सुदूरपश्चिम प्रदेशको लगातार चौथो जित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रदेश १ माथि सोमबार २१३ रनको फराकिलो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लागातार चौथो जितलाई निरन्तरता दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले दिएको २६५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर १ ले १६.३ ओभरमा सबै विकेट गुमाएर मात्र ५१ रन जोड्न सक्यो । प्रदेश नम्बर १ का लागि भुपाल दंगालले सर्वाधिक १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् भने सुदूरपश्चिम प्रदेशले १६ रन खर्चिएको थियो । प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिम प्रदेशका हेमन्त धामीले सर्वाधिक ५ विकेट निकाल्दा आकाश चन्दले ३ तथा मिलन बोहोराले २ विकेट आफ्नो नाममा लेखाउनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले कप्तान अनुराग सिंह र मिलन बोहोराको अर्धशतकीय इनिङको सहयोगमा २६४ रनको योगफल बनाएको थियो । पूरै ५० ओभर खेलेको सुदूरपश्चिमले ९ विकेट गुमाउन पुगेको थियो । अर्धशतकीय पारी खेलेका कप्तान अनुरागले व्यक्तिगत ८३ रन बनाउँदा मिलनले ६४ रनको व्यक्तिगत स्कोर बनाउनुभएको थियो । यसबाहेक दीपक बोहोराले ३२ रनको योगदान गर्दा गजेन्द्र बोहोराले २४ रन बनाउनुभयो । बलिङतर्फ प्रदेश १ का अभिनय राजवंशीले सर्वाधिक ४ विकेट निकाल्नुभयो । यस्तै आशिस खरेल र दिपेश कँडेलले समान दुई÷दुई विकेट आफ्नो नाममा लेखाउनुभयो ।

यस जितसँगै सुदूरपश्चिम प्रदेशले चार खेलबाट स्पष्ट जित हात पार्दै तालिकामा आठ अंक बनाएको छ । सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा अटाउँदा पराजित प्रदेश १ को तीन खेलबाट दुई अंक छ । प्रतियोगिताअन्तर्गत सोमबार नै मुलपानीमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेट हरायो । ओसिलो मैदानका कारण खेल ४० ओभरमा घटाइएको थियो । गण्डकीले ३६.३ ओभरमा सबै विकेट गुमाएर लुम्बिनीलाई १६२ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ४० ओभर सकिन ४ बल बाँकी रहँदा भेटाउन सफल रह्यो । लुम्बिनीका लागि विशाल भुषाले अविजित ५२ रनको पारी खेल्नुभयो । ओपनर आकाश त्रिपाठीले ४५ रनको व्यक्तिगत स्कोर बनाउँदा विकेटकिपर प्रज्वल थापाले २४, अर्का ओपनर देव खनालले १५ रनको योगदान गर्नुभयो । बलिङतर्फ गण्डकीका किरण भट्टराई र सुदीप अर्यालले समान दुई÷दुई विकेट लिनुभयो । यस्तै सुवास भण्डारी र निर्तेश गिरीले समान एक-एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको गण्डकीले प्रदेशकालागि सुदीप अर्यालले सर्वाधिक ३६ रनको पारी खेल्दा दीपक डुम्रले ३०, करण पंगेनीले २९ तथा गोविन्द बिकले १० रनको व्यक्तिगत स्कोर बनाउनुभयो । यस्तै शिशिर भुषाल १२ रनमा अविजित रहनुभयो । बलिङतर्फ दुर्गेश गुप्ताले सर्वाधिक ५ विकेट निकाल्नुभयो । यस्तै निर्मल गुरुङले ३ तथा नर शार्की र तुलबहादुर थापाले समान एक-एक विकेट हात पार्नुभयो ।

प्रतियोगितामा मंगलबार कीर्तिपुर मैदानमा वागमती र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुँदा मुलपानी मैदानमा मधेस प्रदेश र प्रदेश १ बीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?