मसिने पहिरोः चन्द्रागिरिद्वारा तत्काल रु ५० हजार उपलब्ध गराउने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाण्डौं । चन्द्रागिरि नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत रु ५० हजार उपलब्ध गराउने भएको छ ।

अविरल वर्षापछि गएराति आएको पहिराले चन्द्रागिरि-२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका-१२ स्थायी घर भई हाल ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षीय राजु श्रेष्ठ, उहाँकी श्रीमती ४५ वर्षीया गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी छन् ।

चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले आज बिहान घटनास्थलको अवलोकन तथा पहिरो पीडितका आफन्तजनसँग कुराकानी गर्दै सो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, “पहिराले थप क्षति हुन नदिन स्थानीय क्षेत्रमा अवरुद्ध बाटो खुलाउने काम भइरहेको छ । सम्भावित जोखिमलाई ध्यान दिँदै नगरपालिकाले सचेतना जगाउने काम गरिरहेको छ ।”

नगरप्रमुख गिरीले पहिरामा पुरिएकाको शव निकालिएको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिनुभयो । स्थानीयवासीका अनुसार ध्यान केन्द्रमा बसेका श्रेष्ठ परिवार दमका रोगी रहेका बताइएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?