संघीय संसद : आममाफीको विरोधदेखि कालोबजारी र मूल्यवृद्धि नियन्त्रणको माग

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुनका छिद्रहरू प्रयोग गरेर गम्भीर अपराधमा जोडिएकालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिने गरिएको भन्दै विरोध गर्नुभएको छ । चेतन मानन्धरको हत्यामा जेल परेका बाँकेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको दिनमा आममाफी दिएपछि विरोध भइरहेको छ । सांसदसमेत रहनुभएका महामन्त्री थापाले कानुनका छिद्र प्रयोग गर्दै आममाफी दिने प्रवृत्ति रोक्नुपर्ने माग गर्दै भन्नुभयो, ‘आममाफीको निर्णय गलत छ । सदनदेखि सडकसम्म विरोध भएको छ । विषय अदालतमा पनि पुगेको छ । सरकारले यसको कारण सदनलाई जानकारी गराउनुपर्छ । निर्णय गरेर सरकार भाग्न पाउँदैन । यसको जवाफ चाहिन्छ ।’ सरकारले कानुन मिच्न र विधिको उपहास गर्न नपाउने उहाँको भनाइ थियो । महामन्त्री थापाले ०७५ सालदेखि ०८० असोज ३ सम्म ६ हजार ७४६ जनाले आममाफी पाएको समेत जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेलले जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात कामेन ? भन्दै प्रश्न गर्नुभएको थियो । मन्त्रिपरिषद्को औँठाछापका रूपमा राष्ट्रपति कार्यालय लिनेभए राष्ट्रपति कार्यालय आवश्यक नभएको तर्क गर्दै पौडेलले भन्नुभयो, ‘२० वर्षको कैद सजाय आठ वर्ष नपुगी संविधान दिवसको दिन चेतन मानन्धरको हत्यारालाई के आधारमा सरकारले आममाफी दियो ? अपराध गर्ने हत्याराको नाइकेलाई गृहमन्त्री र मन्त्रिपरिषद्ले कुन आधारमा आममाफी दिन सिफारिस ग¥यो ? सदनमा आएर गृहमन्त्रीले जवाफ दिनुपर्छ ।’

बजार अनुगमन गर्न माग
राष्ट्रियसभाका सांसदहरूले दशैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको भन्दै बजार अनुगमन गर्न सरकारसँग माग गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभाको बैठकको शून्य समयमा बोल्दै सांसद उदयबहादुर बोहराले भन्नुभयो, ‘दशैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धिले समस्या भएको छ । चर्को मूल्य तिरेर पनि म्याद सकिएका अखाद्य वस्तुको बिक्री वितरण भइरहेको छ । सबैखाले खाद्यवस्तु सर्वसुलभ र सहज बनाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल : पौडेल
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको बताउनुभएको छ । देश आर्थिक मन्दीमा थलिएका बेला बजारमा उपभोग्य वस्तुको मूल्य भने ४५ प्रतिशतसम्म वृद्धि भएको र मन्दीका कारण बजारका ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक स्मरण गर्दै पौडेलले भन्नुभयो, ‘भान्सामा दैनिक उपभोग हुने चामल, दाल, चिनी र तरकारीको मूल्य बढेको छ । सरकारले मूल्यवृद्धि सात प्रतिशतमा सीमित राख्ने भनेको थियो, तर आर्थिक वर्षको तेस्रो महिनामै १४ प्रतिशत मूल्यवृद्धि भइसकेको छ । कतिपय वस्तुमा ४५ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । यतिबेला सबैचिजको मूल्य बढेको छ, सरकारप्रतिको भरोसा र लोकप्रियता मात्रै नबढेको हो ।’

सामाजिक सद्भाव कायम राख्न आग्रह
सांसदहरूले देशका विभिन्न भागमा भइरहेका सामाजिक सद्भाव खलल पार्ने गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसद तेजुलाल चौधरीले नेपालमा धार्मिक तथा सांस्कृतिक सद्भाव भत्काउने कार्य भइरहेको बताउनुभयो । सामाजिक सञ्जालमा भड्काऊ अभिव्यक्ति दिएर जनता उचाल्नेको बिगबिगी भएको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै सांसद चौधरीले भन्नुभयो, ‘विभिन्न बाहानामा हामी नेपालीहरुको धार्मिक, सांस्कृतिक सद्भाव, विश्वास भत्काउने कार्य हुँदै छ । सामाजिक सञ्जालमा भड्काऊ अभिव्यक्ति दिएर सोझा जनता उचाल्नेको बिगबिगी भएको छ । के हाम्रो देश अब हिंसा भड्काउने ? काटमार मच्चाउने, युवा बेच्ने, नेता बाँच्नुपर्ने देश बन्दै गएको हो ?’ सांसद दुर्गा राईले पूर्वप्रधानमन्त्रीहरू प्रतिनिधिसभा बैठकमा बोल्दा समय निर्धारण गर्नुपर्ने माग गर्नुभयो ।

जनयुद्धबारे दिएको अभिव्यक्ति सच्याउन आग्रह
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी दलका नेतालाई संसद्मा दिएको अभिव्यक्ति पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले समाजमा भड्किरहेको अराजकता थप चर्काउने भएकाले पुनर्विचार गर्नुपर्ने जिकिर गर्दै सांसद सापकोटाले भन्नुभयो, ‘पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेताले बोलेका केही कुरा निकै गम्भीर छन् । उहाँले आफ्नो अभिव्यक्तिमा दुईवटा दृष्टिकोणले पुनर्विचार गर्न जरुरी छ । पहिलो, सामाजिक सद्भाव भत्किँदै अराजकताको दिशामा गएकाले सम्हाल्नु पर्नेछ । दोस्रो, द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न नेपालबाट सिकौँ भनेर भनिरहेका छौँ । यसलाई पुष्टि गर्न पनि उहाँले आफ्नो अभिव्यक्तिमा पुनर्विचार गर्नुपर्छ ।’

मधेसी जनताको एकता तोड्न खोजिँदै छ : यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादवले मधेशमा धार्मिक तनाव फैलाउने षड्यन्त्र भइरहेको भन्दै विरोध जनाउनुभएको छ । मधेशमा हिन्दू र मुस्लिम समुदाय सदियौँदेखि मिलेर बसेकामा अहिले उनीहरूबीच तनाव फैलाउने षड्यन्त्र भइरहेको टिप्पणी गर्दै यादवले भन्नुभयो, ‘मधेशमा धार्मिक द्वन्द्व फैलाएर मधेशी जनताको एकतालाई तोड्ने काम तीव्र गतिमा भइरहेको छ । यसले मुलुकलाई फाइदा गर्दैन । सामाजिक सद्भाव भड्काउने खालका सामग्री राख्ने सामाजिक सञ्जाल फेसबुक ट्वीटर टिकटक बन्द गर्नुपर्छ ।’ सांसद यादवले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिको निगरानी गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

१०-२० वर्षमा मुलुक रित्तिन्छ : केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालबाट शिक्षा र कामका लागि विदेश जानेहरू अत्यधिक बढेको भन्दै यही स्थिति रहे १०-२० वर्षमा मुलुक रित्तिने बताउनुभएको छ । नेपालमा राम्रो शिक्षा र काम नपाएर नभई धेरैलाई विदेश जानुपर्ने रोग लागेको टिप्पणी गर्दै केसीले भन्नुभयो, ‘सबै बेरोजगार भएर, काम नभएका मान्छे मात्र विदेश गएका होइनन्, नेपालमा यस्तो रोग लाग्यो कि मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनीमानीका छोरा सबैको एउटै उद्देश्य के छ भन्दा नेपालमा केही हुन्न । सुनियोजित किसिमले मुलुक रित्याउने जुन स्थिति भएको छ । यही रूपले जनता भाग्ने हो भने मुलुक १०-२० वर्षपछि मुलुक रित्तै हुन्छ ।’

प्रधानमन्त्रीको चीन भ्रमणप्रति प्रश्न
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले देश ऋणको ट्र्यापमा पर्छ भनेर फैलाइएको भ्रममा परेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) कार्यान्वयनमा एउटा सुनौला मौका गुमाएको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिविहीन बनेको आरोप लगाउँदै सांसद पन्तले भन्नुभयो, ‘प्रधानमन्त्रीले बिआरआईका योजनाहरू अघि बढाउने योजना लिएर जानुभएको थियो । तर, हात्ती आयो, हात्ती आयो फुस्स । बिआरआई कार्यान्वयनमा लग्यो भने ऋणको पासोमा परिन्छ, देश ऋणको ट्र्यापमा पर्छ भनेर त्रास फैलाइएको छ, त्यहीकारण बिआरआई कार्यान्वयनबाट रोकिएको छ ।’

संसद्मा भएको रुलिङ सरकारले कार्यान्वयन गरेन : बर्तौला
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको आरोप लगाउनुभएको छ । सरकारले संसद्मा रुलिङ भएको विषय कार्यान्वयनमा ध्यान नदिएकोप्रति ध्यानाकर्षण गराउँदै बर्तौलाले भन्नुभयो,‘कान्ति बाल अस्पतालको घटना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विषयमा रुलिङ भयो, तर सरकारले उक्त रुलिङ कार्यान्वयन गरेन । ती विषयमा विशेष निर्देशनको माग गर्दछु ।’

विधायनसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक,२०८० पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा प्रस्तुत भएको विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायनसम्बन्धी विधेयक,२०८० माथि संसद्मा विचार गरियोस् भन्ने सरकारले पेस गरेको विधेयक सर्वसम्मतिले पास भएको घोषणा गर्नुभयो । विधायनसम्बन्धी विधेयक २०८० कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा पेस गर्नुभएको थियो । उहाँले संसदीय समितिको निर्देशनबमोजिम सरोकारवालाहरूको छलफलपछि प्राप्त सुझावलाई समेटेर विधायनसम्बन्धी विधेयक, २०८० तयार पारेको जानकारी दिनुभयो ।

विद्युत् विधेयक पेस
विद्युत् विधयक,२०८० प्रतिनिधिसभा बैठकमा पेस भएको छ । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेस गर्नुभएको हो । यो विधेयक मंगलबार नै पेस गर्ने कार्यसूची थियो । तर, गणपूरक संख्या नपुगकाले बिहीबारको बैठकमा पेस गरिएको हो । विधेयक पेस गर्नुअघि सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?