काठमाडौं । संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्याउन प्रमुख तीन दलहरू सहमत भएका छन् । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग यथाशक्य चाँडो गठनगरी संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्याउन प्रमुख तीन दलहरू सहमत भएका हुन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बिहीबार बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्याउन कानुनबमोजिम दुवै आयोगहरूलाई यथाशक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाललगायत समेत बैठकमा सहभागी हुनुहुन्थ्यो । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यसअघि नै संसद्बाट पारित भइसकेको छ । उक्त विधेयक गत भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो ।
सर्च कमिटीले पूर्णता पाएपछि आयोग गठन हुने
शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउन सर्च कमिटी (सिफारिश समिति) लाई पूर्णता दिन प्रमुख तीन दलबीच समझदारी भएको छ । बिहीबार बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटीलाई पूर्णता दिने समझदारी गरेको हो । सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकले सर्च कमिटीलाई पूर्णता दिनेछ । २०८० चैत ३० गते प्रचण्ड नेतृत्वको सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी सर्च कमिटी गठन गरेको थियो । पूर्व-प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिश समिति गठन भए पनि पूर्णता दिन बाँकी रहेको थियो ।
त्यतिबेला समितिको सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगको सदस्य वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठन प्रक्रिया अगाडि बढाउने विषयमा दलहरूबीच समझदारी भएको माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
अब एक दुई दिनभित्रमा सर्च कमिटीले पूर्णता प्राप्त गर्ने उहाँले बताउनुभयो । सर्च कमिटीले पूर्णता पाएको निश्चित समयभित्र आयोग गठन हुनुपर्ने कानुनी प्रावधान रहेको छ । शुक्रबार बस्ने क्याबिनेटले सर्च कमिटी टुंग्याउने विषयमा सहमति भएको नेताहरूले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच