संविधान रक्षा गर्ने दायित्व नभुल्न गृहमन्त्रीको आग्रह

Read Time = 3 mins

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले केही राजनीतिक दलहरू जनताको लामो सङ्घर्ष र बलिदानपश्चात् संविधानसभाबाट बनाइएको संविधान रक्षा गर्ने दायित्व नभुल्न आग्रह गर्नुभएको छ । सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका मन्त्री खाणले आज भैरहवामा आयोजित कार्यक्रममा सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको सन्देह गर्दै त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो ।

जनप्रतिनिधिले बनाएको संविधान संसद्मा दुई तिहाइ मतले संशोधन गर्न सकिने भए पनि जनआन्दोलनको मर्म र भावनाविपरीत संविधानलाई नै धरापमा पारेर प्रतिगमनलाई मलजल गर्नु गलत भएको मन्त्री खाणको तर्कछ ।

“संविधान विरोधीप्रति सचेत हुन र निर्वाचनमार्फत त्यस्तो रणनीतिमा लाग्ने शक्तिलाई परास्त गर्न आमनागरिकलाई आग्रह गर्दछु ।” उहाँले भन्नुभयो, “निर्वाचनमा होमिएका केही दलहरुको संसद्मा उपस्थिति नै नगन्य हुन्छ, ती दलबाट कसरी विकास र समृद्धिको जनताले आशा गर्ने रु कसरी विश्वास गर्ने रु”

आगामी निर्वाचनपछि सत्ता गठबन्धनको सरकार बन्ने बताउँदै उहाँले भन्नुभयो, “पाँच दलीय गठबन्धनको त अहिले पनि सरकार छ, भोलि निर्वाचनपछि पनि हुन्छ, यही गठबन्धनले विकास गर्छ, जनचाहनाअनुसार काम गर्छ ।”

लामो सङ्घर्षपश्चात् ल्याएको व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाबीच गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउँदै गृहमन्त्री खाणले निर्वाचनपछि बन्ने गठबन्धन सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने रणनीतिक योजना ल्याउने बताउनुभयो । मुलुकमा शान्ति, स्थिरता, सुशासन र विकास एउटै दलले बहुमत ल्याएर गर्न अप्ठ्यारो पर्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा होमिएको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?