युरोपमा पाँच सय वर्षयताकै सबैभन्दा खराब खडेरी

हिमालय टाइम्स
Read Time = 11 mins

ब्रसेल्स । कुनै समय बाह्रै महिना नदी बगिरहने फ्रान्सको बरगण्डीस्थित लक्स क्षेत्रमा लामो खडेरीका कारण रूखहरूको पंक्तिको बीचमा बतास चल्ने फराकिलो खाडल छ र यहाँ सुख्खा बालुवा, धुलो र हजारौं मरेका माछाहरूको अवशेष देखिन्छ ।

लामो खडेरीले युरोपेली महाद्वीपको लगभग आधा भागलाई प्रभावित पार्दा स्पेनमा सुख्खा र फुटेका जलाशयहरूदेखि डेन्यूब, राइन र पोजस्ता प्रमुख सहायक नदीहरूमा पानीको स्तर घट्दै गएको छ । यसले कृषि अर्थतन्त्रलाई क्षति पु¥याइरहेको छ, पानीमा अभाव भएको छ, डढेलो लागेको छ र जलचर प्रजातिहरूलाई खतरामा पारिरहेको छ ।

पश्चिमी, मध्य र दक्षिणी युरोपमा करिब दुई महिनादेखि उल्लेखनीय वर्षा भएको छैन । खडेरी अझै जारी रहने अनुमान गरिएको छ र यो पाँच सय वर्षमा सबैभन्दा खराब खडेरी हुनसक्ने विशेषज्ञहरूले उल्लेख गरेका छन् । जलवायु परिवर्तनले परिस्थितिलाई थप जटिल बनाइरहेको छ । तातो तापक्रमले वाष्पीकरणलाई गति दिने, तिर्खाएका बोटबिरुवाले बढी आर्द्रता लिने र हिउँदमा कम हिमपातले गर्मीयाममा सिँचाइका लागि उपलब्ध ताजा पानीको आपूर्तिलाई सीमित गर्ने अवस्था आएको छ  । पूर्वी अफ्रिका, पश्चिमी अमेरिका र उत्तरी मेक्सिकोमा पनि खडेरीको अवस्था देखिएको छ  ।

लक्सको १५ मिटर चौडा (५० फिट चौडा) नदीको किनारमा हिँड्दै गर्दा स्थानीय ‘फेडेरेसन फर फिसिङ एण्ड प्रोटेक्सन अफ द एक्वाटिक इन्भाइरोमेन्ट’का प्रमुख टेक्निसियन जाँ फिलिप कौसनले टिलेमा मरेका माछाका प्रजातिहरूको लामो सूची सार्वजनिक गर्दै भन्नुभयो, ‘यो हृदयविदारक छ  ।’ औसतमा, प्रतिसेकेण्ड लगभग आठ हजार लिटरका दरले बग्ने नदीमा र अहिले पानी खोज्नुपर्ने अवस्था आएको छ ।
केही क्षेत्रमा खाडलहरूमा जमेको पानीको घोलमा फिस ल्याडरको सहायतामा ताजा पानीमा पाइने ट्राउट र अन्य प्रजातिका माछा आश्रय लिन बाध्य बनेका देखिन्छन् । तर, यस्तो प्रणाली सबै ठाउँमा उपलब्ध छैन । कौसनले भन्नुभयो, ‘पानी परेन भने पक्कै नदी ‘खाली हुँदै (सुक्दै) जानेछ र सबै माछा मर्नेछन् । उनीहरू नदीको माथिल्लो र तल्लो भागतिर फसेका छन्, त्यहाँ अहिले पानी बगेर आउँदैन, त्यसैले अक्सिजनको स्तर घट्दै जानेछ किनकि (पानी) को मात्रा घट्नेछ  । यी प्रजातिहरू विस्तारै लोप हुँदै जानेछन् ।’

महासंघका क्षेत्रीय प्रमुख ज्याँ पियरे सोनभिकोले खडेरी लम्बिँदै जाँदा अन्य जलमार्ग प्रभावित हुने सम्भावना भएकोले माछालाई अन्य नदीमा डाइभर्ट गर्दा कुनै फाइदा नहुने बताउनुहुन्छ  । थोरै पानीमा जलचरको अत्यधिक भीडभाड हुने र अक्सिजनको कमी भई धेरै माछाको मृत्यु हुनेछ  । उहाँले भन्नुभयो, ‘हो, यो नाटकीय अवस्था छ तर हामी के गर्न सक्छौँ ? केही सक्दैनौँ  । हामी पर्खिरहेका छौँ, वर्षाको साथ आँधीबेहरीको आशा गरिरहेका छौँ, आँधीबेहरी धेरै स्थानीय हो त्यसैले हामी यसमा भरोसा गर्न सक्दैनौँ ।’

युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले यसै साता खडेरीको अवस्था झनै खराब हुने र यसले महाद्वीपको ४७ प्रतिशत भू–भागलाई प्रभावित पार्ने चेतावनी दिएको छ  । युरोपेली खडेरी अवलोकनका वरिष्ठ अनुसन्धाता एन्ड्रिया टोरेटीका अनुसार सन् २०१८ को खडेरी यति विकराल थियो कि विगत ५०० वर्षदेखि यस्तो अवस्था आएको थिएन । यो वर्ष त्योभन्दा अझै खराब अवस्था रहने उहाँले बताउनुभयो ।
टोरेटीले भन्नुभयो, ‘आगामी तीन महिनासम्म अझै पश्चिमी र मध्य युरोपका साथै बेलायतमा सुख्खा अवस्थाको उच्च जोखिम हामीले देख्छौँ ।’ बर्लिन नजिकैको ‘पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च’का मौसमविद् पिटर होफम्यानका अनुसार विश्व मौसम प्रणालीमा आएको परिवर्तनका कारण लामो समयसम्म सुख्खा मौसमका कारण अहिलेको अवस्था आएको हो ।

‘गर्मीयाममा हामी यसलाई सबैभन्दा बढी महसुस गर्छौँ’, उहाँले भन्नुभयो, ‘वास्तवमा खडेरी वर्षभरि नै बढ्दै जान्छ । जलवायु परिवर्तनले क्षेत्रहरूबीचको तापमान भिन्नतालाई कम गरेको छ, ‘जेट स्ट्रिम’लाई ल्याउने मौसमी सामथ्र्यलाई कम गरेको छ, जसले सामान्यतया युरोपमा एटलांटिक मौसमले सामान्य वर्षा गराउँछ ।’ कमजोर वा अस्थिर ‘जेट स्ट्रिम’को परिणाम उत्तरी अफ्रिकाबाट युरोपमा असामान्य रूपमा तातो हावा आउन सक्छ र यसले लामो समयसम्म अत्यधिक खडेरी पर्न सक्छ । हफम्यानका अनुसार हालैका वर्षहरूका अवलोकनले विद्यमान जलवायु अध्ययन प्रणालीले भविष्यवाणी गरेभन्दा माथिल्लो तहमा पुगेको देखाएका छन् ।

खडेरीका कारण केही युरोपेली देशहरूले पानीको प्रयोगमा प्रतिबन्ध लगाएका छन् र राइन र डेन्यूब नदीमा जल यातायात खतरामा परेको छ  । आगामी दिनमा राइन नदीको वहाब न्यून स्तरमा पुग्न सक्नेछ, जसले गर्दा कोइला र पेट्रोललगायत सामानको ढुवानी कठिन हुँदै जानेछ  । डेन्युब नदीमा सर्बियाका अधिकारीले जलमार्गलाई गहिरो बनाउन र डुंगा तथा पानीजहाजहरूलाई सहजरूपमा चलाउन बालुवा निकाल्न सुरु गरेका छन् ।

छिमेकी मुलुक हंगेरीमा बुडापेष्ट नजिकैको लोकप्रिय भेलेन्स तालको ठूलो भाग सुक्का भूमिमा परिणत भएको छ । वन्यजन्तुको सुरक्षाका लागि आहार पानीको सञ्चारका लागि उपकरणहरू जोडिएको छ, तर पानीको गुणस्तर यस बिन्दुसम्म बिग्रिएको छ कि गत साताको अन्त्यमा समुद्रको एउटा किनारामा पौडी खेल्न प्रतिबन्ध लगाइएको थियो । इटालीको सबैभन्दा लामो नदी पोको सतह पनि यति पातालिएको छ जसका कारण दशकौं अघि डुबेका डुंगाहरू फेरि सतहमा देखिन थालेका छन् ।

खडेरीले दक्षिणी इंग्ल्याण्डलाई पनि प्रभावित गरेको छ, जहाँ जुलाईमा औसत वर्षा १० प्रतिशत मात्र भएको थियो । अग्निनियन्त्रकले अथक रूपमा घाँसमा लागेको डढेलोसँग लडिरहेका छन् र धेरै क्षेत्रहरूमा पानीको सतह घटेको भन्दै मानिसलाई उनीहरूको बगैंचामा पानी हाल्न प्रतिबन्ध लगाइएको छ । रिभर्स ट्रस्ट च्यारिटीका अनुसार इंल्याण्डका ‘चक स्ट्रिम’हरू सुक्दै गएको छ, जसले किंगफिशर र ट्राउट जस्ता जलचर तथा वन्यजन्तुलाई खतरामा पारिरहेको छ ।

वर्षाविना लामो समयसम्म अभ्यस्त रहने स्पेन र पोर्चुगललगायत देशहरूमा पनि ठूलो पर्यावरणीय हलचल आएका छन् । स्पेनको अण्डालुसिया क्षेत्रमा केही एभोकाडो किसानहरूले अरूलाई कुहिनबाट जोगाउन सयौं रूखहरू त्याग्नुपरेको छ किनभने मालागा प्रान्तको विनुएला जलाशय क्षमताको केवल १३ प्रतिशतमा झरेको छ, जुन एक वर्ष पहिलेको तुलनामा ५५ प्रतिशत कम हो ।

केही युरोपेली किसानहरूले पोखरी र खोलाहरू सुकेका क्षेत्रहरूमा आफ्ना पशुचौपायाका लागि धाराको पानी प्रयोग गरिरहेका छन्  । उनीहरूले एक गाईका लागि प्रतिदिन एक सय लिटरका दरले पानी पाइरहेका छन् । सामान्यतया हरियो बरगण्डीमा, पेरिसको सेन नदीको मुहान क्षेत्रमा घाँस पहेंलो-खैरो भएको छ र ट्रयाक्टरहरूले धूलोको विशाल बादललाई उडाउने गर्छन् ।

एसएण्डपी ग्लोबल कमोडिटी इनसाइट्सको एक रिपोर्टअनुसार ईयूको मकै उत्पादन गत वर्षभन्दा एक करोड २० लाख ५० हजार टन कम हुने अनुमान गरिएको छ र सूर्यमुखी उत्पादन १.६ मिलियन टन कम हुने अनुमान गरिएको छ । रासस/एपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?