एउटै पार्टीभित्र मित्रतापूर्ण व्यवहार भएका दुई व्यक्तिहरूबीच एकाएक वैमनस्यतापूर्ण व्यवहार र भनाभनको अवस्था सिर्जना भयो भने त्यसबाट विभिन्न आशंका उत्पन्न हुन पुग्छन् र पार्टीलाई समेत यो टाउको दुःखाइको विषय बन्छ र बन्नैपर्छ । यसको नकारात्मक प्रभाव अन्ततोगत्वा सरकारमा समेत पर्नु स्वाभाविक हो । अहिले नेपाली कांग्रेस पार्टीभित्र यस्तै भइरहेको देखिन आएको छ । फरक-फरक पार्टी र तिनमा संलग्गन व्यक्तिहरूबीच झगडा हुनुलाई अस्वाभाविक भन्न मिल्दैन त्यस्तो भइ नै रहन्छ । तर आफैंभित्रको झगडा भने त्यसभित्र कुनै गम्भीर खालको समस्याबाट मात्र सिर्जना हुनसक्छ भनेर अनुमान गर्न गाह्रो पर्दैन । पद, पैसा र प्रतिष्ठाका सवालहरू त्यसमा जोडिएर आएका हुन सक्छन् । जिम्मदारीमा पुग्नेहरू शालीन, विनम्र र तार्किक भएनन् भने समस्याको बिउँ यही नै हुनसक्छ ।
अहिले मानिसहरूको सोच फरक छ । भागबण्डा नमिलेका कारणले झगडा भएको हो भन्ने आशंका विभिन्न स्तरमा मानिसहरूले गर्ने नै भए । सांसद र मन्त्रीका बीच कुनै प्रतिष्ठाको लडाइँ हुनुपर्ने देखिदैन । तरपनि केही न केही कारण नभई त तिनका बीचमा त्यस्तो प्रकारको भनाभन, आरोप-प्रत्यारोप वा लाञ्छना हुने कुरा आउँदैन । नेपाली कांग्रेसका सहमहामन्त्री तथा सरकारका पर्यटनमन्त्री समेत रहनुभएका बद्री पाण्डे र सांसद राजेन्द्र बजगाईंबीचको आरोप-प्रत्यारोपले हाल यस्तै गम्भीर अवस्थाको सिर्जना हुन पुगेको छ । यस्ता आरोप र प्रत्यारोप केही न केही कारण नभई हुने गर्दैनन् । त्यसभित्रको अन्तर्य केही न केही हुनसक्छ तर कुनै अवस्था भने आपसी वैयक्तिक कारणले भएको पनि हुनसक्छ भन्ने अनुमान वा शंकाको सुविधा भने पाउनुपर्ने हुनसक्छ ।
उहाँहरू दुईबीचको यो आरोप-प्रत्यारोप यदि त्यसो होइन भने के छ त त्यसभित्रको अन्तर्य त्यो सबैले थाहा पाउनुपर्ने हुन्छ । एउटै पार्टीका निकट सम्बन्धमा रहेका दुई व्यक्तिबीच यस प्रकारको आरोप-प्रत्यारोप रहस्यमय छ । यसको प्रभावलाई पार्टीका दुई व्यक्तिबीचको दन्तबझनाका रूपमा मात्र हेरिनुहुँदैन । यसले सबैतिर प्रभावित गराउनसक्छ । दीर्घकालसम्म यसको प्रभाव रहिरहनसक्छ । गोरखाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजेन्द्र बजगाईंले पर्यटनमन्त्री बद्री पाण्डेलाई भैरहवाको रोयल टाईगर रिक्रियसन प्रा.लि.लाई क्यासिनो सञ्चालनको इजाजतपत्र दिँदा आर्थिक अपचलन गरेको भन्ने गम्भीर आरोप लगाउनुभएको छ । उहाँसँग पनि यसको ठोस प्रमाण नभएकाले उहाँले मन्त्री पाण्डेलाई आफ्नो काम नगरिदिएको वा आफ्नो स्वार्थको काम नभएका कारण यस्तो आरोप लगाएको जस्तो देखिन आएको छ ।
सांसद बजगाईंले आफूले कसैबाट सुनेको वा थाहा पाएको कुरा सबैलाई सुसूचित गराएको मात्र हो । यसको छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाएर उहाँ दोषी वा निर्दोष भएको पुष्टि गर्ने जिम्मा सरकारको हो भन्नुभएको छ । यदि हल्ला वा सुनेका कुरामात्रै हुन् भने दलीय अभ्यास अनुरूप पहिले दलको आधिकारिक समक्ष त्यो सुनाइ प्रस्तुत गर्नु र तदनुरुप प्रक्रिया आरम्भ गराउनु कुनै पनि दलका समान जिम्मेदारहरूको जिम्मेदारी मानिन्छ । हल्लाका कुरालाई आधाकिारिक रूपमा सार्वजनिक गर्दै हिँड्दा उदीयमान नेतृत्व र केही गरौं भन्ने प्रतिभालाई निराश तुल्याउनसक्छ । स्वयं मन्त्रीले पनि विषयको यथार्थलाई हलुकासँग नलिई जिम्मेदारीपूर्वक र सहिष्णु भएर उत्तर दिने वा आफ्नो पक्ष राख्ने गर्नु उचित हुने छ ।
सामान्यतः कानुनी रूपमा आरोप लगाउनेले नै आरोप पुष्टि गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । आरोप चाहिँ लगाउने तर त्यसलाई पुष्टि गर्न चाहिँ सक्दिन भन्ने छुट बादी पक्षलाई हुँदैन । आरोप लगाउने पक्ष बादी हो । त्यस अर्थमा सांसद बजगाईं यस सन्दर्भमा बढी जिम्मेबार हुनुपर्ने हो । तर विषयवस्तुका आधारमा सरकारका तर्फबाट समेत छानविन गरी यथार्थ सार्वजनिक गर्ने वा कानुनी प्रक्रिया थाल्ने बाटो खुला हुन्छ । गल्ती गर्ने जो होस् र जुन पार्टीको होस् त्यसले गरेको गल्तीका कारण लहरो तान्दा पहरो गर्जिन्छ भन्ने उखान चरितार्थ हुन्छ । एउटा पार्टीको एकजना व्यक्तिबाट भएको त्रुटिले त्यो पार्टी प्रभावित बन्न जान्छ ।
कुनै पार्टी आन्तरिक रूपमा प्रभावित बन्नु भनेको समग्रमा अन्य पार्टीहरू पनि प्रभावित हुनु हो । हालको यो विवाद सबैभन्दा ठूलो सत्तारुढ पार्टीका सांसद र मन्त्रीबीचको विवाद हो । यसले गर्दा पार्टीभित्र यसको प्रभाव फैलिइसकेको छ र अर्को पार्टीबाट बनेका प्रधानमन्त्रीलाई समेत जानकारी गराउने काम भइसकेको छ । यसले गर्दा सरकारसमेत यी दुई व्यक्तिका कारण प्रभावित बन्नपुगेको अवस्था छ । कमजोरी जसको होस् जुन पार्टीका व्यक्तिको होस् त्यसले दण्डसजाय पाउनैपर्छ । दोषीलाई बचाउन खोज्ने पनि दोषी मानिन्छ । मन्त्री पाण्डेले आफ्नो चरित्र हत्या गर्न सांसद बजगाईंले यस्तो आरोप लगाएको र आफू जस्तोसुकै प्रतिवाद गर्न पनि तयार रहेको जानकारी दिनुभएको छ । मन्त्री पाण्डेले सांसद बजगाईंले उहाँको खेलोफड्कोमा सहयोग नपुर्याएको कारण आफ्नो मनोबल गिराउन यस्तो आक्षेप लगाउनुभएको बताउनुभएको छ ।
सांसद बजगाईंले त मन्त्री पाण्डेका साथै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसमेत यस प्रकरणमा जोडिन आउनुभएको आरोप लगाउनुभएको छ । यो आरोप-प्रत्यारोप पार्टीभित्र समेत चर्चामा रहेको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेसमक्ष पुगेको यस विवादमा उहाँले यस बारेमा गहिरोसँग छानबिन भइरहेको बताउनुभएको छ । दुबै पक्षसँग छलफल गरी छिटै एउटा निष्कर्षमा पुग्ने जानकारी पनि उहाँले दिनुभएको छ । उहाँले सांसद बजगाईले मन्त्री पाण्डेमाथिको यस्तो आरोप पार्टीभित्र नराखेर सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरेको घटनालाई गलत हो भन्नुभएको छ । यसबाट मन्त्रीको कुनै अनियमिततामा संलग्नता भएको भए पनि सांसद बजगाईले अपनाएको बाटो नै अर्गेलो हो भन्ने देखिन आएको छ ।
मन्त्री पाण्डे निर्दोष हुनुहुन्छ भन्ने जिकिर गर्न खोजिएको होइन उहाँ दोषी हुन सक्नुहोला तर कसैलाई दोषी करार गर्ने कानुनी बाटाहरू छन् । अख्तियार तथा अदालतहरू छन् तर ती बाटाहरू अपनाउनुको सट्टा अल्लारेहरूले टिकटक बनाएको जस्तो शैलीमा सांसद जस्तो गरिमामय पदमा रहेको व्यक्तिले त्यसरी सामाजिक सञ्जालबाट मन्त्रीलाई आरोपित गर्ने र पछि प्रमाणित गर्ने काम आफ्नो होइन, सुनेको कुरा भनेको हुँ भनेर पन्सिने गर्नु आफ्नै गरिमा खस्काउने काम गर्नु हो । यी सबै कुरालाई गम्भीरतापूर्वक छानबिन गरी पार्टीले सत्यतथ्य निष्कर्ष र निर्णय दिनु उचित हुन आउँछ । नत्र पार्टीको बद्नामी त यसै पनि हुन्छ नै साथै अन्य पार्टी, सरकार र अन्ततोगत्वा सर्वत्र कांग्रेस पार्टीकै बद्नाम हुन जान्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच