चुनावी नारामा सीमित सिमकोट सडक

राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको हुम्लाको सदरमुकाम सिमकोट ।

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 10 mins

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो । देशका अन्य सदरमुकाम सडक सञ्जालमा जोडिएको भए पनि हुम्ला सदरमुकाम सिमकोट अझै जोडिन सकेको छैन । हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बनेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन् । जिल्ला बाहिर जाने एक मात्रै विकल्प हो हवाइजहाज तर हवाई सेवा पनि नियमित नहुँदा हुम्लीले अझ सास्ति खेप्दै आउनु परेको हो । उसो यहाँका नागरिकले जहाज चढ्न पनि हप्तौँ कुर्नुपर्छ भने ठूलाबडाको पावरसमेत लगाउनुपर्छ । सडकसँग नजोडिँदा नागरिकले हरेक क्षेत्रमा सास्ती खेपिरहनु परेको छ ।

यसपल्ट पक्का सडकसँग सिमकोट जोडिन्छ भन्दै हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारहरूले स्थानीय मतदाताहरूलाई एउटै आश्वासन दिँदै आए तापनि यो समस्याको अन्त्य अझै नभएको स्थानीयवासी बताउँछन् ।

सत्ता गठबन्धन दल र एमालेले आफ्ना स्थानीय स्तरमा गरिएका प्रतिबद्धतामा यो विषयलाई पहिलो प्राथमिकता राखेका हुन् । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनदेखि उठाउँदै आएको यो विषय राजनीतिक दलले अहिलेको चुनावमा समेत जोडदारका साथ उठाएका छन् । सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न पहल गर्ने विषय यो पटकको चुनावमा राजनीतिक दलहरूको प्राथमिकतामा परेको छ । तर, सडकसँग जोडिने हुम्लीको सपना सपनामै सीमित बनेको छ ।

सदरमुकामसम्म राष्ट्रिय सडक सञ्जाल जोड्ने भए पनि त्यो मुद्दामै सीमित हुँदै आएको छ । २४ वर्षसम्म पूर्णता पाउन नसक्नु जिल्लाका लागि दुःखद भएकाले अब कर्णाली करिडोरले चाँडै पूर्णता पाउने बताइरहेका छन् । ०६४ सालदेखि अहिलेको निर्वाचनसम्म दलहरूले यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन् । हरेक चुनावमा हुम्लामा लाग्ने नारा नै सडकको हुन्छ । सडक नारामा आउँछ, व्यवहारमा आउँदैन । २०६४ साल पनि आयो, २०७० साल, २०७४ साल र त्यसअघिका चुनावमा पनि नेता र उम्मेदवारहरूका मुखमुखमा सडक थियो । तर, अझै सडक यातायातले सिमकोटलाई छुन सकेको छैन ।

समय लागे पनि आवाज उठाएकै कारण कर्णाली करिडोरको निर्माण भएको दलहरूको दाबी छ । अब जतिसक्दो चाँडो सडक निर्माण सम्पन्न गर्नेतर्फ ध्यान जाने नेताहरूले बारम्बार दोहो¥याउने भनाइ भने नयाँ होइन । करिडोरको बाँकी काम नेपाली सेनाले गरिरहेको छ । सरकारले ०५१ सालबाट हुम्लाको सदरमकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने विषय बजेटमा राख्दै आएको छ ।

कर्णाली करिडोरको कबाडीदेखि हिल्सासम्म १८४ किलोमिटर छ । यसमा कबाडीदेखि सलीसल्ला सम्मको ३९ किलोमिटर नेपाली सेनाले काम सम्पन्न गरेर बुझाइसकेको छ भने सिमकोटदेखि हिल्सासम्मको ९५ किलोमिटर सडक पनि हिल्सा सिमकोट सडक आयोजनाले सम्पन्न गरिसकेको छ । अब सिमकोट–सलीसल्ला खण्डको ५० किमी सडकमा दुल्ली कुनादेखि लालिबगर सम्मको ११ किमी बाँकी छ । यो खण्डको सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएअनुसार हाल सेनाले काम गर्दै आएको छ । असजिलो चट्टानी क्षेत्र भएका कारण सेनाले डेढ वर्षमा मात्र काम सम्पन्न गर्ने जनाएको छ ।

सडकसँग नजोडिँदाको समस्या, नेताको आश्वासन
‘हुम्ला सडक सञ्जालमा नजोडिँदा यहाँका स्थानीयलाई धेरै समस्या छ’, स्थानीय कमल भण्डारीले भन्नुभयो, ‘नेताहरू आएर झुटा आश्वाशन दिन्छन् अनि फर्किन्छन्, उनीहरूको अरू काम नै के छ र ?’ उहाँले थप्नुभयो, ‘चुनाव आउँदा गाउँ पस्ने नेताहरूको एउटै नारा छ, मलाई जिताउनुहोस् यस वर्षभित्र पक्का हुम्लाको मुहार फेरिन्छ, सिमकोट सडकसँग जोडिन्छ । यहाँको गरिबी अन्त्य गर्छौं ।’
सडकसँग नजोडिँदा यहाँका नागरिकले राम्रो सुविधासम्पन्न अस्पतालमा जान नपाएर अकालमै ज्यान गुमाउनुपर्छ । बिरामी भएको समयमा हिँडेर जान सकिँदैन । अधिकांश बिमारीले स्टेचरमा उपचार गर्न लैजाँदा बाटोमै अकालमै ज्यान गुमाउनु परेको सर्केगाड गाउँपालिका वडा नम्बर ६ का भक्तराज ऐडीले गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘हुम्ला सडक सञ्जालमा जोडिएको छैन, गाउँमा सुत्केरीलगायत अन्य नागरिक जटिल केसका बिरामी हुँदा सात, आठ लाख तिरेर हेलिकोप्टर रिजर्भ गर्नुपर्छ, तर गरिब निमुखालाई त्यो रुपैयाँ हुँदैन र अकालमै ज्यान गुमाउनुपर्छ ।’

यस्तै, हुम्लीको जिल्ला बाहिर जाने एक मात्रै हवाई सेवा हुँदा टिकटको सास्ती खेपिरहनु परेको छ । यहाँ निजी एयरलाइन्सले नियमित उडान नभर्दा टिकटको समस्या हुने गरेको छ । हिउँद याम, दशैँतिहार, जस्ता ठूला पर्वमा हवाइजहाजले नियमित उडान नभर्दा सोझा नागरिकले टिकट नपाउने गरेका हुन् । जहाजले उडान भरे पनि पहुँचवालाले मात्रै जिल्लाबाहिर जान पाउने कुरा नयाँ भने होइन ।
हवाई जहाजले प्रायजसो पूर्वमा उडान भर्दा जिल्लामा खाद्यान्न संकट बारम्बार निम्तिँदै आउने गरेको छ । हिउँदको समयमा बाक्लो हिमापात हुने हुँदा जहाजले उडान भर्न नसक्दा खाद्यान्न संकट चुलिँदै आउने गरेको हो । त्यसैले हुम्लीका लागि सडक एक सपना भएको छ । सदरमुकाम सिमकोट नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । सरकारले भने लक्ष्य प्रत्येक पालिका केन्द्रमा सडक सञ्जाल पु¥याउने भन्ने छ । सबै जिल्ला सदरमुकामलाई सडकले जोड्ने लक्ष्य त पञ्चायत कालकै हो ।

उसो त सरकारले प्रत्येक वर्षको बजेट भाषणमा सिमकोट सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नेलाई पहिलो प्राथमिकतामा राखेको भए पनि अझै सडक छुन सकिरहेको छैन । अहिलेसम्म पनि हुम्लाका लागि सडक पनि सपना जस्तो भएको छ । सडक नै विकासको पहिलो पूर्वाधार हो । त्यही नभएपछि हुम्लामा अरू के विकास पुग्नु । स्वास्थ्य सेवा लिन जान आउन पनि सडक चाहिन्छ । शिक्षाका लागि पनि सडक चाहिन्छ । अरू व्यापारिक कर्मका लागि त झन् नभई हुन्न । सडक सञ्जाल हुम्लामा जोडिन्थ्यो भने त्यहाँको स्याउ बजार झर्न पाउँथ्यो । औषधोपचारका लागि बिरामीले एम्बुलेन्स चढ्न पाउँथे ।

यहाँ राजनीतिक दलका नेता मात्रै नभएर हुम्ला पुग्ने प्रदेशका मुख्यमन्त्री, संघीय सरकारका मन्त्री तथा प्रधानमन्त्री जिल्ला पुग्दा उनीहरूको मुखमा पहिलो सम्बोधन नै हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने हुन्छ । तर, उनीहरूको भाषणमा सीमित हुन्छ भने यहाँका नागरिक सपनामै सीमित हुन्छ । सडक नहुँदा महँगी प्रतिदिन बढ्दै गएको छ । सदरमुकाममा यतिबेला दैनिक उपभोग्य वस्तुको मूल्य झन् आकासिएको छ । एक क्यारेट अण्डाको ११ सय पर्छ । केही समय अगाडि ६ सयमा पाउँथ्यो । यस्तै, तेलको दुई सय पर्छ, अन्य चिनी, बेसार, सागसब्जी, ब्रोइलर कुखुरको मासु, साबुन, मैदा लगायतको मूल्यसमेत आकासिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?