काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई दुई खर्ब २७ अर्ब ९५ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ ।
चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकाले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो । २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड, चीनबाट ३३ अर्ब, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिएको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ । त्यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ । समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफा दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।
प्रतिवेदनअनुसार नेपालमा पछिल्लो समय बिजुली, ग्याँस, स्टिम, वातावरणीय क्षेत्रमध्ये जलविद्युत् क्षेत्रमा सबैभन्दा बढी लगानी हुने गरेको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल एक सय ९७ कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/०७८’ तयार पारिएको जनाएको छ । प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकको अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशित गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच