काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रले दर्शकको साथ पाउन थालेका छन् । खासगरी चाडपर्व नेपाली चलचित्रका लागि सुखद् देखिएको छ । बडादशैँ र तिहारमा सिनेमाघरसँगै ‘ओभर दि टप’ (ओटीटी)का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दशैँ र तिहारमा उच्च छ । हलहरूमा नेपाली चलचित्रमय बन्यो दशैँ भने तिहारमा पनि त्यो स्प्रिड कायम नै रहृयो ।
दशैँ लक्षित प्रदर्शन गरिएका चलचित्र ‘छक्का पञ्जा-५’ र ‘१२ गाउँ’ले बक्सअफिसमा आफ्नो पकड कायम राखे भने ‘ज्वाइँ साब’ले पनि दर्शकको साथ पायो । तिहार लक्षित प्रदर्शन गरिएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले पनि राम्रो व्यापार गरिरहेको छ ।
सिनेमाघरसँगै ओटीटीमा समेत नयाँ चलचित्र प्रदर्शन आए । हलबाट उतारेर निर्देशक निश्चल बस्नेतले चलचित्र ‘मेघौली फ्रम बेहुली’लाई ओटीटीमा ल्याउनुभयो । यसले नेपाली निर्मातालाई आम्दानीको नयाँ स्रोत थपेको चलचित्रकर्मीको भनाइ छ । चलचित्र ‘महापुरूष’ तिहार लक्षित गरी युट्युबमा सार्वजनिक गरियो । दशैँ तिहारमा सिनेमाघरमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनुका साथै घरमै चलचित्र हेर्ने दर्शकको संख्या वृद्धि भएको छ ।
सिनेमा हल सञ्चालक तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन यसपालि दशैँ र तिहारमा सिनेमा घरहरू नेपाली चलचित्रमय बनेको बताउनुहुन्छ । नेपाली चलचित्रले लगातार माया पाइरहनु उद्योगका लागि एकदमै सुखद् र गौरवको कुरा भएको उहाँको भनाइ छ ।
सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’ माथि ‘पूर्णबहादुरको सारंगी’ भारी
चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले दर्शकको उत्साहजनक साथ पाएको छ । दर्शकको साथ पाएसँगै यो चलचित्रको सो थपिने क्रम जारी छ । दर्शकबाट माग बढेपछि चलचित्र हलहरूले बिहानदेखि मध्यरातिसम्म यसको सो उपलब्ध गराएका छन् । देशको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले चलचित्रलाई बिहान ७ बजेदेखि मध्यरातिसम्मको सो दिएको छ । यो चलचित्रले बलिउडका बहुप्रतिक्षित चलचित्रहरू ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ लाई पनि शोमा पछि पार्दै आकर्षक कमाइ गरिरहेको छ ।
आइएनआई, बिग मुभिज, वान सिनेमाज, एफक्युब, सिडिसीलगायतका हलले पनि चलचित्रको सो बढाएका छन् । बुधबार बिहानैदेखि चलचित्रको सो हाउसफुल थिए भने बिहीबारको बुकिङ पनि राम्रो देखिएको थियो । विजय बराल अभिनित यो चलचित्र लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको हो । गन्धर्व समुदायको कथामा निर्माण भएको चलचित्रको शीर्ष भूमिकामा विजय बराल हुनुहुन्छ । चलचित्रले पाँच दिनमा (सोमबारसम्म) चार करोड ८७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ ।
छोराको भविष्यका लागि बुबाले गर्ने संघर्षको कथामा निर्माण भएको चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ । विजयसँगै प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, माओत्से गुरुङ, अलिशा बाँस्तोला, स्वयम् केसीलगायत कलाकारको अभिनय छ । चलचित्रको निर्मातामा विनोद पौडेल र प्याट्रिक सुवेदी हुनुहुन्छ ।
बक्स अफिसमा उछाल
‘पूर्ण बहादुरको सारंगी’लाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले सुपरहिटको मान्यता दिइसकेको छ । यो चलचित्रको प्रदर्शनपूर्व ‘काँधेकुरी’ गीत लोकप्रिय थियो । बलियो ‘वर्ड अफ माउथ’पछि यो चलचित्रले बक्स अफिसमा ल्याएको उछाल तिहार विदा सकिएपछि पनि कायम छ । यो चलचित्र हेरेका दर्शकहरूले यसको कथावस्तु आफ्नो जीवनसँग निकट रहेको र हेरिरहँदा भावुक बनाएको प्रतिक्रिया दिएका छन् । चलचित्रको कथा, संवाद, अभिनय, गीतसंगीतलगायत पक्षले मन छोएको दर्शक प्रतिक्रिया छ । कतिपय दर्शकहरू चलचित्र हेरिरहँदा आँखाबाट आँशु झारिरहेको र भावुक बनेको भिडियो क्लिपसमेत सामाजिक सञ्जालमा आइरहेका छन् ।
सक्वेल नबनाउन सुझाव
चलचित्र ‘पूर्ण बहादुरको सारंगी’को सिक्वेल नबनाउन अभिनेता विजय बरालले निर्माणपक्षलाई सुझाव दिनुभएको छ । चलचित्रले राम्रो ग्रसकलेक्सन गर्यो भन्दैमा सिक्वेल बनाइहाल्नुपर्छ भन्ने नरहेको उहाँको धारणा छ ।
निर्माताका लागि सिक्वेल निर्माण फाइदा भए पनि अभिनेताका लागि हितकर नहुने उहाँको बुझाइ छ । ‘सिक्वेल बन्नु एक्टरका लागि राम्रो होइन । मेरो सुझाव मान्ने हो भने सिक्वेल बन्नु हुँदैन भन्छु’, विजय भन्नुहुन्छ, ‘यदि, पूर्ण बहादुरको सारंगीको सिक्वेल बन्ने भयो र मलाई अफर आयो भने सम्भवत म काम गर्दिनँ होला । सतप्रतिशत गर्दिन त भन्दिनँ तर २५ परसेन्ट होल्ड नै गर्छुहोला ।’
‘पूर्ण बहादुरको सारंगी’मा सिक्वेल निर्माणका लागि ठाउँ भने छोडिएको छ । तर, पूर्णबहादुरको क्यारेक्टरको निधन भइसकेको छ । ‘मेरो क्यारेक्टर निकालेर अफर आए पनि खेल्ने कि नखेल्ने धेरैपटक सोच्छु होला’, उहाँले भन्नुभयो । आफू सिक्वेलका पक्षमा कहिल्यै पनि नरहेको उहाँको भनाइ छ ।
‘यो लेवलमा चल्छ भन्ने कल्पना गरेको थिइनँ’
करिब डेढ दशकको कलाकारितापछि चलचित्र ‘पूर्ण बहादुरको सारंगी’मा हिरोका रूपमा विजयले अवसर पाउनुभयो । पाएको यो अवसरलाई उहाँले यसरी सदुपयोग गर्नुभयो चलचित्रले यतिबेला देशभर हाउसफूल अकुपेन्सीमा व्यापार गरिरहेको छ । ‘काम गरिरहँदा र चलचित्र हेरेपछि चल्छ भन्ने त लागेको थियो । तर, यो लेवलमा प्रलय नै ल्याउँछ भन्ने चाहिँ कल्पना पनि गरेको थिइनँ’, विजय भन्नुहुँछ, ‘मेरो जीवनमा अब पनि सायद यसरी सिनेमा चल्दैन होला ।’ विषयप्रधान चलचित्र चल्दै जाँदा सहायक भूमिकामा काम गर्दै आउनुभएका कलाकारले पनि मुख्य भूमिकामा अवसर पाउने अवस्था रहने उहाँको भनाइ छ ।
प्रधानमन्त्रीको बधाई, ‘अनुकूलता मिले हेर्नेछु’
चलचित्र ‘पूर्ण बहादुरको सारंगी’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिला बधाई दिनुभएको थियो । फिल्मको समीक्षात्मक र व्यवसायिक सफलताप्रति यसका निर्माता र कलाकारलाई ओलीले बधाई दिनुभएको थियो । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले ‘अनुकूलता मिले फिल्म हेर्ने’ समेत उल्लेख गर्नुभएको थियो । ‘पूर्ण बहादुरको सारंगी फिल्म हेर्न निम्तो आएको छ । तर, समय अभावले हेर्न पाएको छैन । फिल्मको समीक्षा हेर्दैगर्दा यसले हाम्रो सामाजिक परम्परा र व्यावसायिकताको अन्तरद्वन्द्वलाई राम्रोसँग उठान गरेको बुझेको छु । अनुकूलता मिले फिल्म हेर्ने छु । फिल्मका निर्माता र कलाकारहरुलाई बधाई !’, उहाँले लेख्नुभएको थियो ।
'सिनेमा घरहरू नेपाली चलचित्रमय बनेको छ'
‘यसपालि दशैँ र तिहारमा सिनेमा घरहरू नेपाली चलचित्रमय बनेको छ । हिन्दी भन्दा नेपाली चलचित्रलाई दर्शकले माया गरेका छन् । नेपाली चलचित्रले लगातार माया पाइरहनु उद्योगका लागि एकदमै सुखद र गौरवको कुरा हो । ‘१२ गाउँ’ एक्सन फिल्म चलेपछि अब त्यसको लहर आउँछ कि भन्ने थियो । अहिले सोसल ड्रामा ‘पूर्ण बहादुरको सारंगी’ले एकदमै राम्रो ग¥यो । लगातार यसरी, त्यो पनि अलग अलग विधाका चलचित्र चलेको विरलै पाइन्छ । राम्रो कथा र कन्सेप्ट भयो भने जुनसुकै जनराको चलचित्र पनि चल्छ र लगातार आउँदा पनि चल्छ भन्ने समेत पुष्टि भएको छ’, नरेन्द्र महर्जन, अध्यक्ष नेपाल चलचित्र संघ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच