आशिषको यात्रा : मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्म

हिमालय टाइम्स
Read Time = 7 mins

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका-११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुनुहुन्छ । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबल यात्रा सुरु गर्नुभएका उहाँ अहिले खुमलटार युथ क्लबमा आबद्ध भएर ‘ए’ डिभिजन खेल्ने तयारीमा हुनुहुन्छ ।

उहाँ आबद्ध खुमलटार यस वर्ष ‘ए’ डिभिजनमा उक्लेको हो । इच्छाशक्ति भयो भने असम्भव भन्ने केही हुन्न भन्ने ज्वलन्त उदाहरण हुनुहुन्छ आशिष । न कुनै खेलकुद मैदान, न कतैको लगानी, न फुटबलको पूर्वाधार, न कोही प्रशिक्षक । जिल्लामा त्यतिबेला भइहाले पनि फाट्टफुट्ट भलिबल हुने गर्दथे । तर, उहाँले आफ्नो फुटबलप्रतिको लगावलाई निरन्तरता दिइरहनुभयो । त्यसैले उहाँ सफलतालाई पछ्याउँदै फुटबलमा भविष्य खोजिरहनुभएको छ ।

मेलम्चीमा एउटा स्थानीय क्लबबाट फुटबल यात्रामा लागेका उहाँले जिल्लाका विभिन्न प्रतियोगितामा सामेल हुँदै जिल्ला, क्षेत्र, प्रदेश हुँदै अहिले खुमलटार क्लबमा अनुबन्ध हुनुभएको छ । भर्खरै ‘ए’ डिभिजनमा बढुवा भएको खुमलटारबाट ‘ए’ डिभिजन प्रतियोगिताका लागि मैदान उत्रने तयारीमा रहेको उहाँले बताउनुभयो ।

सिन्धुपाल्चोक जिल्ला काठमाडौंसँग जोडिएको जिल्ला भए पनि हरेक दृष्टिकोणले पछाडि परेको जिल्ला हो । सोनाम ल्होछारको अवसरमा इन्द्रावती गाउँपालिकामा भएको क्षेत्रस्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै खेलको उत्कृष्ट खेलाडी सम्मान प्राप्त गर्नुभएका उहाँले त्यही खेलको उत्कृष्ट प्रदर्शनले मनाङ-मस्र्याङ्दी क्लबमा अनुबन्ध हुने अवसर पाउनुभयो ।

भूकम्प र कोरोनालगायत आफ्ना विभिन्न समस्याका कारण फुटबलबाट निस्क्रिय रहनुभएका आशिषले अहिले भने खेलको लय समात्न पाउनुभएको छैन । मनाङ–मस्र्याङ्दी हुँदै एपिएफ क्लबमा समेत अनुभव बटुलिसक्नुभएका उहाँले एन्फाको ‘सी’ डिभिजनको खेलमा कोटेश्वरको च्याम्पियन्स ब्वाइजबाट पहिलोपटक ‘सी’ डिभिजनका लागि मैदान उत्रिनुभएको थियो । विसं २०७६ मा श्रीभगवती क्लबबाट ‘बी’ डिभिजनका लागि मैदान उत्रने मौका दिएको आशिषलाई लकडाउनका कारण खेलमा निरन्तरता दिन केही समस्या भएको थियो ।

सोही समयतिर बागमती लिगमा जिल्लाबाट सहभागी भएर आफ्नो क्षमता प्रदर्शन गर्नुभएका उहाँ जिल्लाले तृतीय स्थान हासिल गरे पनि उहाँ भने प्रदेशको उत्कृष्ट डिफेन्डरका रूपमा सम्मानित हुनुभएको थियो । विसं २०७८ मा भएको एन्फा लिगमा खुमलटारबाट मैदानमा उत्रिनुभएका आशिषले १३ वटा प्रतिस्पर्धामा १२ मा खेल्ने अवसर पाउँदा म्यान अफ द म्याचको दुईवटा अवार्ड प्राप्त गर्नुभएको थियो ।
‘खेल भनेको आफ्नै मिहिनेतले खेल्ने कुरा हो । चुनौती भनेकै अरूलाई हराएर आफ्नो पक्षमा नतिजा हासिल गर्नु हो । म त्यही चुनौतीको सामना गर्दै खेलिरेहको छु,’ उहाँले भन्नुभयो । हरेक क्षेत्रमा चुनौती रहेको सुनाउँदै आशिषले खेलप्रतिको अनवरत यात्रालाई निरन्तरता दिँदै आगामी दिनमा अझै उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो ।

जिल्लामा खेलकुदका गतिविधि निकै न्यून हुने गरेको बताउँदै आशिषले धेरै इच्छाशक्ति भएर पनि पूर्वाधार, आवश्यक स्रोत र साधन नहुँदा जिल्लामा कतिपय खेलाडीले आफ्नो प्रतिभा, क्षमता प्रदर्शन गर्न नपाएको बताउनुभयो । स्कुल तहबाटै विद्यार्थीलाई खेल क्षेत्रमा आकर्षित गर्न सके देशले धेरै राम्रा खेलाडी उत्पादन गर्न सक्ने उहाँको बुझाइ छ ।

खेल क्षेत्रमा सुधार गर्नुपर्ने कुरा धेरै रहेको जनाउँदै उहाँले खेलाडीलाई हौसलासँगसँगै पारिश्रमिकका कुरामा पनि राज्यले हेर्नुपर्ने बताउनुभयो । खेलका लागि पर्याप्त पूर्वाधारको निर्माण गर्न नसक्नु र आवश्यक स्रोत, साधन जुटाउन नसक्नुले पनि हाम्रो खेलजगत्मा अपेक्षित सुधार हुन नसकेको स्वीकार्दै पूर्वाधारको विकास गर्न सक्नुपर्ने तर दोष सबै पूर्वाधार र स्रोतलाई मात्र दिएर पन्छिन सकिने अवस्था भने नरहेको उहाँको जिकिर छ ।

उहाँले भन्नुभयो, ‘स्रोत र लगानीमात्रले फुटबलको विकास गर्न सकिने भए धेरै स्रोत र लगानी गर्ने अन्य क्लब, विदेशी मुलुक विश्व फुटबलमा किन पछाडि परेको ? स्रोत र लगानीले मात्र फुटबलको विकास हुन्छ भन्ने हाम्रो मान्यता पूर्णरूपमा गलत छ । स्रोत र लगानीको प्रभावकारी प्रयोग अनि स्पष्ट रोडम्यापमा आधारित कार्यान्वयनले भने हामीले आफ्नो सपना हुर्काउन सक्छौं ।’ स्थानीय तहले साथ दिए खेलाडी र खेलमा सहयोग हुने उहाँको बुझाइ छ । विद्यालयमा सिक्ने मौका पनि भए राम्रो हुने उहाँको सुझाव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?