यद्यदाचरति श्रेष्ठ तत्तदेवेतरोर्जुनः
समाजको नेतृत्व गर्ने या समाजकै श्रेष्ठ ठानिएका व्यक्तिका आचरण र क्रियाकलापको अनुकरण पछिल्ला र तल्लो तहमा रहेकाहरूले गर्ने गर्दछन् भनेर गीतामा कृष्णले अर्जुनलाई सम्बोधन गरेको यस श्लोकले मलाई एकछिन् झस्कायो । मैले कालु पाण्डे, पृथ्वीनारायण शाह, विराज बखती, अमरसिंह थापा, भक्ति थापा, नारायणदास अर्याल र ती अनगन्ती गोर्खाली वीर मगरहरूलाई पनि सम्झेँ जसका जीवनसमाधिमा यो राष्ट्रको ध्वजा फहराएको छ । बहादुर शाहलाई सम्झँदा गौरवले छाती चौडा भएर आयो भने रणबहादुर शाह जस्तो स्त्रैण, नालायक शासकलाई सम्झँदा भने भित्रैदेखि उमडिएर आएर बान्ता होला जस्तो भयो जसरीतसरी रोकेँ ।
थापा र पाण्डेका बीचको लडाइँ पनि सम्झेँ, राणाले बन्दी बनाएका राजालाई मुक्त गरेर यो देशलाई आधुनिक दृष्टिले एउटा सार्वभौम सत्तासम्पन्न मुलुकका रूपमा पहिलोपटक विश्वविरादरीका हारमा उभ्याउने बहादुर नेपाली जनताको नेतृत्व गर्ने नेपाली कांग्रेसका क्रान्तिनायक २००७ साले क्रान्तिका सर्वोच्च कमाण्डर मातृकाप्रसाद कोइराला र जननायक विश्वेश्वरप्रसाद कोइरालाका काम कुरा पनि सम्झेँ । यिनका कुराले मलाई उच्चतम गौरव बोध पनि गरायो र मनलाई खिन्न पनि गरायो ।
आज कांग्रेस मूल्यभन्दा नाफा, समग्र दलको चिन्तनभन्दा गुटको हितचिन्तन, योग्य स्थानमा योग्यको छनोटभन्दा आफन्तको खोजी र चयनमा निमग्न रहेको देखिन्छ । समग्रमा भन्दा कांग्रेस कांग्रेस जस्तो छैन । ठेकेदार, चोर ज्यानमारा, लम्फूका हातको माखो बनेको देखिन्छ कांग्रेस ।
अरूले खेलेका खेलका रहस्यको पनि रहस्य त ठूला र महान् भनिएकाहरूले पनि चाल पाउन सक्दारहेनछन् । दरबारले मातृकालाई समातेर बीपीसँग फुटायो । यिनका मनमा पनि साप्त्न्यभ्रातृभावले जरा फैलाउँदै लगेर प्रधानमन्त्री भएको मान्छे परराष्ट्रसेवाको सहसचिवस्तरीय राजदूत बनेर जाने परिस्थितिको निर्माण गरेको देख्दा र प्राध्यापकहरू प्राध्यापकभन्दा राजदूत नामको परराष्ट्रको सहसचिवमा हिरिक्क हुने संस्कारको विकासले पनि आज मलाई हीनताबोध गराएको गराएकै छ । हुन त धेरै प्राध्यापक आफूले एम.ए.पढ्दा तयार गरेको नोट आफ्ना कक्षाका विद्यार्थीलाई लेखाएर अवकाश लिने अवस्थासम्म पुगेकाहरूलाई के प्राध्यापक भन्नु र ? आज कांग्रेस मूल्यभन्दा नाफा, समग्र दलको चिन्तनभन्दा गुटको हितचिन्तन, योग्य स्थानमा योग्यको छनोटभन्दा आफन्तको खोजी र चयनमा निमग्न रहेको देखिन्छ । समग्रमा भन्दा कांग्रेस कांग्रेसजस्तो छैन । ठेकेदार, चोर ज्यानमारा, लम्फुका हातको माखो बनेको देखिन्छ कांग्रेस ।
जस्तो आफू उस्तै च्यापु
दुई-चार वर्षको अन्तरालमा खुलेको अर्को राजनीतिक दल हो नेपाल कम्युनिष्ट पार्टी । यो र नेपाली कांग्रेस स्थापनाकालीन आचरण र दर्शनका दृष्टिले दिनरात जस्तै ठानिएका राजनीतिक दल पनि हुन् । सुरुमा दुवै आदर्शचिन्तन र व्यवहार प्रयोगमा सुन्दर थिए आआफ्ना क्षेत्रमा । आचरण चिन्तन र चारित्रिक चमकमा दुवैतिर क्षयीकरण भएर आज घूस, ठगी, अनाचार, व्यभिचार, दम्भ, आक्रोश गुटबन्दी जस्ता कुरामा यी दुवै दलका नेतादेखि कार्यकर्तासम्म आकण्ठ चुर्लुम्म डुबेका भेटिन्छन् । जनताका कुरालाई अराजक अभिव्यक्ति भनेर जनता र देशसेवाको सपथ खाएर मन्त्री प्रधानमन्त्री बनेकाहरू लाजै पचाएर सार्वजनिक विद्युतीय सञ्चारबाट जनतालाई नै गालीगलौज बोल्छन् ।
नाच्न नजान्ने आँगन टेढो भनेको यही होइन र ? अथवा आफ्ना आँङको भैंसी नदेख्ने अर्काका आङको जुम्रो नियाल्ने । यस मामलामा कांग्रेस न एमाले दुवै समान छन् । पुष्पलाल, मनमोहन, मदन भण्डारी जस्ताका चिन्तनलाई १५ वर्षे महासचिवीय पदासीनले अलिअलि पालन गरे जस्तो गरेर पनि मूलतः क्षयीकरणमा नै लगेका थिए भने अहिले दोस्रो पल्ट नेतृत्वमा दिग्विजय गरेर आएका नेताको आगमनले त सभ्य मान्छेले लाजै मान्नुपर्ने अवस्थामा पु¥याएर उभ्याइदिएको छ । अहिले कांग्रेसका नेता र एमालेका १ नम्बरका नेता जहाँ जान्छन् तिनका विरुद्ध मूर्दावादको नारा घन्किन्छ तर पनि ती महान् नेपाली सपूत दुई खुट्टामा देखिने सुरुवाल या पेन्टले छोपेकै छ भनेर मख्ख छन् । यसको अर्थ हो गिदीमा बोसो पलाएको छ अथवा हीनता र उच्चता भनेको यिनले चिनेजानेको वस्तु नै होइन ।
देश हाँक्ने देशलाई चलायमान बनाउने ठाउँमा बसेका मान्छेको यो मति भएपछि त्यो देशका जनताको, तिनीहरूलाई दैनन्दिन चाहिने सामग्रीका आपूर्तिको अवस्था कस्तो होला ? सरकार जनता र देशको अभिभावक हो । जुन अभिभावक स्वार्थलम्पट छ, चरित्रहीन बनेर हरेक आर्थिक अपचलनमा उसको नाम शीर्ष स्थानमा आउँछ भने त्यस्ताले हाँकेका देशको हालत कस्तो होला अनुमान गर्न पनि त्यस्तैको आवश्यक्ता पर्दैन भन्न सकिन्छ र ? शायद यही होला जस्तो आफू उस्तै च्यापु भनेको पनि ।
पछिलग्गू नेता बन्दैन
अर्काको जमिन जोत्ने मोही या हली हो, किसान होइन । अर्काका वस्तु चराउनेलाई तराईतिर चर्बाहा भनिन्छ भने हामी गोठालो भन्छौं । न हलीले खेतको उब्जनी आफ्ना ढिकुटीमा हाल्न पाउँछ न त गोठालो या चर्बाहाले आफूखुशी चौपाय पजनी गर्नसक्छ । अहिले नेपाली कांग्रेस र नेकपा एमालेमा पनि यस्तै गोठाला र हलीको दब्दबा मच्चिएको देखिन्छ । दलमा अनुशासन हुनुपर्छ । सबै नेता हुँदैनन् तर मुखिया नै बाटो मलुवा भयो भने ? गाईभैंसी खेतका गरामा बाँधेर खेतबारी मलेको त धेरैलाई थाह पनि होला । बाटो मलुवा थिति बिगाराका पछि यिनै हली भोलि जमिनदार बन्न आफूभन्दा ठूला हलीका पिछलग्गू बनेर हिँडेको देखिन्छ । यो प्रक्रिया दुवै दलमा मात्रै होइन अर्को एउटा हाम्रेडानन्द (माओवादी) दल छ त्यसका नेताकार्यकर्ता त मान्छे मार्न र काट्न खप्पिस छन् ।
सबै जातजाति, वर्गलिंग, धर्मदर्शन लैंगिक विभेददेखि सबैको परिसमाप्ति चाहने भैंसी चेतनाको बाहुल्य भएको त्यस दलका नेताले आफूबाहेक अरूलाई तीन वर्षे नाबालक देख्ने गरेको व्यवहारमा नै देखिन्छ । अनि त हाम्रेडानन्दका वरिपरि जम्मा भएर भ्याभ्या गर्नु नै तिनको राजनीति बनेर देखिएको छ । नेकपा एमालेले पनि यसैको अनुकरण गरेको देखिन्छ । यिनको त थर, गोत्र, प्रवर, जात, थात र विचार पनि समानान्तर भएका हुनाले मिल्नु अनौठो पनि होइन भन्ने मानौं न त भने पनि नसनाता केही नमिल्ने जात न भातको कांग्रेस पनि समान बनेर देखिन थालेको हुनाले नेपाली जनताले कांग्रेसका केही मौलिक चिन्तन गर्ने मान्छे को को हुन् त भनेर विचार गर्न लागेको देखिन्छ ।
यसरी विचार गर्दा एउटा बाघको डम्मरु भेडाका बथानमा सानैमा छुटेछ रे । भेडीले पनि आफ्नै पाठो ठानेर दूध खुवाएर हुर्काइछ रे । बिस्तारै त्यो डम्मरुले सिकार खेल्ला भनेको त भेडाभेडीका पछि लागेर घाँस खान पो सिक्न थालेछ । अहिलेको नेपालमा यस्तै घटना चरितार्थ भएको छ । यसरी स्वत्व गुमाएको बाघको बच्चोबाट सिकारको आसभन्दा वंशान्तरणको त्रास बढ्न थालेका बेला अर्को एउटा बाघको डमरु वनमा गर्जन थालेको चाल पाएर हुँडारबाट त्रस्त पशुपक्षीले त्राणको सास फेर्न पाएजस्तै भएको छ अहिले नेपाली राजनीतिका वनमा । यसरी गर्जेर वनमा देखिएको डमरु हो डा.शेखर कोइराला नामको मान्छे ।
केशव कोइराला, नोना कोइरालाका जोडीले विराटनगरमा बसेर खेती किसानी गरेर बीपी र गिराजाप्रसाद तथा तारिणी कोइरालालाई अहोरात्र राजनीतिमा लाग्न पाउने वातावरण नबनाइदिएका थिए भने एकातिर अनि अर्कातिर सुशीला कोइरालाले कत्थकनृत्यको विद्यालय चलाएर वनारसमा बसेर सबै देवरदेउरानीका सन्तानलाई पनि ओथारेर पढाएर लेखाएर सक्षम नबनाउनुभएको थियो भने । यदि सुशीला र रोषा कोइरालाले यसरी घर नसम्हालेको भए शायद नेपालको राजनीतिले अर्कै मोड पनि लिनसक्थ्यो । हो, अहिले शेरलाई पनि शेखरका त्रासले सताएको देखिन थालेको छ ।
शेखरले पनि बुझ्नु के पर्दछ भने घृणा, द्वन्द्व र बहिष्कार या विस्मृतिभन्दा भिडेर सत्यका पक्षमा निर्भीक बनेर उभ्भिन सक्नेका पक्षमा नै जनताको अभिमत हुन्छ भन्ने बुझ्नुपर्दछ । धमिला पानीले सेतो कमेज बिगार्छ सुकिल्याउँदैन । अविश्वास, भिडन्त र तोडफोड पनि राजनीतिमा गरेको देखिन्छ तर पनि सोझो सरल, सत्यबोली, सत्य व्यवहारले कहिल्यै पनि हार्दैन भन्ने कुरो बीपी, गान्धी आदिका जीवनका घटनाबाट सिक्नु आवश्यक छ । कोशी बेचुवा र गण्डक बेचुवा भन्नेहरू नै आज बीपीका अनुयायी बनेका छन् । बीपी सत्तामा धेरै बस्न पाएनन् तर आजको नेपालमा बीपी एउटा चिन्तन, एउटा सभ्यता र एउटा सत्यको धरातल बनेर रहेको छ नेपालीका लागि ।
बेला आएको छ गुटबन्दी, परिवारवाद, नसनातावाद, वर्णवादका सिकन्जालाई तोडेर यस दललाई आमकिसान, मजदुर, बौद्धिक समुदाय र तमाम नेपालीको चाहना पूरा गर्ने ल्याकत र हिम्मत भएका दलमा पुनस्र्थापित गर्ने निर्लोभी, सक्रिय, बोलेको पुर्याउने, अप्राकृतिक गठबन्धन गरेर पनि सत्ताशयर गर्ने प्रवृत्तिबाट पनि जोगाउन सक्नुपर्दछ ।
अहिले शेखरले म नेता बन्छु अयोग्य, भ्रष्टको सहयोग चाहिँदैन भनेर मुखले नभनीकन तिनलाई किनारमा राखेर हिँड्नु आवश्यक छ । ‘हामी नेता बन्दैनौं भ्रष्टाचारीलाई नेता मान्दैनौं’ भन्दै छन् नेपाली जनता । डा.शेखरले नेपालीको यो भनाइलाई उनका राजनीतिक जीवनको गायत्री मन्त्र बनाउन सक्नुपर्दछ । जुन जोगी आए पनि कानै चिरेका भन्न विवश पारिए जनता भने मुलुकले अनेकौं घुम्ती र मोड बेहोर्नुपर्ने पनि हुनसक्छ । बुद्धिमानी चेत्छ मूर्ख रिसाउँछ ।
खाम्रेशानन्द, हाम्रेडानन्द र सदानन्द
खाम्रेशानन्द यो देशको सबैभन्दा पुरानो राजनीतिक दल हो । यसलाई बिस्तारै पालो पर्खंदै आएको नेतृत्वले कांग्रेसबाट भाँडाङ्ग्रेस र अहिले खाम्रेशमा रूपान्तरण गराएका छन् । यसका विरुद्धमा डा.शेखरले सत्य, अहिंसा, अगुटबन्दी, समानता, स्वतन्त्रता, भ्रातृता र विश्वबन्धुताका विश्वव्यापी कांग्रेसका मूल्यमान्यतालाई स्थापित गर्ने रुचि, चेष्टा र उदारता प्रदर्शन गर्न सक्नुपर्दछ । विभेद, कमैयापना, पिछलग्गूपनाबाट विश्वमा कोही पनि नेता बनेको छैन । आफ्नै दाजु मातृकाले पनि बाटो बिराएपछि बीपीले उनलाई दरकिनार गरिदिएका थिए ।
बेला आएको छ गुटबन्दी, परिवारवाद, नसनातावाद, वर्णवादका सिकन्जालाई तोडेर यस दललाई आमकिसान, मजदुर, बौद्धिक समुदाय र तमाम नेपालीको चाहना पूरा गर्ने ल्याकत र हिम्मत भएका दलमा पुनस्र्थापित गर्ने निर्लोभी, सक्रिय, बोलेको पु¥याउने, अप्राकृतिक गठबन्धन गरेर पनि सत्ताशयर गर्ने प्रवृत्तिबाट पनि जोगाउन सक्नुपर्दछ । यसरी धीरगम्भीर भएर सोचेरमात्र पनि पुग्दैन, गाईलाई गाईकै स्थानमा र गधालाई गधाकै स्थानमा राखेर काम लिनसक्ने क्षमता चाहिन्छ नेतामा । आलसी, क्रोधी, लोभी र बकुल्ले दाउ हेराइबाट अहिले नेपाली जनता वाक्क भएका छन् । करनी र कथनीको भेटै नहुने रोग पनि अहिलेका सत्ताधारीमा देखिएको महारोग हो ।
एउटा बोल्दै नबोली बकुल्लो चरित्र प्रदर्शन गर्ने अर्को गफको भारी पृथ्वी गुरुङ जस्ता स्वामीभक्त पालेर नेपाली जनताको मुख थुनेर प्रधानमन्त्रीका कुर्सीमा पनि बस्ने जनतालाई दम्भ प्रदर्शन गरीगरी धम्क्याउने जस्ता गलत चरित्रको परिशोधन खोजेका छन् यो देशका तमाम जनताले । परिशोधनको नारा दिएर आएको रवि जस्ता हुँडारानन्दको पनि काम छैन । बोली कार्यमा परिणत होओस् । बीपीले झैँ मूल्य र स्वतन्त्रताका लागि कठोरभन्दा कठोर परीक्षामा पनि उत्तीर्ण भएर देखाउन सक्ने नेता नै आजको आवश्यक्ता हो । डरले, धाकले र मसलले डराउने मान्छे कहिल्यै पनि नेता बन्न सक्दैन ।
आसे हुन्छ, भरिया हुन्छ, नोकर चाकर पनि बन्छ तर सर्वतन्त्र स्वतन्त्र रहेर देश, जनता र मुलुकका सबै तहतप्कालाई नेतृत्व प्रदान गर्ने नेता परमुखापेक्षी बन्न सक्दैन । यसरी हेर्दा अहिलेको नेपाली राजनीतिमा हाम्रेशानन्द र हाम्रेडानन्दको बिग्बिगी चलेको छ । यसलाई तोडेर सत्य, अहिंसा सदाचार, न्याय, समानता र भ्रातिताका साथै चुस्तदुरुस्त शैलीमा दल सञ्चालन, चुस्तदुरुस्त किसिमले सरकार सञ्चालन गरेर सदाचारमा आनन्द मान्ने सदानन्दमूर्ति बनेर आफूलाई प्रस्तुत गरे शेखरले भने शिखरमा आसीन हुन्छन्, कसैले केही पनि गर्न सक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच