काठमाडौं । बाल साहित्यकार गोपाल पराजुलीको निधन भएको छ । उहाँको बुधबार साँझ निधन भएको हो । विसं १९९८ मा काभ्रे जिल्लामा जन्मनुभएका पराजुलीले नेपाली बाल साहित्यमा योगदान पुर्याउनु भएको छ । ‘२५ प्रतिभा’ शीर्षकमा उहाँले चार खण्डमा जीवनी प्रकाशन गर्नुभएको छ ।
उहाँले कविता, कथा, उपन्यास, स्थानपरिचय, राष्ट्रिय विभूतिहरू जस्ता विधामा कलम चलाउनुभएको छ । आफ्नो विधालाई निश्चित र उपयुक्त क्षेत्रमा केन्द्रित गरी निरन्तर साहित्य सिर्जनामा लागिरहनुभएका उहाँ आफैंमा संस्था हुनुहुन्थ्यो ।
उहाँका दुई दर्जनभन्दा बढी पुस्तककार कृति नेपाली र अंग्रेजी भाषामा प्रकाशित छन् । बालबालिकाका लागि उपयोगी सामग्री पस्कने व्यक्तित्व पराजुलीको साथीभाइहरूसँग सहज रूपमा घुलमिल हुनसक्ने गुण थियो । विनयी स्वभावका पराजुली जति व्यवहारमा सामान्य हुनुहुन्थ्यो साहित्य साधनामा त्यत्तिकै विशेष हुनुहुन्थ्यो । विसं. २०२१ सालदेखि निरन्तर साहित्य लेखनमा रहनुभएका उहाँ परिचित र अपरिचि त व्यक्तिसँगको भेटमा अत्यन्तै हार्दिकतापूर्वक व्यवहार गर्नुहुन्थ्यो । गोरखापत्र दैनिकमा ‘सम्पादकलाई चिठ्ठी रचना प्रकाशन गरी साहित्य लेखनमा उहाँ प्रवेश गर्नुभएको थियो ।
उहाँका ‘केही राष्ट्रिय विभूति’ ३ भाग, ‘हाम्रा केही प्रसिद्ध साहित्यकार’ ६ भाग, ‘नानीको बानी’(बाल निवनधसंग्र्रह), ‘रूपाको साहस’(बाल कथासंग्रह), ‘एक दिनको यात्रा’(बाल उपन्यास), ‘पच्चीस प्रतिभा’ (जीवनीसंग्र्रह), ‘समयका डोबहरू’ (कवितासंग्र्रह) लगायत कृतिहरू प्रकाशित छन् । उहाँले शिक्षा विभागको प्रकाशन ‘शिशु पत्रिका’समेत सम्पादन गर्नुभएको थियो ।
पराजुलीले राष्ट्रिय बाल पुरस्कार, बाल कथा पुरस्कार, बाल हितकारी पुरस्कार, बाल साहित्य पुरस्कार, देवकुमारी वाल साहित्य पुरस्कार, सिर्जना सम्मानलगायत पुरस्कार र सम्मानहरू प्राप्त गर्नुएको थियो । उहाँलाई रत्न बालकोष तथा बाल साहित्य समाजबाट अभिनन्दनसमेत गरिएको थियो । उहाँ वानेश्वर काठमाडौंमा बसोवास गर्दै आउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच