प्रबिधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । परम्परागत रुपमा पशुपालन गरि दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रबिधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका करिब एक हजार ६०० जना किसान प्रबिधिको प्रयोग गरि दुग्ध उत्पादनमा लागेका हुन् ।

धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र बागलुङ र प्राटिकल एक्सन नेपालको सहकार्यमा किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक उपकरण उपलब्ध गराएपछि अहिले गुणस्तरीय दुध उत्पादन गर्न थालेका हुन् । दुई पालिकाका आठ वटा दुग्ध उत्पादन सहकारीमा आवद्ध र ४२ वटा व्यक्तिगत फर्म संचालन गर्दै आएका किसानलाई उपकरण उपलब्ध गराइएको थियो ।

किसानहरुलाई मिल्क एनालाइजर, सोलार वाटर हिटर, चाप कटर लगायतका आधुनिक उपकरण उपलब्ध गराइएको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रका इन्जिनियर साजन आचार्यले जानकारी दिनुभयो । बागलुङ र काठेखोलाका दुग्ध उत्पादक सहकारी, संघ र व्यक्तिगत फर्ममा आबद्ध किसानलाई गत असोज महिनामा उक्त उपकरण उपब्लध गराइको उहाँको भनाइ छ । इन्जिनियर आचार्यका अनुसार दुई पालिकामा रु ५९ लाख ७५ हजार ५०० लगानी गरेको इन्जिनियर आचार्यले बताउनुभयो ।

काठेखोला गाउँपालिका-८ लेखानी स्थित गाजा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गुणाखर कँडेलले आधुनिक उपकरण प्रयोग गर्न थालेपछि किसानल दुधको गुणस्तर बढाउन लागेको बताउनुभयो । दुधको गुणस्तर बढेपछि उचित मूल्यसमेत पाउन थालेको उहाँको भनाइ छ । पहिले गाउँका किसानले उत्पादन गरेको दुधको गुणस्तर मापन गर्न निकै झण्झटिलो रहेको अहिले सहज बनेको अध्यक्ष कँडेलले बताउनुभयो ।

काठेखोला गाउँपालिका-६ का दुग्ध उत्पादक किसान सुरेश कुँडलले आधुनिक उपकरणको प्रयोग गर्न थालेपछि पशुचौपाय निरोगी हुँदै गएपछि दूध उत्पादन पनि बढेको बताउनुभयो । आफूले सोलार वाटर हिटर प्राप्त गरेपछि भैँसीलाई समय-समयमा तातोपानीले नुहाई दिएपछि निरोगी भएको सुनाउँदै धुँवारहित गोठ बनेको उहाँको भनाइ छ ।

कँडेलले भन्नुभयो - “पहिले गोठमै कुँडो पकाउनु पर्थ्याे, धुँवाले गर्दा वस्तुभाउ बिरामी पर्थे, दाउराको खपत बढि हुन्थ्यो, तर अहिले सोलारबाट पानी तताउन थालेपछि समयको बचतसँगै घरगोठ धुँवारहित बनेको छ, यसले मान्छेको स्वास्थ्यमा समेत असर गरेको छैन भने दुध पनि पहिलेको तुलनामा केही बढी उत्पादन हुन थालेको छ ।”

धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र बागलुङकी अध्यक्ष सिर्जना थापाले किसानलाई प्रबिधिसँग जोडेर जीविकोपार्जनमा टेवा पुर्‍याउने हिसाबले आधुनिक उपकरण अनुदानमा सहयोग गरेको बताउनुभयो । किसानले उपकरणको प्रयोग गर्न थालेपछि दुध उत्पादनमा थप मद्दत पुगेको उहाँको भनाइ छ । प्रबिधिको प्रयोग गरेको छोटो समयमै उनीहरुको व्यवसाय राम्रो हुँदै गएको अध्यक्ष थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?