काठमाडौं । राजनीतिक दलहरूले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेका छन् । उपनिर्वाचनका लागि मनोनयन नजिकिएसँगै दलहरूमा उम्मेदवार चयनको रस्साकस्सी पनि तीव्र बनेको छ । उम्मेदवार चयनमा अन्य दलहरूभन्दा नेकपा एमाले अग्रस्थानमा देखिएको छ । एमालेले उपनिर्वाचन हुने ४४ स्थानीय तह र वडामध्ये अधिकांश उम्मेदवार चयन गरिसकेको छ । केही दिनअघि बसेको एमाले सचिवालय बैठकले पार्टीका तल्लो निकायबाट सिफारिश नामावली स्वीकृत गरेको थियो । बाँकी रहेका केही स्थानमा पनि एक/दुई दिनमै उम्मेदवार टुंगो लगाउने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ ।
गत स्थानीय तह निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस र पहिलोपटक स्थानीय तह चुनावमा भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने उम्मेदवार चयनमा सकस परेको छ । ४४ रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । तर, एमालेबाहेक कांग्रेस र रास्वपालाई उम्मेदवार तय कठिन परेको छ । कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिका, कीर्तिपुर नगरपालिकाका १ र ४ नम्बर वडा तथा काठमाडौं महानगर पालिका वडा नम्बर १६ मा उम्मेदवार टुंग्याउन सकेको छैन । मंसिर १६ गते कीर्तिपुर नगरपालिका प्रमुख र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा निर्वाचन हुन लागेको हो । गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष ३४ गरी ४४ पदमा निर्वाचन हुन लागेको छ । कैलाली र ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखको पनि निर्वाचन हुँदै छ । कांग्रेसले केही स्थानीय तहका उम्मेदवार भने चयन गरिसकेको छ ।
रास्वपाको कात्तिक २८ गते बसेको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति बैठकले ४४ मध्ये १७ उम्मेदवार टुंगो लगाएको थियो । जसमा महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढा, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सुजाता फडेरा, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा गोमा श्रेष्ठलाई उम्मेदवार बनाएको छ । तर, कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षसहित अझै २७ उम्मेदवार चयन गर्न बाँकी छ ।
स्थानीय नेतृत्वको सिफारिशपश्चात् प्रारम्भिक निर्वाचनमा निर्वाचित भएकालाई उम्मेदवार बनाइएको रास्वपाले जनाएको छ । उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीका अनुसार अन्य उम्मेदवार पनि टुंग्याउने तयारी भइरहेको छ । नयाँ पार्टी भएकाले सबैतिर संरचना नबन्दा उम्मेदवारी दिन समस्या भएको पराजुलीको भनाइ छ । ओखलढुंगा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने भाग नलिने रास्वपाले जनाएको छ ।
कांग्रेसमा सधैँको किचलो
कांग्रेसबाटै मेयरमा जित्नुभएका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकाको मेयरको लागि उपनिर्वाचन हुन लागेको छ । तर, कांग्रेसलाई कीर्तिपुरमा मेयरको उम्मेदवार तय गर्न सकस देखिएको छ । माओवादीले कीर्तिपुरको मेयरमा प्राडा. शिवशरण महर्जन, एमालेले डा. सुरेन्द्र मानन्धर र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा सिफारिश गरेका छन् । तर, ११ जना आकांक्षी रहेको कांग्रेसलाई उम्मेदवार सिफारिश गर्न सकस देखिएको छ । ११ जनामा नगर समिति सभापति कृष्णमान डंगोलको नाम पहिलो नम्बरमा सिफारिश भएको छ । यीबाहेक बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, समीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन उम्मेदवारका लागि सिफारिश हुनुभएको छ ।
नाउपाले १७ ठाउँका लागि उम्मेदवार टुंग्यायो
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले १७ वटा स्थानमा उम्मेदवार टुंगो लगाएको छ । नाउपाले बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्षमा रेखा जेठारा, कैलालीको जिसस प्रमुखमा रुक्मती थारुनी, कञ्चनपुर भीमदत्त नगरपालिका-६ मा वडाध्यक्ष हरिश चौधरीलाई उम्मेदवार बनाएको छ । लुम्बिनी प्रदेशको कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ मा वडाध्यक्षको लागि सूर्यकुमार चौधरी थारू, बर्दिया ठाकुरबाबा नगरपालिका-४ को वडाध्यक्षका लागि प्रितिलाल थारूको नाम टुंगो लगाएको छ भने गण्डकी प्रदेशको गोरखामा गोरखा नगरपालिका-५ मा वडाध्यक्षका लागि सुकमाया नेपाली, बागमती प्रदेशको नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्षका लागि अमृत तामाङलाई उम्मेदवार बनाएको छ । यस्तै, मधेश प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ मा अध्यक्षका लागि शिवकुमार राम र सोही पालिका-१ को वडाध्यक्षका लागि चन्द्रकिशोर चौधरीको नाम टुंगो लगाएको छ । रौतहटको ईशनाथ नगरपालिका-७ मा वडाध्यक्षका लागि टेक साहिद, रौतहटकै राजपुर नगरपालिका-६ मा वडाध्यक्षका लागि नरुद्धिन खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने रौतहटकै गढीमाई नगरपालिका-८ को वडाध्यक्षका लागि टेक सुनौलालाई सिफारिश गरेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि बुद्धिचन विश्वासलाई उम्मेदवार बनाएको छ । सुनसरीको गढी गाउँपालिका-८ मा वडाध्यक्षका लागि ललित चौधरी, ताप्लेजुङको सिरीजंगा गाउँपालिका-३ का वडाध्यक्षका लागि प्रेममा देनलाई उम्मेदवार बनाउने नाउपाले निर्णय गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षका लागि सीताराम चौधरी र उदयपुरकै बेलका नगरपालिका-८ को वडाध्यक्षका लागि भुपेन्द्र राईलाई सिफारिश गरिएको पार्टीले जनाएको छ ।
प्रमुख राजनीतिक दलले टुंग्याए हेटौँडामा उम्मेदवार
प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका-१२ को रिक्त वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुंगोे लगाएका छन् । गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको हो । नेपाली कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमालेले राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रले रविन प्रधान, नेकपा एकीकृत समाजवादी (नेकपा एस) बलराम बल, रास्वपाले आशा वीरबल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेसबाट स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा शाही
नेपाली कांग्रेसले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाएको छ । शाही पार्टीमा प्रदेश सभा क्षेत्र १ की सदस्य हुनुहुन्छ । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मैना जोशीको २०८० माघ ४ गते निधन भएसँगै यहाँ उपाध्यक्ष रिक्त छ । नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा उम्मेदवार हुनुहुन्छ । उहाँ यसअघि कांग्रेसकी जोशीसँग पराजित हुनुभएको थियो । नेकपा माओवादी केन्द्रले राजुकुमारी विकलाई उम्मेदवार बनाउने भएको छ ।
उदयपुरमा पाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक
स्थानीय तह उपनिर्वाचनमा रिक्त दुई वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ को रिक्त वडाध्यक्ष पदका लागि ती दलले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षमा नेपाली कांग्रेसले सञ्जीव काफ्ले, नेकपा एमालेले लक्ष्मी नारायण चौधरी, माओवादी केन्द्रले नविक वान्तावा, नेकपा एसले निर्मला चौधरी र रास्वपाले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ । यसैगरी, बेलका नगरपालिका-९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उम्मेदवार बनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच