जवराको बयान आफ्नो पक्षमा नभएपछि गठबन्धन सरकारले रोक्ने प्रयास गर्‍याेः शंकर पोखरेल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

कैलाली । एमाले महसचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धन देशको हितमा नरहेको बताउनुभएकाे छ । सुदूरपश्चिमका बैतडी, दार्चुला र डडेलधुरामा पार्टीका प्रशिक्षणलगायतका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा आइतबार कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा उहाँले पाँचदलीय गठबन्धन कसरी जन्मिएको रहेछ र परमादेशको रहस्य के रहेछ खुल्दै गएको दाबी गर्नुभयाे ।

महासचिव पोखरेलले देशको अर्थतन्त्रको एक वर्षअघि र अहिलेको अवस्थाका बारेमा चर्चा गर्दै गठबन्धन सरकारको एक वर्षको काम गराईबाट पनि यो गठबन्धन नेपाल राष्ट्र र नेपाली जनताको हितमा नरहेको बताउनुभयाे ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूविरुद्धको महाभियोग प्रस्तावमा छलफलका क्रममा बयान दिँदा जे कुरा बाहिर आएका छन्, त्यसले परमादेशको रहस्य खुल्दै गएको उहाँको भनाइ छ ।

‘एमाले र यसका अध्यक्ष केपी ओलीले राष्ट्रियताका पक्षमा, नाकाबन्दी विफल बनाउन, चुच्चे नक्शा प्रकाशन, देशलाई जातीय राज्यमा विभाजन रोक्न निर्वाह गरेको भूमिका जस्ता देश र जनताको हितका कदमको प्रतिशोध लिन पाँचदलीय गठबन्धन जन्माइएको हो,’ उहाँले भन्नुभयाे, ‘फास्ट ट्रयाक सडक निर्माणको काम रोक्ने प्रयास भएको र त्यसमा आन्तरिक मात्र नभई वाह्य स्वार्थ रहेको तर त्यो चाहना एमालेको सरकारले पूरा हुन नदिएको, विकास र समृद्धिको यात्राका क्रममा ठूला परियोजनाहरु अगाडि सारेको मन नपराएकाहरुले एमालेलाई सरकारबाट हटाउनका लागि पाँचदलीय गठबन्धनको जन्म भएको हो भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’

पोखरेलले जबराको बयान आफूहरुको पक्षमा नभएपछि पाँचदलीय गठबन्धनले बयान रोक्ने प्रयास गरेको आरोप लगाउनुभयाे । महाभियोग प्रस्ताव तत्कालै छलफलमा लैजानुपर्नेमा सभामुखले न्यूनतम मर्यादाको पनि ख्याल नगरी महिनौ रोकेर नयाँ नजिर बनाएको उहाँले बताउनुभयाे।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?