लिटल फ्लावर र बुङगलको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । कैलालीको धनगढीमा शुक्रबारबाट सुरु भएको राष्ट्रिय टी-२० क्लब क्रिकेट प्रतियोगिता धनगढी सुपर लिगमा आयोजक लिटल फ्लावर क्रिकेट क्लब र बझाङको बुङगल क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन् । धनगढीस्थित प्रदेश प्रहरीको खेलमैदानमा सुरु भएको प्रतियोगितामा लिटल फ्लावरले धनगढी क्रिकेट एकेडेमी र बुङगल क्रिकेट क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई पराजित गर्दै सुखद सुरुवात गरेका हुन् ।

लिटल फ्लावर क्रिकेट क्लबले धनगढी क्रिकेट एकेडेमीलाई २२ रनले पराजित ग¥यो । टस हारेर ब्याटिङको निम्तो पाएको लिटल फ्लावरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७९ रन बनायो । १८० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा आठ विकेट गुमाएर १५७ रनमात्रै बनाउन सक्यो ।

उसका राजु रिजालले ४८ बलमा नौ चौका र तीन छक्कासहित ७७ रनको उत्कृष्ट पारी खेल्नुभयो । रिजालबाहेक टिमका अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो बन्न नसक्दा डिसिएले हार बेहोरेको हो । बलिङतर्फ लिटल फ्लावरका कुशल रूपाखेती र अनुप कुँवरले तीन÷तीन तथा कृष्ण कार्कीले दुई विकेट लिनुभयो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको लिटल फ्लावरका नरेन भट्टले ४० बलमा आठ चौका र दुई छक्काको मद्दतले ६३ रनको सानदार पारी खेल्नुभयो । लिटल फ्लावरका लागि अभिषेक पालले २८ बलमा ४४ रन बनाउनुभयो । बलिङतर्फ डिसिएका अभिष कोइराला, हिक्मत बोहरा र अरुण ऐरीले समान दुई÷दुई तथा भोजराज भट्टले एक विकेट लिनुभयो । खेलको प्लेयर अफ दी म्याच लिटल फ्लावरका नरेन चुनिनुभयो । उहाँले नगद दुई हजार ५०० सहित ट्रफी र मेडल प्राप्त गर्नुभयो ।

खेलमा बुङगल क्रिकेट क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ८० रनले पराजित गर्दै सानदार सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बुङगल क्रिकेट क्लबले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०० रनको विशाल योगफल तयार पा¥यो ।
२०१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रिकेट क्लब १५.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर १२० रनमै समेटियो । उसका लागि दीपक टमाटाले ३५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक बन्न सकेन । बलिङतर्फ बुङगलका आकाश चन्दले चार, लोकेन्द्र चन्द, आदित्य महता र मिलन बोहराले समान दुई/दुई विकेट लिनुभयो ।

त्यसअघि बुङगललाई विशाल योगफलतर्फ अघि बढाउन किरणकुमार ठगुन्नाले २२ बलमा ५८ र प्रकाश पाण्डेले ३६ बलमा ५२ रनको सम्झनलायक पारी खेल्नुभयो । उसका सन्दीप विष्टले ३६ र लोकेन्द्र चन्दले २० रन बनाउनुभयो ।

बलिङतर्फ कैलाली जिल्ला क्रिकेट क्लबका बलरहरू महँगो साबित हुनुभयो । खेलको प्लेयर अफ दी म्याच ६ छक्का र तीन चौकाको मद्दतले ५८ रनको सानदार पारी खेल्नुभएका किरण चुनिनुभयो । उहाँले नगद दुई हजार ५०० सहित ट्रफी र मेडल प्राप्त गर्नुभयो ।

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद दुई लाख, उपविजेताले एक लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले सात हजार ५०० नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?