पानीटारमा पर्यटकको आकर्षण

हिमालय टाइम्स
Read Time = 3 mins

प्रकाश नेपाल/हिटा
इलाम । इलामको देउमाई नगरपालिका-३ मा अवस्थित पानीटार चिया बगानमा पर्यटकको आकर्षण बढेको छ । देउमाई नगरपालिका र प्रदेश एक सरकारबाट प्रचारप्रसार आधारभूत पूर्वाधार निर्माण गरेपछि पानीटार अहिले पर्यटकको मनोरञ्जन केन्द्रसँगै फिल्म र म्युजिक भिडियो छायांकनस्थल बनेको छ । तीन वर्षअघि इलामस्थित देउमाई नगरपालिकाको पानीटारबारे पर्यटकलाई चासो थिएन । चियाबारी भन्नेबित्तिकै कन्याम, अन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो ।

सम्बन्धित निकायले चासो नदिएकै कारण पानीटार ओझेलमा पर्‍यो । तर, अहिले देउमाई नगरपालिकाले प्रचारप्रसारका काम गरेपछि अहिले पानीटारले पूरै काँचुली फेरेको छ । स्थानीयवासी मात्र होइन, अन्तर जिल्लाको पर्यटकको पनि नयाँ गन्तव्य बनेको छ पानीटार । कतै अग्लो र कतै होचो तर मिलेको चियाबारी यहाँको मुख्य आकर्षण हो । अन्तु बिर्साउने चिसो र पर्यटक तान्ने वनभोजस्थल यहाँको अर्को विशेषता हो । पर्यटक मात्र होइन, पानीटारमा अहिले चलचित्र खिच्ने र म्युजिक भिडियो बनाउने क्रम पनि सुरु भएको छ । इलाम सदरमुकामबाट करिब ३० किमीको दूरीमा पर्ने पानीटार पुग्न इलाम सदरमुकाम-बिब्ल्याँटे बजार–नेपालटार र गाग्रेभञ्ज्याङ भएर पानीटार पुगिन्छ । पर्यटकको आकर्षण बढेपछि स्थानीयका घरमा होमस्टे पनि संचालनमा छन् ।

सदरमुकामबाट गाग्रेभञ्ज्याङसम्म पक्की र गाग्रेभञ्ज्याङदेखि केही ओरोलो कच्ची बाटो हिँडेपछि पानीटार पुगिन्छ । यसका साथै झापाको बिर्तामोड-शनिश्चरे हुँदै मंगलबारेको बाटो पनि पानीटार पुग्न सकिन्छ । पछिल्लो समय सदरमुकामको बाटोभन्दा झापाबाट आउने बाटो छोटो भएकाले बढी पर्यटक यही बाटो आउँछन् । यो बाटो झापाबाट ५३ किमी हिँड्दा नै मंगलबारे पुगिन्छ ।

अहिले पानीटारमा शनिबार र शुक्रबार करिब २०० को हाराहारीमा पर्यटक भित्रिन्छन् । विशेषतः घुमघाम र हिउँदमा वनभोज आउनेको संख्या बढी हुन्छ । पानीटारमा प्रदेश नम्बर एक मातहतको मेची पहाडी पर्यटन पवद्र्धन विकास समितिबाट पर्यटन पूर्वाधार निर्माण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?