काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा पुग्ने चारै टोलीको टुंगो लागेको छ । कर्णाली याक्स प्लेअफमा पुगेसँगै चारै टोलीको टुंगो लागेको हो । सोमबार बिहान सुदूरपश्चिमले १३ ओभरमा खेल जितेको भए कर्णाली बाहिरिने थियो । तर, सुदूरपश्चिमले लक्ष्य पछ्याउने क्रममा १३ ओभर कटेलगत्तै कर्णालीको प्लेअफ स्थान सुरक्षित भएको हो ।
कर्णाली प्लेअफ पुग्नेसँगै काठमाडौं गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् । सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्यो ।
सुदूरपश्चिम सात खेलमा ६ जित र एक हारको नतिजासहित १२ अंक जोडेर शीर्ष स्थामा रहृयो । दोस्रो स्थानको जनकपुरले पाँच जित र दुई हारको नतिजासहित १० अंक जोड्यो । यसैगरी चितवन, कर्णाली र काठमाडौंले चार जित र तीन हारको नतिजासहित समान आठ अंक जोडे । तर, नेट रनरेटमा अगाडि हुँदा चितवन तेस्रो र कर्णाली चौथो स्थानमा रहे ।
बुधबार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरले प्रतिस्पर्धा गर्ने छन् । यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्ने छ । हार बेहोर्ने टोलीले पनि दोस्रो क्वालिफायरको मौका पाउने छ । चितवन र कर्णालीबीच पनि बुधबारै एलिमिनेटर राउन्डमा प्रतिस्पर्धा हुने छ । यो खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीको सामना गर्ने छ । एलिमिनेटरमा हार्ने टोलीको भने एनपिएल यात्रा समाप्त हुने छ । बिहीबार हुने दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेतासँग प्रतिस्पर्धा गर्ने छ प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।
सुदूरपश्चिमसँग कर्णाली पराजित
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमका लागि इशान पाण्डेले अविजित ३८, कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ र सेफ जैबले ११ रन बनाउनुभयो । कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान एक विकेट लिनुभयो ।
दोस्रो ओभरको अन्तिम बलमा विपिन शर्माले चार रन बनाएर खेलिरहनुभएका विनोद भण्डारीलाई एलबिडब्ल्युको धरापमा पार्नुभयो । तेस्रो ओभरको छैटौँ बलमा सेफ जैब ११ रन बनाएर पेभेलियन फर्किनुभयो । उहाँलाई सोमपाल कामीले एलबिडब्ल्युको धरापमा पार्नुभयो । छैटौँ ओभरको पहिलो बलमा ब्रेन्डन म्याकमुलन रनआउट हुनुभयो । उहाँले तीन रनमात्रै जोड्न सक्नुभयो । कठिन अवस्थामा रहेको सुदूरपश्चिमको इनिङ दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले सम्हाल्नुभएको थियो । नन्दन यादवले १४औँ ओभरको तेस्रो बलमा पेभेलियनको बाटो देखाउनुअघि दीपेन्द्रले २९ बलमा चार चौका र एक छक्काको मद्दतले ३८ रन बनाउनुभयो । उहाँ विकेटकिपर चाडविक वाल्टनबाट क्याच हुनुभयो ।
दीपेन्द्र र इशानले चौथो विकेटका लागि ६७ रनको साझेदारी गर्नुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि जिसन मक्सुदले ३०, विल बसिस्टोले १६, बाबर हायातले १२ तथा चाडविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन बनाउनुभयो ।
सुदूरपश्चिमका लागि हरमित सिंहले तीन, दीपेन्द्रसिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुई तथा सेफ जैबले एक विकेट लिनुभयो । पहिलो ओभरको अन्तिम बलमा ऋत गौतमलाई खाता पनि खोल्न नदिई हरमित सिंहले बोल्ड गर्नुभयोे । दोस्रो ओभरको अन्तिम बलमा स्कट कुग्गेलिजनले बाबर हायातलाई अभिनाश बोहराबाट क्याच गराउनुभयो । उहाँले नौ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउनुभयो ।
छैटौँ ओभरको दोस्रो बलमा देव खनाल रनआउट हुनुभयो । उहाँले सात रन जोड्नुभयो । आठौँ ओभरको तेस्रो बलमा जैबले ११ रन बनाएर खेलिरहनुभएका चाडविक वाल्टनलाई एलबिडब्ल्युको धरापमा पार्नुभयो । दीपेन्द्रसिंह ऐरीले १६औँ ओभरको पाँचौँ बलमा विल बसिस्टोलाई कुुग्गेलिजनबाट क्याच गराउनुभयो । उहाँले २४ बलमा एक चौकाको मद्दतले १६ रन बनाउनुभयो । गुल्सनकुमार झा १७औँ ओभरको दोस्रो बलमा रनआउट हुनुभयो ।
दीपेन्द्रले १८औँ ओभरको चौथो बलमा जिसन मक्सुदलाई पेभेलियनको बाटो देखाउनुभयो । ३५ बलमा चार चौका प्रहार गर्नुभएका उहाँ ब्रेन्डन म्याकमुलनबाट क्याच हुनुभयो । सोमपाल कामी १९औँ ओभरको पाँचौँ बलमा पेभेलियन फर्किनुभयो । ११ रन बनाउनुभएका उहाँलाई कुग्गेलिजनले इशान पाण्डेबाट क्याच गराउनुभयो ।
हरमितले अन्तिम ओभरको चौथो बलमा नन्दन यादवलाई खाता पनि खोल्न नदिई म्याकमुलनबाट क्याच गराउनुभयो । सोही ओभरको अन्तिम बलमा अभिनाश बोहरा विकेटकिपर विनोद भण्डारीबाट स्ट्याम्पिङ हुनुभयो । उहाँले पनि खाता खोल्न सक्नुभएन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच