निर्वाचनपछि प्रधानमन्त्रीमा को ?

हिमालय टाइम्स
Read Time = 8 mins

निर्वाचनको दिन जति निकट हुँदैछ प्रधानमन्त्रीका आकांक्षीहरूको दाबी त्यति नै मुखरित भइरहेको छ । दाबी मुखरित हुनु अन्यथा होइन । ती दाबीलाई सत्यापित गर्ने कुनै आधार छन्, विशेष गुणहरू छन्, खास समयमा सही नेतृत्व दिने योग्यता छ, देशलाई सुशासन दिने संकल्प छ, सही मार्ग तय गर्नसक्ने नवीन सोच छ, देशको स्वाभिमानको रक्षा गर्ने विश्वास छ, अनि विवेकशील, उदार मन र मुटु छ भने त्यस्ता व्यक्तिको दाबीलाई अन्यथा मान्नु पर्ने छैन । तर, कसैका लागि प्रधानमन्त्री पद सडक आन्दोलनका लागि आवश्यक लाग्छ र कसैका लागि देशले मागेको हुनाले दाबी गर्नुपर्ने बाध्यता बनेको छ । कसैका लागि आफूभन्दा पहिले दुःख गरेका, अवसर पाएका वा नपाएका सबैलाई एउटै खाल्डोमा पुर्ने र आफूले नेतृत्व लिने संकल्पको प्रतिनिधि सोच हुन पुगेको छ प्रधानमन्त्री पद ।

केही दिन पहिले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई देशले खोजिरहेको सार्वजनिक गर्नुभयो । नेपाली जनता र देशले असल र राम्रो नेताको खोजिगरिरहेको छ यो सत्य हो । क्षमतावान् नेता पनि खोजिरहेको छ । यो सत्यलाई कसैले पनि इन्कार गर्न सक्दैन । यो सत्यका नजिक रामचन्द्र पौडेल कति नजिक हुनुहुन्छ उहाँले मूल्यांकन गर्नुभन्दा उहाँको मूल्यांकन गर्ने नेपाली जनताको अधिकार हो । पार्टीको केन्द्रीय समितिको सभापति वा देशको प्रधानमन्त्री भएरमात्रै योगदान गर्न सकिन्छ भन्ने विषय नै सही होइन । २०४८ सालदेखि रामचन्द्र पौडेल कुनै न कुनै रूपमा केन्द्रीय नेतृत्वमा बस्नु भएको छ । सुविधासहितका उहाँको जिम्मेदारीलाई कति पूरा गर्नु भएको छ सबैलाई थाहा छ । उहाँ सभामुख हुनुभयो ।

त्यस समयको खिचडी संसदले के गर्‍यो के गरेन अथवा उहाँ उपप्रधानमन्त्री, केही समय पार्टीको उपसभापति र विगतदेखि वरिष्ठ नेता हुनुहुन्छ । उहाँबाट देशले कति फाइदा पायो, पार्टीका अत्यन्त दुःख पाएका, कहिल्यै पनि अवसर नपाएका सदस्यहरूले न्याय पाए कि पाएनन् ? आफ्नो अवसर आउँदा उहाँले गरेका नियुक्ति, नियुक्तिका लागि गरेका सिफारिशहरू र दाबी कस्ता थिए सायद देशले उहाँलाई खोज्दा यी सबैको मूल्यांकन हुनसक्छ । उहाँको कामको समेत समीक्षा हुँदै जानेछ । तैपनि सांसद हुनुभयो भने उहाँलाई देशले खोजे वा नखोजे पनि सन्तुलनका नाममा, गठबन्धनका नाममा उहाँलाई खोजियो भने त्यो सुखद् नै हुनेछ ।

हाम्रो देशले विचित्रको राजनीतिक संस्कृतिको विकास गर्दैछ । गठबन्धन सरकारमा रहेको र आसन्न निर्वाचनमा पुनः गठबन्धनको तयारीमा रहेको पार्टीका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालको कुरा सुन्दा उदेक मान्नुपर्ने भएको छ । उहाँले केही दिनअघि दुईवटा कुरा भन्नुभयो । उहाँको पहिलो भनाइ थियो : आउने निर्वाचनपछि म प्रधानमन्त्री हुनेछु । दोस्रो निर्देशनका रूपमा उहाँले आफ्ना सदस्यहरू माझ भन्नुभयो : निर्वाचनको लगत्तै निर्वाचन प्रणालीविरुद्ध तुरुन्त सडक आन्दोलनमा जानुपर्छ त्यसको तयारी गर्नुहोस् र तयारीमा बस्नुहोस् । एकातिर निर्वाचनपछिको प्रधानमन्त्री आफैँ हुने र अर्कोतिर निर्वाचन लगत्तै सडक आन्दोलनमा जान निर्देशन दिने यो कस्तो अभिव्यक्ति वा मानसिकता हो ?

के नेपाली जनता यस्तो चरित्रलाई सदा सहर्ष स्वीकार गर्न तयार छन् त ? प्रचण्डको यो भनाइप्रति गठबन्धन सरकारको नेतृत्व गरिरहेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको धारणा के छ ? निर्वाचनको लगत्तै माओवादीका अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने हो कि ? वर्तमान निर्वाचन प्रणालीविरुद्ध सशक्त रूपमा सडक आन्दोलनमा जाने पार्टीसँग निर्वाचनमा गठबन्धन गर्ने हो कि ? कांग्रेस पनि निर्वाचन प्रणाली फेर्नुपर्छ भन्ने मान्यतामा सहमत हुन्छ कि ? कांग्रेसमा अनेक नवीनधार र विचारको जन्म भइरहेको सुनिन्छ । यदि सहमत हुँदैन भने माओवादीसँगको गठबन्धनको आधार कस्तो हुनेछ ? कांग्रेस नेतृत्वले गहिरो मन्थन र संवाद गरी स्पष्ट गर्नुपर्ने हो कि होइन ?

निर्वाचनमा गठबन्धन कुनै सिद्धान्तका आधारमा हुँदै छैन । राजनीतिमा अवसरवादको नमुना हो अहिलेको चुनावी गठबन्धन । त्यस्तो गठबन्धन कांग्रेस र माओवादीका बीचमा होस् कि एमाले र राप्रपाबीच होस् सबै सिद्धान्तविहीन अवसरवादका उदाहरण हुन् । अन्तिम सत्य सत्ता भन्ने अवसरवादी रणनीतिका आधारमा हुने चुनावी गठबन्धनले सही बाटो लिनुभन्दा पनि केही नेताका महत्वाकांक्षालाई बल दिने काम गरिरहेको हुन्छ । अर्कोतर्फ पुरानाहरूलाई विस्थापित गर्नुपर्छ भन्ने अनेक दाबीहरू सुनिन्छन् । त्यस्तो दाबी गर्नेहरूले पुराना को हुन् भनेर स्पष्ट गर्न सक्दैनन् । लामो राजनीतिक योगदान भएका तर अवसर नपाएकाहरू नयाँ हुन् कि पुराना ?

अनि बारम्बार अवसर पाएका र उमेरले तुलनात्मक रूपमा तलै रहेकाहरू नयाँ हुन् कि पुराना ? अनि अठार वर्षको मतदाताका आँखामा पच्चीस वर्षको, पच्चीस वर्षका लागि चालीस वर्षको, चालीस वर्षका लागि साठी वर्षको, साठीका लागि सत्तरी नाघेको, सत्तरीका लागि असीतिर पुगेको व्यक्ति पुरानो लाग्छ कि लाग्दैन उमेरले ? नयाँ अनुहार भन्ने दाबी पनि हास्यास्पद हुनेछ । प्रधानमन्त्रीको नेतृत्व गर्न दाबी गर्नेहरूले वैकल्पिक विचार, नीति र योजना शब्दमा होइन त्यसको कार्यान्वयन कसरी हुनेछ भनेर ठोस रूपमा प्रतिबद्धतासहित दिन नसक्दासम्म दाबीको कुनै औचित्य रहँदैन । औचित्यहीन दाबीहरूका माझ नेतृत्व आजकै अवस्थामा तानतुन चलिरहने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. कार्यक्रम ,दृष्टिकोण ,नयाँ सोचलाई सार्वजनिक गरेर प्रधानमन्त्री बन्न जनतालाई प्रस्ताव गर्नुपर्नेमा मलाई देशले खोजेको छ भनेर आफ्ना विगतका निष्पक्षतामा लागेका प्रश्नचिह्न बिर्सनेहरु,कहिले प्रधानमन्त्री हुन मन छ भन्ने भोलिपल्ट निर्वाचन पछि सडक आन्दोलनको तैयारी गर्ने उर्दी जारी गर्ने ढुलमुले र अपराधसँग निकटतम साइनो हुनेहरु र पैसाको बलमा किनेर पनि फेरि दोहरिनलाई कसरत गर्नेहरु कुनै पनि योग्य नभएको विषयलाई सम्पादकीयले प्रष्ट पारेको छ।अब नयाँ व्यक्ति ,नयाँ सोच,दृष्टिकोण ,कार्यक्रम समय निर्धारण समेतको प्रतिबद्धता भएको व्यक्ति देशले खोजेको त छ तर षड्यन्त्रले पुरानाहरु नै सिगारिने अवस्था भयो भने देशका थप दुर्भाग्यका दिनहरु शुरु हुने विषयले सबैलाई चिन्तित बनाएको छ।यो सम्पादकीयले तिनीहरुकै भावनाको प्रतिनिधित्व गरेको छ।

छुटाउनुभयो कि ?