भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको छ : अध्यक्ष बिजुक्छे

हिमालय टाइम्स
Read Time = 4 mins

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहन समेत आह्वान गर्नु भयो । भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारतको छायाँमा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरुले संघर्ष गर्नुपर्ने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने काम समेत हालसम्म भारतकै निर्णय अनुसार हुने गरेको जिकीर समेत गर्नु भयो । रासायनिक मल कारखाना देश भित्रै खोल्न आफ्नो पार्टीले पटकपटक दवाव दिएपनि मन्त्रीहरुले भारतसँग थर्कमान भएर सो कार्यलाई अघि बढाउन नसकेको उहाँको भनाई थियो ।

अध्यक्ष बिजुक्छेले भन्नु भयो, ‘राजनीतिक रुपले पनि हाम्रो कसलाई चुनाव जिताउने र कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा पनि दिल्लीबाट निर्णय हुँदै आएको छ । कृषिमा हामी बारम्बार भनिरहेका छौं–हामीलाई रासायनिक मलको कारखाना हुनुपर्छ भनेर । कारखाना बनाउन भनेपछि मन्त्रीहरु थर्कमान हुन्छन् इन्डियाले मान्दैन भनेर । हाम्रो देशमा मल कारखाना खोल्नका निम्ति इन्डियाले मान्नुपर्ने । देशको स्थिति यस्तो छ । उद्योगधन्दाहरु बनाउने होइन् भएको उद्योगधन्दाहरु निजीकरण गर्ने इन्डियाको निर्देशनमा । जलस्रोतहरु हाम्रो हो । तर त्यसको चाबी सबै इन्डियासँग छ ।'

उहाँले भन्नुभयाे, 'अहिले हामी सुन्छौं–न्याय प्रशासनलाई राजनीतिबाट अलग राख्नुपर्ने तर न्याय प्रशासनका एक जनालाई जसरी प्रधानमन्त्री बनाइयो, अहिले राष्ट्रपति बनाउने कुरा चलिराखेको छ । यो हेर्दाखेरी सरल छ । तर यो धेरै जटिल विषय हो । त्यसकारण कार्यपालिका र विधायन पालिका समेतमा इन्डियाको छायाँ छ । यहाँ अन्तराष्ट्रिय छाँया परेको हुनाले देशलाई अझ संकटमा पु¥याउने सम्भावना भएको हुनाले संघर्षको निम्ति सधैं तयार म उपस्थिति साथीहरुलाई भन्न चाहन्छु ।’

अध्यक्ष बिजुक्छेले भारतले नेपालको जलस्रोत उपयोगको चाबी समेत आफ्नो हातमा लिएको, उद्योगधन्दाहरु निजीकरण गरेर आफ्नो इसारामा चलाएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?