चोलेन्द्र शमशेर जबराले सहकर्मीप्रति लान्छना लगाउन नछाडेको मीन विश्वकर्माको आरोप

Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले चौथोपटक आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यालयमा आइतबार उहाँको बयान लिइएको हो । गत १ फागुनमा जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

संसदले गठन गरेको समितिले आइतबार जबरासँग भ्रष्टाचार, अनियमिततासहितका २४ वटा प्रश्न गरेको छ । समिति सदस्यहरुले अदालतमा भएका भ्रष्टाचार, अनियमितताका विषयमा प्रश्न गरेका समिति सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो । तर, जवाफ दिने क्रममा जबराले सहकर्मी न्यायाधीशमाथि लान्छना लगाउने कार्य आइतबार पनि जारी राखेको विश्वकर्माले बताउनु भयो ।

‘यसअघि जस्तै आज पनि उहाँले समकक्षी, सहकर्मीप्रति लान्छना लगाउने कार्य जारी राख्नुभयो,’ उहाँले भन्नुभयो, ‘उहाँकै बयानले पनि अभियोग पुष्टि गरिरहेको छ ।’

यसअघिका तीन बैठकमा ११ वटा प्रश्न गरेको समितिले आइतबार जबरासँग २४ वटा प्रश्नको जवाफ खोजेको छ । बयानका लागि ४३ वटा प्रश्न तयार गरेको समितिले ३५ वटा प्रश्न सोधिसकेको छ ।

जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो । उहाँले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आउनु भएको थियो ।

गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उहाँ प्रधानन्यायाधीश पदबाट निलम्बनमा पर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?