पश्चिमा लहरबाट आकर्षित शिक्षा अब फेरि हाम्रै पुरातन पद्धतितर्फ आकर्षित हुनथालेको पाइन्छ । नयाँ शिक्षाका नाममा नेपालका मौलिक आचार व्यवहारहरूलाई रुढीवादी, अन्धविश्वास आदि संज्ञा दिएर विस्थापित गरिएकोमा अहिले कुनै नामै नदिई पूर्वीय मान्यतामा जोड दिन थालिएको छ । बाह्र वर्षमा खोलो फर्कन्छ भने झैँ समय लामै लागे पनि शिक्षामा नेपालीकरण बढ्ने सम्भावना देखिएको छ । हाम्रा आचार, विचार र व्यवहारलाई प्राथमिकताका साथ मान्यता दिने प्रचलन विद्यालय र विश्वविद्यालयहरूमा चल्न थालेको छ । यसलाई शुभसंकेतका रूपमा सबैले लिनुमा नै नेपाल र नेपालीको कल्याण हुने देखिन्छ ।
अंग्रेजी जान्ने विशिष्ट विद्वान्, अंग्रेजी नजान्ने पढ्दै नपढेको जस्तो मान्न थालिएको थियो । रेडियो टेलीभिजनहरूले अंग्रेजीमा फरर बोल्नेहरूलाई प्राथमिकता दिने, सरकारले विभिन्न नियुक्ति दिँदा अंग्रेजी जानेकैलाई दिने, गैरसरकारी संस्थाहरूका प्राथमिकतामा त त्यस्तै नै पर्ने भए । यो प्रचलन अद्यापि विद्यमान छ । चिनीयाहरूले, जर्मनहरूले, फ्रान्सेलीले, रसियनले अंग्रेजी नजान्दा पनि हुने तर नेपालीले जान्नै पर्छ भन्ने अझै धेरैलाई लागिरहेकै छ । जापानीहरूले अंग्रेजी नसिकिकनै त्यति विकास गरे भन्ने चाहिँ कसैले सोच्ने गरेको पाइँदैन ।
त्यसैले नेपालमा नेपाली बोले जरिवाना तिर्नुपर्ने विद्यालयहरू खुले । तिनै विद्यालयहरू अभिभावकहरूका आकर्षणका केन्द्र बन्न पुगे ।
सात विषय अंग्रेजीमा पढाउने र नेपाली विषयमात्रै नेपाली भाषामा पढाउने विद्यालयहरूमा विद्यार्थीको भीड बढ्यो र त्यहाँ पढाउँदा बाबुआमाले गर्व गर्ने र सात विषय नेपाली र एक विषय अंग्रेजीमा पढाउने विद्यालयमा छोराछोरी पठाउनेले राम्रो शिक्षा दिन सकिएन भनेर पछुताउने समय आयो । विद्यालय गएर विद्यार्थीले के सिक्यो, त्यो मतलब गर्न छाडियो । मात्र अंग्रेजी कति जान्यो त्यसैमा ध्यान केन्द्रित गरियो ।
युवाहरूमा पर्याप्त लगानी नेपालले गरिरहेको छ । प्राथमिकदेखि उच्चशिक्षासम्म पढाइदिएर काम गर्न योग्य भएपछि उनीहरूको उपयोग विकसित देशहरूले गरिरहेका छन् । पढे लेखेकै भए पनि उनीहरूको देशका लागि योग्य देखेनन् भने भिसा दिँदैनन् । आफ्नो देशमा काम लाग्ने खालका जनशक्तिलाई प्रलोभन दिएर पनि लैजाने गरेका छन् ।
यो पद्धतिको शिक्षाले पढ्न सक्ने र आर्थिक रुपमा क्षमतावान्हरूलाई अमेरिका, बेलायतलगायत विकसित देशहरूतिर पठाइरहेको छ । आर्थिक रूपमा कमजोरहरू भने साउदी, कुबेत, कतार लगायतका खाडी मुलुकतिर गएका छन् । खाडी गएकाहरू निश्चित समयमा नेपाल फर्कने गरेका छन् भने पाश्चात्य मुलुक गएकाहरू उतै बस्ने गर्दछन् । गएका नफर्कने मात्रै होइन, दुई खुट्टा टेकेपछि हरेक युवा कसरी भिसा लिने भन्ने ध्याउन्नमै रहने गरेका छन् । नेपालमै बसेर केही गरौं, केही गर्न सकिन्छ र देश बन्छ भन्नेमा कसैलाई विश्वास छैनभन्दा हुन्छ ।
युवाहरूमा पर्याप्त लगानी नेपालले गरिरहेको छ । प्राथमिकदेखि उच्चशिक्षासम्म पढाइदिएर काम गर्न योग्य भएपछि उनीहरूको उपयोग विकसित देशहरूले गरिरहेका छन् । पढे लेखेकै भए पनि उनीहरूको देशका लागि योग्य देखेनन् भने भिसा दिँदैनन् । आफ्नो देशमा कामलाग्ने खालका जनशक्तिलाई प्रलोभन दिएर पनि लैजाने गरेका छन् । करोड रुपैयाँभन्दा बढी लगानी भएका चिकित्सक अमेरिका, बेलायत, अष्ट्रेलिया आदि देशमा सेवा गरिरहेका छन् । लाखौं रुपैयाँ नेपालले लगानी गरेर पढाएका इञ्जिनियरहरू उतै छन् । नेपालमा सुहाउँदो जागिर नपाएर नर्स भएकाहरू विदेशतिरै गएका छन् । मुलुकमा भने सबैखाले प्राविधिकहरूको कमी छ । यसरी विदेशीलाई मात्रै काम लाग्ने शिक्षा दिएर मुलुकलाई कुनै किसिमको फाइदा हुँदैन । घाटामाथि घाटा व्यहोरिरहेको छ नेपालले ।
हाम्रो विद्यालयमा पढे अमेरिकाले सजिलै भिसा दिन्छ । हाम्रो विश्वविद्यालयमा पढेको साठी प्रतिशत भन्दा बढी विदेश छन् । शिक्षालयहरूका प्रचार यस्तै हुन्छन् र पढ्ने र पढाउने सबैको रहर त्यस्तै शिक्षालयमा प्रवेश पाउने हुनेगरेको छ । हाम्रा विद्यार्थी नेपाल र नेपालीको सेवा गर्न अब्बल हुनेछन् भन्ने उद्घोष गर्ने कुनै शिक्षालय नेपालमा छैन । यसरी सक्षम युवाहरू विदेश निर्यात गर्ने नीति लिएर नेपालले कहिले प्रगतिको बाटो समात्ने हो कसैले भन्नसक्ने अवस्था छैन । यद्यपि अहिले आएर कतिपय विद्यालयहरूले केही परिवर्तन गर्न चाहेजस्तो देखिँदैछ ।
राजधानी र विकासको गतिमा केही अघि रहेका शहरहरूका केही विद्यालयहरूमा प्राविधिक र व्यावहारिक शिक्षाको नाटकै भए पनि आरम्भ गरिएको देखिन्छ । स्थानीय तहका सरकारमा सक्षम व्यक्ति भएका ठाउँहरूका गाउँका विद्यालयहरूमा भने कृषि, पशुपालन, पुर्खौली पेशा आदिको व्यावहारिक ज्ञान दिन थालिएको पाइन्छ । विद्यार्थीले घरमा गरेका व्यावहारिक घरायसी कार्यहरूको समेत मूल्यांकन गरेर परीक्षामा नम्बर दिने परिपाटी सुरु गर्न खोजिएको छ । यसले विद्यार्थीहरूलाई पढेरमात्रै पुग्दैन भन्ने सन्देश पक्कै पनि दिन सक्दछ ।
शहरमा हुर्के बढेका र पढेकाहरूले त हलो जुवा आदि चिन्ने त कुरै भएन । यतिसम्म कि उनीहरूले बिहान बेलुकै बाबुआमाको करकापमा पिउने दूध पनि कहाँबाट आउँछ थाहा छैन । निकै गुणस्तरीय शिक्षा दिने भनिएका विद्यालयहरूका विद्यार्थीहरूले समेत दूध डेरीबाट आउँछ, पसलेले गेटमा ल्याएर बिहानै राखिदिन्छ जस्ता जवाफमात्रै दिन सक्दछन् । गाई र गोरु देखाएर यी के के हुन्भन्दा ’वो काउ’ भन्न बाहेक केही सक्लान् जस्तो लाग्दैन । गाउँका सामुदायिक विद्यालय पढेकाहरूमा भने प्रयोगात्मक र व्यावहारिक ज्ञान केही विशेष भएजस्तो लाग्दछ ।
कुनै बेला संस्कृतलाई मृतभाषा भनियो । अहिले संस्कृत नपढे मृतप्रायः भइने रहेछ भन्ने चेत पलाउँदै गएको देखिन्छ । संस्कृतले अन्धविश्वास बढायो, रुढीवादी परम्पराको संरक्षण गर्यो भन्नेहरू नै संस्कृत अध्ययनमा लालायित भएको देखिन्छ । राजधानीकै महँगा निजी विद्यालयहरूले समेत आफ्ना विद्यार्थीहरूलाई संस्कृतसमेत पढाउन थालेका छन् ।
आफ्ना बालाई पिता, बुबा आदिको सम्बोधन गर्दा बाबु नै लज्जित हुने बानी नेपालमा बस्यो । आमालाई न आमा भनियो, न माता नै । मम्मीको सम्बोधन प्यारो मान्नेहरूको संख्या बढ्दै गयो । आजका केटाकेटीले आमा भनेको हजुरआमा बुझ्दछन् भने आमालाई मम्मी भनेमात्रै बुझ्छन् । त्यसैगरी बा वा बुबा भनेको हजुरबुबा भएको छ । ड्याडी ममीहरूको प्रभावले नेपालमा बाआमाहरू हराइसकेको अवस्था छ । सानाबा, सानीआमा, फुपू, फुपाजू आदिको त कुरै गर्न परेन ।
यो अवस्थालाई मनन गरेर आजभोलि शहरकै कतिपय विद्यालयहरूले शिक्षकलाई सम्बोधन गर्दा सर मिसको सट्टा विद्यार्थीलाई गुरु, गुरुआमा भन्न लगाउन थालेका छन् । घरमा ड्याडी मम्मीको सट्टा आमा, बुबा आदि शब्दको प्रयोग गर्ने अभ्यास गराउन थालेको पाइएको छ । महिनाको हजारौं रुपैयाँ तिर्नुपर्ने विद्यालयमा विद्यार्थीहरूलाई कुचो लगाउन लगाएको पनि देखिन थालेको छ । आफूले खाएका भाँडा आफैं माझ्ने शिक्षा दिन थालेका छन् । घरमा गर्नुपर्ने कामको अभ्यास विद्यालयमा गराउनु प्रशंसनीय मान्नैपर्दछ ।
नैतिक शिक्षा अनावश्यक भनेर हटाउने मुलुक नेपाल नै हो । अहिले यही मुलुकले नैतिक शिक्षाको बोध गरेर पाठ्यक्रममा समावेश गर्दै गएको छ । पाश्चात्य शिक्षाले मात्रै विद्यार्थीलाई नपुग्ने रहेछ भनेर नीति निर्माताहरूले अनुभव गर्नुलाई सकारात्मक मान्नुपर्दछ । हाम्रा पुराण, शास्त्र, साहित्य आदिमा रहेका मानिसमा सकारात्मक भाव उत्पन्न गराउने कथाहरूले विद्यार्थीहरूमा ऊर्जा प्रदान गर्छ भन्ने ठानेर त्यसप्रकारको पाठ्यक्रम निर्माण गर्ने क्रम बढेको छ । साथै स्थानीय तहका रीतिरिवाज, संस्कार, धर्म, परम्पराहरूले मानिसलाई सबल बनाउने अनुभूति पनि गर्न थालेको पाइएको छ ।
कुनै बेला संस्कृतलाई मृतभाषा भनियो । अहिले संस्कृत नपढे मृतप्रायः भइने रहेछ भन्ने चेत पलाउँदै गएको देखिन्छ । संस्कृतले अन्धविश्वास बढायो, रुढीवादी परम्पराको संरक्षण गर्यो भन्नेहरू नै संस्कृत अध्ययनमा लालायित भएको देखिन्छ । राजधानीकै महँगा निजी विद्यालयहरूले समेत आफ्ना विद्यार्थीहरूलाई संस्कृत समेत पढाउन थालेका छन् । संस्कृत पढाउने गुरुकुलहरूमा विद्यार्थीहरूको संख्या बढ्दै गएको छ । संस्कृत विद्यालय र विश्वविद्यालयहरूले पनि आफ्नो आकर्षण बढाइरहेका छन् । मानिसको सोच बदलिँदै गएको जस्तो छ ।
शिक्षा नीति बनाउनेहरूले अब गम्भीर भएर सोच्नै पर्दछ । आफ्नो देशमै केही गर्छु र विदेशको भन्दा आम्दानी केही कम भए पनि स्वदेशमा पसिना बगाउनुको महत्व बेग्लै हुन्छ भन्ने ज्ञान दिलाउने शिक्षानीति तयार गर्नुपर्दछ । नीति निर्माताहरू नै आफ्ना सन्ततिलाई बाहिर पठाउन मरिहत्ते गर्छन् भने त्यस देशमा सही शिक्षा प्रदान हुन्छ भन्न पनि सकिँदैन । सरकारी जागिर नभए पनि स्वरोजगारबाट सरल जीवनयापन हुने शिक्षातर्फ अभिमुख हुनैपर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच