सन्दीपसँग चन्दको भेट

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले हिरासतमा भेट्नुभएको छ । चन्दले गौशालास्थित प्रहरी वृत्तमा गएर सन्दीपलाई भेट्नुभएको हो ।

नाबालिक बलात्कारको आरोपमा नेपाल प्रहरीले बिहीबार नेपाल आएका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । क्यान अध्यक्ष चन्दले पारिवारिक सदस्यका रूपमा सन्दीपलाई भेटेको जनाउनुभएको छ । भेटका क्रममा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई फसाइएको बताएको चन्दले प्रतिक्रिया दिनुभएको छ । ‘मैले गल्ती गरेको छैन । मलाई फसाइयो भन्ने कुरा गरेको छ,’ सन्दीपको भनाइ उद्धृत गर्दै चन्दले भन्नुभयो, ‘कानुनले न्याय दिने भन्दै धैर्यता राख्न मैले सुझाव दिएको छु ।’

न्यायको लडाइँमा आफू साथमा रहने कुरा सन्दीपलाई बताएको चन्दले जनाउनुभएको छ । नेपाल प्रहरीले आइतबार अदालतमा सन्दीपलाई उपस्थित गराएर म्याद थप गर्ने र विस्तृत अनुसन्धान सुरु गर्ने तयारी गरेको छ । दशैँको सार्वजनिक बिदाका कारण अदालत बन्द छ । अदालत खुलेसँगै म्याद थपेर अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको थियो । सन्दीपमाथि एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको हो । किशोरीले ०७९ भदौ ५ गते राती जबरजस्ती करणी गरेको आरोप लगाउँदै प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी थिइन् ।

सन्दीप गत ६ भदौमा टी–२० सिरिज खेल्नका लागि केन्या जानुभएको थियो । त्यहींबाट उहाँ वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न जानुभएको थियो । पीडितले दिएको जाहेरीमा केन्या जानु एक दिनअघि उक्त घटना भएको हो । प्रहरीका अनुसार ती किशोरी लामिछानेकी समर्थक रहेकी थिइन् । उनीहरूबीच सामाजिक सञ्जाल स्न्यापच्याट र हृवाट्स एपमार्फत् कुराकानी हुन्थ्यो ।

सामाजिक सञ्जालमार्फत् नै उनीहरूले भेट्ने प्रस्ताव गरे । किशोरीलाई लिन लामिछाने आफ्नो कार लिएर उनको होस्टल पुग्नुभएको थियो । होस्टलबाट उनीहरू नगरकोट गएका थिए । नगरकोटबाट फर्कंदा रातीको झण्डै ११ बजिसकेको थियो । त्यतिञ्जेलसम्म होस्टल बन्द भइसकेकाले सन्दीपले होटलमा बस्ने प्रस्ताव गर्नुभयो । त्यसपछि दुवैजना पिंगलास्थानस्थित होटलमा पुगेका थिए । युवतीले जाहेरीमा राती होटेलमा सन्दीपले उनीमाथि दुईपटक बलात्कार गरेको उल्लेख गरेकी छन् । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सिसी) टिभी फुटेज पनि संकलन गरी अनुसन्धान गरिसकेको छ । त्यसबाहेक होटलका कर्मचारीहरूसँग पनि सोधपुछ गरिसकेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारबाही गर्दै लामिछानेलाई ४ पुस २०७८ मा राष्ट्रिय क्रिकेट टोलीको कप्तान घोषणा गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?