलपी ग्याँसको आयात प्रतिस्थापनका लागि इण्डक्सन चुल्होसमेत प्रवद्र्धन गर्दै आएको झाले बताउनुभयो । त्यसैगरी कम्पनीले सरकारको नीतिअनुसार स्वदेशी वस्तुलाई प्राथमिकता दिने गरेको छ । सोही क्रममा हालै नेपाली जुत्ताको बिक्रीस्थल कम्पनी परिसरमा सञ्चालनमा आएको छ । अन्य स्वदेशी उत्पादनको बजारीकरणमा पनि सहजीकरण गर्दै जाने उहाँले जानकारी गराउनुभयो ।
साल्ट ट्रेडिङको सहज र सुपथ मूल्यमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनमा भूमिका छँदैछ । त्यतिमात्रै नभई खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा हुने महँगी नियन्त्रणमा समेत भूमिका खेल्दै आएको विभागीय प्रबन्धक झा बताउनुहुन्छ । संकटमा निजी क्षेत्रका कतिपय व्यापारीले ग्याँस, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा कालोबजारी, सिण्डिकेट र कार्टेलिङ गरे तर उपभोक्तालाई ग्याँसलगायतका खाद्यवस्तु उपलब्ध गराउँदै साल्ट ट्रेडिङ कालोबजारी र सिण्डिकेटविरुद्ध झनै सशक्तरूपमा प्रस्तुत भयो ।
धैरैजसो सार्वजनिक संस्थानहरू धरासायी हुँदै, टाट पल्टिँदै र बन्दसमेत हुँदै गइरहेको अवस्थामा साल्ट ट्रेडिङले भने विगतदेखि नै व्यावसायिक सफलता हासिल गर्दै आएको छ । सहज र सुपथ मूल्यमा खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु आपूर्ति गर्दै मुलुकको आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएको कम्पनी नेपालमा पहिलो सार्वजनिक, निजी, साझेदारी (पिपिपी) मोडलको कम्पनी हो । देशभर आयोडिनयुक्त नुन सहज आपूर्ति होस् वा खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुको बजार मूल्य, व्यापारीहरूबाट हुने सिण्डिकेट, कार्टेलिङ र कालोबजारी नियन्त्रणमा कम्पनीले महत्वपूर्ण भूमिका खेलिरहेको छ । तत्कालीन सरकारले नुन आपूर्ति व्यवस्थापन मिलाउने उद्देश्य साथ विसं २०२० भदौ २७ गते साल्ट टे«डिङको स्थापना गरेको थियो । तत्कालीन समयमा खासगरी ग्रामीण उपभोक्ताले आफूहरूले नुन पनि नपाएको गुनासोपछि सरकारले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका व्यापारीसमेतको लगानीमा साल्ट ट्रेडिङ स्थापना गरेको हो ।
सुरुमा नुनको मात्रै कारोबार गर्नेे उद्देश्यले स्थापना भए पनि कम्पनीले क्रमिकरूपमा व्यवसायमा विविधीकरण गर्दै लगेको थियो । आयोडिनयुक्त नुन देशभर सहज बनाउन र हरेक वर्ष हुने नुुनलगायत विभिन्न खाद्यवस्तुको अभाव एवं कालोबजारी रोक्न कम्पनीले व्यवसाय विविधीकरण गर्दै गएको हो । नुन, चिनी, चामल, पिठो, तेल, दाललगायत दैनिक उपभोग्य वस्तुमात्रै नभई पछिल्लो समय कम्पनीले कृषि क्षेत्रका लागि रासायनिक मलसमेत आपूर्ति गर्दै आएको छ । व्यवसाय विविधीकरणकै सुरुवातका रूपमा कम्पनीले नेपालमै पहिलोपटक खाद्य उद्योग लिमिटेड नामक मैदा मिल सञ्चालनमा ल्याएको थियो । त्यसपछि वनस्पति घिउ उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, मोरङ सुगर मिल, नेसनल फाइनान्स लिमिटेड, सगरमाथा इन्स्योरेन्स, मेट्रो ग्याँस उद्योग, उपहार हाउजिङ, हिमालय प्याकेजिङ उद्योगमा लगानी गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच